साउनको पहिलो हप्तामा नेपालका संचार माध्यमबाट नेपाली युवाहरू विदेका कति छन् भन्ने कुराको खबर प्रसारण भएको छ । नेपालबाट प्रति दिन औसत ४०० युवाहरू विविध कारणले स्वदेश छाडेर विदेशिंदै गरेको तथ्याङ्क अघि आएको छ । आजकै मितिमा हेर्दा पनि युवायुवतीहरू नभएको मुलुकका रुपमा नेपाल देखिन थालिसकेको छ भने यही अवस्था रहे केही वर्ष पछि नेपालमा युवायुवतीको अनिकाल लाग्ने कुरा पक्का भयो ।
देश, क्षेत्र र समाजको उन्नतिको अधिक दायित्व जुनसुकै मुलुकमा पनि युवायुवतीको काँधमा हुन्छ । यस अर्थले हेर्दा नेपालको विकास, यसको उन्नति, यहाँको प्राकृतिक तथा स्थानीय वस्तुको अधिक उपयोग गरेर सफलता प्राप्त गर्दै प्रतिफल लिने काम पनि युवावर्गकै हो । जब कुनै देशबाट युवावर्ग अरु देशतिर पलायन हुन्छ त्यो मुलुकको भविष्यमा अन्धकारको बादल मडारिन थालेको संकेत देखिन थाल्छ । जब युवक विदेशतिर पलायन गर्दछन् देशको विकासको गति शून्य हुन्छ । यही स्थिति छ आजका नेपालको । यहाँ बस्ता रोजगारीको समस्या र अपहरण वा जङ्गल पस्नु पर्ने वाध्यात्मक अवस्थाका कारणले यिनीहरू पलायित भएका छन् ।
युवाहरू किन विदेशतिर लाग्दैछन् यसको सोझो अर्थ हाम्रा अघि घाम जतिकै टढ्कारो छ । नेपाली युवाहरू २०५० सालभन्दा अघि देशलाई आजको जसरी चटक्कै छोडेर विदेशतिर गएको कमै देखिन्थ्यो । आजको युवावर्ग चाहे पठित होस् चाहे अद्र्धपठित वा अपठित नै किन नहोस् स्वदेशमा उसका लागि सुरक्षा छ भन्ने ठान्दैन र सुरक्षा छैन पनि । उसको उर्जाको मूल्य स्वदेशमा छैैन, उसको परिश्रमको बिक्री स्वदेशमा छैन अनि उसको परिश्रमको बिक्री भए पनि स्वदेशमा त्यसको सही मूल्य उसलाई उपलब्ध हुन्न । यहाँ उद्योग धन्दा गरेर उसले बस्ने स्थिति छैन । पार्टी राजनीतिको धरापमा परेर उनीहरू कि अपहरणमा पर्छन् कि चन्दा आतङ्कको सिकार हुन्छन् कि त पार्टीका भतुवाहरूको कोपभाजन भएर रहनु पर्ने बाध्यता बेहोर्छन् । युवाहरूले स्वदेश छाड्नुको यो एक मूल कारण हो । अर्को कारण भनेको द्वन्द्वकाल निम्त्याउनेहरूले देशलाई दिएको देन पनि हो । यस कालमा युवाहरूलाई बाध्य पारेर जङ्गल लगिएको कुरा कसैले पनि बिर्सेको छैन होला । काँधमा राइफल बोकाइदिएर एक युवाको हत्याका लािग अर्काे युवालाई लगाएको वा हत्या, आक्रमण र लुटपाट वा काटमारका लागि त्यस कालमा युवाहरूको निकै बढी प्रयोग भएको पनि जगजाहेरै छ । यसैले यस्तो काममा प्रयोग हुनु पर्ने बाध्यात्मक पीडाले पनि उनीहरू देशबाट कसरी हुन्छ सुरक्षित स्थानको खोजीमा आफैं लागेका थिए वा तिनका अभिभावहरू नै देश छोड्न प्रेरित गर्दथे । देशबाट युवाहरूको पलायनको यो अर्काे मूल कारण थियो । आफू मर्नु परे पनि छोराछोरीको जीवनको सुरक्षाका लागि अभिभावकहरू नै आफ्ना छोराछोरीलाई ज्यान जोगाउनका लागि स्वदेशत्यागको बाटो दोखाउँथे । मूल रुपमा यिनै दुई कारणबाट उनीहरूले देश छोडेका हुन् ।
आफ्नो मुलुक छोडेर अर्काको मुलुकमा गएपछि अर्काको मुलुकमा जे गर्दा पेट पालिन्छ त्यही गर्नु पर्छ । त्यसैले उनीहरूले सम्पूर्ण श्रम अर्काको मुलुकमा बेचिरहेका छन् जतिसुकै ताडना र यातना बेहोरे पनि । साथै कति ता शरीर बेच्न पनि बाध्य भएका छन् । देशबाट युवाहरू विदेशिनु रहर कम र बाध्यता बढी हो । रेमिट्यान्स आएकोमा देशको सरकार र पार्टीहरूको ध्यान जान थालेको छ । विदेशबाट कमाएर ल्याएको रकमको यति प्रतिशत कर र यति प्रतिशत पार्टीहरूका लागि लेबी भनेर भोलि यो मुलुकमा उर्दी नआउला भन्न सकिन्न । यसैले विदेशमा गएका सबै युवाहरू स्वदेशमा फर्केपछि सुरक्षित होलान् भन्न सकिन्न । युवायुवतीहरूले यतातिर पनि समयमै सोचिराखे राम्रो होला । उता पनि तिनीहरूको ज्यान खतरामा छ र यता आएपछि अब ता सुरक्षित भइएला भन्ने सोचेको भए यता पनि अहिलेसम्मको स्थितिलाई हेर्दा तिनीहरका श्रम, शरीर र शक्ति समेतको सुरक्षा छैन । भोलि पनि सुरक्षाको प्रत्याभुति हुने कुनै लक्षण छैन ।
होम सुवेदी
भद्रपुर
First published : 2013-08-21 23:52:56 +0900
