भ्यालेन्टाइन कविता
–होम सुवेदी
कुर्कुरे जब ममाथि चढेथ्यो, भीडभाडतिर ध्यान बढेथ्यो ।
ढेस्सिएर हुलका वीच छिर्न, आँट भित्रतिरबाट बढेथ्यो ।।
खाइ सार कि त लाइ छ सार, लम्पसार परी मर्नु धिकार ।
भित्र मन्त्र यही थ्यो उति बेला, आज पर्न म पुगें अब फेला ।।
धर्म गर्न मन यो किन जान्थ्यो, तै पनि भिडतिरै मन हुन्थ्यो ।
भीरभाड जहीं नित्य रहन्थ्यो, लौ त्यतै तिर पुगौं मन हुन्थ्यो ।।
गल्ली मात्र तिर यो कति चर्नु, घाँस चोकरहरु कति छर्नु ।
यो कुरा जब चल्यो मन भित्र, झन् परें म त बडो अलपत्र ।।
भीडभाडतिर भित्र पसेर, ठेलठाल गरी ठाउँ चुनेर ।
बस्न आतुर सधैं मन हुन्थ्यो, भित्री पीर मनको कुन सुन्थ्यो ?
नोटको अलिक फुर्ती लगाउँ, भीडमाथि अझ भीड बढाऊँ ।
ढेस्सिँदै तरुनीकै सँग जाऊँ, स्पर्शभोक मनको म बिसाऊँ ।।
धाक लाई कहीं नोटहरुको, छेली छेली कन दृष्टि अरुको ।
अर्पिएँ जब कसै सित नोट, पाइयो अनी यही अनुरोध ।।
लिन्न नोट रुपियाँ पनि लिन्न, ओठ दागन मरे पनि दिन्न ।
गाल पर्छ यसले पछिबाट, गर्न सक्तिन हजूर म आँट ।
त्यो जवानी अघिको सकिएछ, यो शरीर पनि झिर्न भएछ
तैपनि मन हुँदैछ जुरुङ्ग, सम्झिदा युवककाल तरङ्ग ।।
महाकवि पुरुषोत्तम सिग्देलको आमा महाकाव्यबाट उक्त सन्दर्भलाई सुहाउने केही पंक्तिहरु
–पुरुषोत्तम सिग्देल
बोली थिएन जिब्रामा मस्तकी तरुनी थिई
बैंसको मातले मानौं फुल झैं मग्मगाउँथी ।। १२।।
उसका खेलको शैली मलाई कुुत्कुत्याउँथ्यो ।
आजसम्म नभोगेको अवस्थामा पु¥याउँथ्यो ।।१३।।
हैरानी नाक तानेर कैले गाला चिमोट्दथी ।
सुसू चप्प समातेर खेलाउँथी निमोठ्तथी ।।१४।।
त्यती मात्र कहाँ हो र जिउमाथि चढाउँथी ।
गठिला स्तन जोडैले मुठीले कस्न लाउँथी ।।१५।।
मेरो हुर्मत भो मानौं न मानौं छोप्न लाउँथी ।
उम्केर भाग्न खोजेमा छेक्तै हात उझाउँथी ।।१६।।
किन हो वस्त्र खोेलेर अझ कुत्कुली लाउँथी ।
अचाक्ली नै गरी थैथै लुगा मेरा भिजाउँथी ।।१७।।
उसका अङ्ग प्रत्यङ्गसँग खेलें कनीकनी ।
यो दृश्य जनले देखे आमा छोरा भने हुने ।।१८।।
मुखमा स्तनका ठिम्का कोची चुस्न लगाउँथी ।
थिएन रस ता केही पुरानो याद ल्याउँथी ।।१९।।
मातृत्वका सवै अङ्ग साथ खेलें निरन्तर ।
म छोरो ऊ कुनै आमा भने पनि हुँदैन र ?।।२०।।
अहो यौवनको भोक ज्यादै जब्बर हुन्छ कि ।
थपिए बोलीको लोली अझै दोब्बर बन्छ कि ? ।।२१।।
षष्ट सर्ग
गम्लङ्ग छाती भरि झाँक कस्तछिन्
मानौं कि सिंगै मुटुभित्र पस्तछिन्
तातो थियो गाथ र स्पर्श झङ्कृत
बोली फुट्यो बक्बक भै प्रकम्पित ।।५७।।
आँखा परेथे जब नै हजूरमा
राखें मनै मन्दिरका गजुरमा
विदेसिएको पतिदेव नै कहीं
पठाइए वा विधिले कतै यहीं ।।५८।।
मिल्दो सबै नाम समान अक्षर
दुरुस्त बोली र नछुट्टिने स्वर
थपक्क मैले दिलमा लिएँ लिएँ
विषै हओस् अमृत होस् पिएँ पिएँ ।। ५९।।
सर्ग १९
छन्दमा लेखिएका कविताहरुको स्वाद अत्यन्तै प्रिंय र आस्वाद्य हुन्छ । तर यसलाई पढ्न भाँती पार्नु पर्छ । काम लाग्ला भनेर यहाँ हालिदिएँ, काम नलागे पनि पढ्नुहोला साथीहरुले ।
–होम सुवेदी
