Skip to content

३.१. ‘यथार्थ यात्रा’ ग्रन्थ भाग–१ का सम्पादकको परिचयः
यस ‘यथार्थ यात्रा’ सँगालोका सम्पादक चूडामणि रेग्मी हुन् । खान्दानी एवम् सु–संस्कृत ब्राह्मण परिवारमा पिता पिताम्बर रेग्मी र माता खिलेश्वरी देवीका कोखवाट एघारौं सन्तानका रूपमा वि.स. १९९३ चैत्र २९ गते तत्कालीन धनकुटा गौडा, पूर्व ६ न. चैनपुर वानामा उनको जन्म भएको हो । वि.स.२००६ साल मङ्सीरमा बेदकुमारी (वि.स.१९९५ पुस २०) सँग उनको विवाह भएको थियो । संस्कृत साहित्यमा आचार्य (सन् १९५९) र बी.ए. सम्मको अङ्ग्रेजी शिक्षा ग्रहण गर्दै गरेका रेग्मी विद्यार्थी अवस्थादेखि नै पत्रपत्रिका र साहित्य सिर्जनामा लागेको देखिन्छ । (घिमिरे,२०६६, पृ. ६) तीन छोरी र तीन छोराका पिता रेग्मीका ११ नाति– नातिना र पाँच पनातिनी–पनाती रहेका छन् । हाल झर्रो नेपाली घर लेखनाथ चौक चन्द्रगढीमा उनको बासोबास रहेको छ । उनी २०२१ सालबाट झापामा आएर प्राध्यापन पेसामा संलग्न भई सेवानिवृत्त सह–प्राध्यापक (नेपाली) मेची बहुमुखी क्याम्पसका रूपमा रहेका छन् । उनी लेखनाथ पुस्तकालय चन्द्रगढीका संस्थापक मध्येका एक, प्र.ले.स.का केन्द्रीय समितिको सल्लाहकार तथा सदस्य, प्र.ले.स.झापाको सल्लाहकार, सुेसेली परिवारको आजीवन सदस्य तथा प्रश्रित प्रतिष्ठान नेपाल (भैरहवा) को प्रमुख संस्थापक र संरक्षकका रुपमा रहेका छन् । (रेग्मीबाट प्राप्त जानकारी)
चूडामणि रेग्मीको रचनाकारिता, सम्मान र पुरस्कारः
कथा सङ्ग्रह ः
उनका जम्मा प्रकाशित कथा सङ्ग्रहरू चार वटा छन् ।
(१) पहिलो यात्रा २०१२ ( ५ वटा )
(२) नेपाली कथा साहित्य प्रथम संस्करण (सह लेखन)२०१४ (३÷३ वटा)
दोस्रो संस्करण (सह लेखन) २०५८(३÷३ वटा)
(३) भुमरी २०३६ (११ वटा)
(४) चाबी २०५६ (१२ वटा)
यस बाहेक विभिन्न पत्रपत्रिकामा छरिएर पनि उनका केही कथाहरू प्रकाशित भएका छन् । सबै गरी पुग नपुग पाँच दर्जन जति कथा उनका प्रकाशित छन् ।

निबन्ध सङग्रह ः
(१) साधना प्रथम संस्करण २०३० (११ वटा),
परिवर्धित दोस्रो संस्करण २०६५ (२२ वटा)
(२) धुनमा घुन प्रथम संस्करण २०३५ (११ वटा)
परिवर्धित दोस्रो संस्करण २०६५ (२९ वटा)
(३) घुमेका कुरा २०५६ (१३ वटा)
(४) गफडीका गफ २०६३, हास्यव्यङ्ग्य (१०८ वटा)
(५) आँखा र मनका पाइलाहरू २०६३ (३३ वटा)
(६) बितेकाहरूको सम्झना २०६३ (२१ वटा)
(७) एउटा छाता दिनुहोला है ! २०६४ (८७ वटा)
(८) मनभित्र र बाहिर २०६४ (६९ वटा)
कविता काव्य ः
(१) भावना लघुकाव्य सङ्ग्रह २०५० (७ वटा)
(२) गजवाष्टक १०८(हास्यव्यङ्ग्य कविताहरूको सङ्ग्रह,२०५१)
(३) यक्षको पोखरा प्रवास २०६४ (११ वटा)
समालोचना ः
(१) कृती र कृति भाग – २ (२०५३) भाग–१ (२०५६)
(२) पारिजातः परिचय र मूल्याङ्कन (२०५०)
(३) बाईस समालोचना (२०५७)
(४) चिन्तन र समालोचना (२०५९)
भाषा ः
(१) नेपाली टुक्काहरूको अध्ययन (प्र सं २०४१ र दोस्रो संस्करण २०५७)
(२) नेपाली भाषा र व्याकरणका केही विषय केही छलफल (२०५२)
(३) तत्सम शब्दको वर्ण विन्यास(२०५३)
विविध ः
व्यक्तिŒव र कृतिŒवः चूडामणिका कलममा कमलमणि(२०६५)
अरे ! उदेकलाग्दा कुराहरू र गजवाष्टक(हास्यव्यङ्ग्य)

चूडामणि रेग्मी विशेषाङ्क÷विशेष चर्चा
साहित्यकार चूडामणि रेग्मीले नेपाली भाषा, साहित्य, समालोचना, पत्रकारिता लगायत नेपाली वाङ्मयका विविध फाँटमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै विभिन्न संस्थाहरूले सम्मान, अभिनन्दन एवं पत्रपत्रिकाहरूले विशेषाङ्क पनि प्रकाशित गरेका छन् ।
‘जनमत’ साहित्यिक मासिक अङ्क ५४, ‘चूडामणि रेग्मी अङ्क’(२०५३–५४, प्रधान सम्पादक मोहन दुवाल) र ‘ज्ञानगुनका कुरा’ सामयिक प्रकाशन गरी तीन वटा कै सङ्कलनबाट चूडामणि रेग्मी विशेषाङ्क ‘चूडामणि रेग्मी ः पूर्वाञ्चलका मोतीराम’ २०५७ (सम्पादक शेषराज सिवाकोटी) प्रकाशित भएको छ ।
वरिष्ठ साहित्यकार चूडामणि रेग्मीको अभिनन्दन ग्रन्थ २०६६ (प्रधान सम्पादक अनिरुद्ध तिमसिना, प्रकाशक, कृष्णप्रसाद अधिकारी सप्तकोशी साप्ताहिक, इटहरी, सुनसरी) प्रकाशित छ । यो अभिनन्दन ग्रन्थ नेपालका जीवित साहित्यकारका विषयमा निकालिएको ठूलो अभिनन्दन ग्रन्थ हो, यसमा जम्मा ८९७ पृष्ठ सङ्ख्या रहेका छन् ।
यस बाहेक रेग्मीबारे प्रशस्त समालोचना, चर्चा र टिप्पणी भएका छन् । विभिन्न विद्वान् व्यक्तित्वहरूले उनको साहित्यिक योगदान र क्षमताको चर्चा गरेका छन् । अच्युत घिमिरेले ‘झापाली स्रष्टा र साहित्य’ २०६३ मा ‘पूर्वाञ्चलका मोतीरामः चूडामणि रेग्मी’, डा.ईश्वर बरालको ‘चन्द्रिका’ र अन्य नेपाली व्याकरण’ शीर्षकको लामो लेखमा विलक्षणवादी व्याकरणकारका लहरमा चूडामणि रेग्मीको नाम उल्लेख छ । कृष्णप्रसाद पराजुलीले “कवि चूडामणिका ‘भावना’ भित्रको तरेलीमा” शीर्षकको ‘जनमत’ ५४ मा प्रकाशित समालोचना ‘देउरालीबाट’ भन्ने आफ्नो पुस्तकमा पनि समावेश गरेका छन् । यसरी नै डी.आर पोखरेलले ‘अर्पण’ साप्ताहिकमा, दक्षराज शर्माले आफ्नो पुस्तक ‘जीवनीको आलोकमा केही स्रष्टा समीश्रण’ २०६१ मा ‘पूर्णताका प्रतीक प्रतिभा प्रा.चूडामणि रेग्मी र उनको साधना’ शीर्षकमा खुलेर चर्चा गरेका छन् । यसरी नै पुण्यप्रसाद खरेल, डा.भवानीप्रसाद पाण्डे, होम सुवेदी, विजय खरेल, सरोज ओली, डा. हृषीकेश उपाध्याय, गंगाप्रसाद अधिकारी, तेराख, लीला उदासी, कृष्ण सुवेदी ‘निराकार’, चूडामणि वशिष्ठ, गंगाराम ढुङ्गेल, कोमलप्रसाद पोखरेल जस्ता व्यक्तित्वहरूबाट तथा विभिन्न पत्रपत्रिका र पुस्तकहरूमा उनको चर्चा परिचर्चा गरिएको पाइन्छ ।
चूडामणि रेग्मीले प्राप्त गरेका सम्मान र पुरस्कारहरू यस प्रकार रहेका छन् ः
पत्रकारिता पुरस्कार(‘जुही’ का लागि २०४४ मा शिक्षा मन्त्रालयबाट), महानन्द पुरस्कार (२०४८), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३ समाज कल्याण मन्त्रालयबाट), भैरव पुरस्कार (०५४ र २०६८), गणेश दुवाल खिलकुमारी प्रतिभा पुरस्कार(२०५३), प्रेस काउन्सिल पुरस्कार (२०५४), मदन पुरस्कार गुठीद्वारा स्वर्णवर्ष विराटनगरबाट सम्मान (२०६२), महानन्द वाङ्मय मन्दिर अभिनन्दन (२०६४), अथक साहित्य साधक, प्रलेस गोरखा सम्मान(२०६३), रसिक साहित्य प्रतिष्ठान(इटहरी)द्वारा दीपेश पुरस्कार सहित अभिनन्दन (२०६४), डा. नरेन्द्र चापागाई स्मृति पुरस्कार तथा अभिनन्दन, विराटनगर–मोरङ (२०६४),महेन्द्रद्वार सहकारी संस्था लि. काकरभिट्टा सम्मान(२०६४), आमा सेतुलीमाया शाक्य स्मृति सम्मान र पुरस्कार, पोखरा(२०६४), साहित्यिक पत्रकार संघ केन्द्रीय कार्यालयद्वारा अभिनन्दन (२०६६),विरता जेसिज उत्कृष्ट नागरिक सम्मान र पुरस्कार (२०५४) आदि पुरस्कार र सम्मानद्वारा उनी सम्मानित छन् । यी मध्ये नगदको ठूलो रासि भने आमा सेतुलीमाया पुरस्कारबाट रु ५० हजार र दोस्रो नगद पुरस्कारमा वाणी पुरस्कार ३१ हजार हुन् । साथै ५ हजारदेखि १५ हजारसम्मका नगद पुरस्कार पनि थुप्रै रहेका छन् । (भेटबाट प्राप्त जानकारी)
उनी उत्साही, सक्रिय, प्रेरक व्यक्तित्व, समाजसेवी, साहित्यप्रेमी, कवि, समालोचक, भाषासेवी, झर्रो नेपाली भाषा आन्दोलनका प्रणेताका रूपमा परिचित छन् । उनले चूमरे, ज्ञानी, गफडी, व्यङ्ग्य ऋषि, चङ्खे, विद्यार्थी, आराश, आत्माराम, रसिक आदि उपनाम राखेर व्यङ्ग्यात्मक रचना प्रकाशन गरेको पाइन्छ । सरल, भावुक, सहृदयी स्वभावका धनी रेग्मी नेपाली भाषा र साहित्यको उन्नतिमा मरिमेटेर लागेको देखिन्छ । रेग्मी झापा, मोरङ, सुनसरी इलाम तथा अन्य जिल्लामा हुने साहित्यिक गोष्ठी र सम्मेलनमा गरिमामय उपस्थिति जनाउँदै र भाषा र साहित्यसेवामा लागि परिरहेको पाइन्छ । उनी आफू मात्र होइन नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्दै हौसला, प्रेरणा, आँट प्रदान गर्दै प्रकाशनका माध्यमवाट चर्चामा समेत ल्याउने गर्दछन् । लुकेर रहेका प्रतिभालाई क्रियाशील तुल्याउँदै साहित्यकार रेग्मी नेपाली भाषा र साहित्यको समुन्नतिमा अनवरत रूपमा लागेका छन् ।
साहित्यिक पत्र–पत्रिकाहरूमा सम्पादनकार्यमा तल्लीन रहेका रेग्मी युगज्ञान साप्ताहिकको संस्थापक सम्पादक, जुही त्रैमासिक सम्पादक, यथार्थ कुरा पाक्षिकको सम्पादक भएर पत्र–पत्रिकाको विकासमा लागेका छन् । यसरी विभिन्न पत्रिकाको सम्पादनमा जुटेका रेग्मी २०१२ सालदेखि नै भाषा, साहित्य र पत्रपत्रिकाको विकासमा लागेको पाइन्छ ।
उनको लेखनलाई केलाउँदा पत्र–पत्रिकाको सम्पादनमा मात्र क्रियाशील नरहेर उनले नेपाली भाषा र साहित्यको श्रीवृद्विमा विभिन्न कृतिहरू प्रकाशन गर्दै नेपाली साहित्यको भण्डारमा साहित्यिक कृतिहरूको थुप्रो लगाउदै आएका छन् । नेपाली साहित्यका अनेकौ विधाहरूमा उनको कलम चलेको छ । बहुमुखी प्रतिभा भएका रेग्मी कवि, कथाकार, निबन्धकार, समालोचक, भाषा व्याकरणकार तथा कुशल सम्पादकका रूपमा परिचित छन् । विभिन्न विधाहरूमा कलम चलाउने क्रममा कथा, निवन्ध, समालोचना, भाषा–व्याकरण आदिका मौलिक दुई दर्जन पुस्तकहरू प्रकाशित गरेका छन् । पत्रपत्रिकाको सम्पादनतर्फ ‘छात्रदूत’ (सम्पादन २०१३), ‘छहारी’ (सहसम्पादन, २०१५) ‘मोती’ २०२३, ‘युगज्ञान’ साप्ताहिक २०२६÷०४८, ‘जुही’ (त्रैमासिक) २०३८ प्रत्यक्ष अप्रत्यक्ष, ‘यथार्थ कुरा’ पाक्षिक, २०५२÷०६२) पत्रपत्रिका रहेका छन् । उनले पुस्तक प्रकाशन गर्ने क्रममा ‘युगज्ञान’ प्रकाशनबाट एक दर्जन र ‘जुही’ प्रकाशनबाट पाँच दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित गरेका छन् ।
समग्रमा हेर्दा नेपाली साहित्यका विभिन्न विधाहरू–कविता, कथा, निबन्ध, समालोचना, भाषा–व्याकरणका साथै पत्रपत्रिकामा समेत करीब १८ वर्षको उमेरदेखि नै कलम चलाएर आजसम्म पनि साहित्य, भाषा र पत्रपत्रिकामा उनले ठूलो योगदान पु¥याएको देखिन्छ । बहुआयामिक प्रतिभाका धनी रेग्मी एक सजग, सचेत र निरन्तर क्रियाशील व्यक्तित्व हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *