Skip to content


लाग्ने खुकुरीले सेर चाहे
भुत्ते चुलेसीले काट
पहाडि पखेरामा गाड चाहे
मैदानी फाँटमा पुर
कम्पोष्टले थिच चाहे
रसायनले किच वा माटोले माटोले मात्रै छोप
आखिर जे गर म त्यो सहन्छु सहेको छु र सहनै पनि त पर्छ
किनकि आखिर म आलु न हुँ
———————–
किट्लिमा उसिनेर चाल्निमा खन्याए पनि
तपसमा बसाएर प्लेटमा सजाए पनि,
तासेर फ्राई गर चाहे मलाई
मेशिनमा ड्राई गर
म त्यो खप्तछु खपेको छु र खप्नै पनि त पर्छ
किनकि आखिर म आलु न हुँ
———————-
तेलमा खर्याए पनि
झोलमा डुबाए पनि
गुन्द्रुकमा मिसाए पनि
सागमा ओल्स्याए पनि
पर्कमा भेजे पनि
चिकेनमा लगाए पनि
म त्यो भोग्दछु भोगेको छु र भोग्नै पनि त पर्छ
किनकि आखिर म आलु न हुँ
————————–
भुङ्रामा खरानीले छोप
या चप बनाउ चाहे
पकौडा डामी देऊ
उसिनेर चाहे टिमुरमा चोबिदेऊ
या त अकबरे र टमाटरमा गाड
या पुदिना
या लट्पट्याउ
म त्यो पचाउछु पचाएको छु र पचाउनै पनि त पर्छ
किनकि आखिर म आलु न हुँ

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक -८
हाल मरुभूमिको छातीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *