Skip to content

टाइगर हिलको सूर्य र मेरो करेसो


म पोहोर साल एक दिन बिहानै यात्राको क्रममा दार्जिलिङको टाइगर हिलमा थिएँ । त्यहाँ घामको झुल्कँदो दृश्य हेर्न मान्छेहरूको निकै घन्चा हुन्छ भन्ने सुनेको थिएँ, हुँदो पनिरहेछ । मलाई पनि के के न होला भनेर यो दृख्य हेर्ने मन थियो धेरै पहिल्यैदेखि । यतै पढे यतै बढें, तर यो दृश्य हेर्न पाएको थिइनँ, यसैले म थिएँ बडो व्यग्र । अनि बडो व्यग्र भएर म त्यहाँ पुगेको थिएँ । त्यहाँ पुग्नु पनि थियो । पुगियो कसै गरी । तर मेरो घाम झुल्केको दृश्य हेर्ने त्यस यात्रामा घाम झुल्कना साथ घामको दृश्य देखिनुको साटो सिमसिमे पानी परेको दृश्य आँखामा परिदियो । पाहिलो पटक मेरा यात्रामा घामको झुल्कँदो दृख्य हेर्ने इच्छा यसरी मरेर गयो । सिमसिमे घामपानी परेको दृश्यका लािग मैले यतिका टाढा आइरहनु पर्ने थिएन । यस्ता दृश्य अनगन्ती देखिएका हुन् । त्यो यात्रामो झुल्कँदो घामको दृशय हेर्ने इच्छा अच्कल्टियो । यो दृश्य हेर्नकै लागि भने मैले मेरै घरको करेसोबाट टाढा जानै पर्देनथ्यो ।

अनि अस्ति फेरि त्यस दृश्यलाई हेर्ने सुरले पुगें । के के न होला भनेको थिएँ । त्यो दृश्य हेरेका मान्छेहरूबाट अचम्मका कुरा सुनेको थिएँँ, पढेको थिएँ । यसबाजि भने सिससिमे पानी उति परेन । साधारण कुहिरो बाहेक घाम झुल्केको मजाले देखियो । मेरा आँखामा दृश्य राम्ररी पर्न पुग्यो । मलाई रमाइलो लाग्नुको साटो अलिक कस्तो कस्तो भयो । मेरा घरको छिंडीबाट अस्ताएको र उदाएको घामको दृश्यभन्दा बढी मलाई यो दृश्यमा किमार्थ पनि नयाँ र नौलो लागेन । मान्छेले आफ्ना छेउको र घरआँगनको दृश्यलाई महत्व नदिएर कताकता सपनाको दृश्यलाई महत्व दिएको अनुभव बटुलेंं । मलाई लाग्यो मेरै घर आगँन र आगेजुङ वा पौवा डाँडा वा पाल्पाको श्रीनगरको थुम्कोबाट देखिने घामको झुल्केको दृश्य योभन्दा महत्वको हुन्छ । अनि लाग्यो के पनि भने कहिल्यै झुल्केको घाम नदेखिने ठाउँका लागि मात्र यसको महत्व हुन्छ । मेरा लागि यो कुनै नौलो कुरा भएन । अनि अरु थोक पनि धेरै लाग्यो भन्नु हुने पनि लाग्यो भन्नु नहुने पनि लाग्यो । अनि म फनक्क फर्किएँ । सम्भवतः सधैं सिरेटो, चिसो र स्याँठ चलिरहने ठाउँका बासिन्दाका लागि यो दृश्यले महत्व लिएको हुनुपर्छ । घाम कहिले लाग्ला भनेर पर्खनेहरूका लागि यसको महत्व रहेको हुनुपर्छ । सोचें । मलाई भने त्यस दृश्यले कागका लागि बेल पाकेको जति पनि भएन । उल्टै त्यहाँ घामको एक झुल्को देखिना साथ पहिलो पटक पानी पर्न थालेको थियो । मलाई त बरु त्यसले पो एकोहोर्याएको थियो । झुल्केको घामलेभन्दा वा अस्ताएका घामलेभन्दा बरु घामसँग पानी परेका दृश्यले पो मलाई एकोहोर्याउँछ ।

घिमिरेले घामपानीको दृश्यलाई अघि राखेर वा विषय बनाएर कवितामा एउटा रमाइलो आनन्दको अनुभव पनि पोखेका छन् । घाम र पानीका साथ सुखदुःखको अनुभूति झल्काएका छन् । मलाई पनि घामपानीको बेलामा त्यसै त्यसै कताकताबाट अनेक थरिका भावनाहरू खनिने गर्छन् । अनि त्यसैत्यसै कसरी कसरी आकासमा कुइरो हराएझैं हराएर बिलाउँछन् । उहिले कुन बेलामा र अहिले कुन यामविशेषमा घाम पानी पर्दछ त्यो कुराको मलाई फुम नभए पनि बालख कालमा घामापनीको दृश्यबाट म र मेरा दौंतरीहरू आनन्दित हुन्थ्यौं । उतिबेलाको जस्तो नभए पनि आजभोलि पनि घामपानी र त्यसका साथ इन्द्र्रेनीको दृश्य देखियो कि मेरो मन यसै यसै आनन्दित हुन्छ । त्यसैतिर हेरेर आनन्दित हुन मन लाग्छ । एकोहोरिएर गुनगुनाउन मन लाग्छ । पहिलो पालिको त्यो दृश्यले त्यहाँ उपस्थित मबाहेकका मान्छेहरू पनि निकै आनन्दित भएको कुरा मैले थाहा पाएँ । पछिल्लो पटकको रातो घाम झुल्केको दृश्यलेभन्दा बरु त्यही पहिलो घामपानीका साथ घाम झुल्केको दृश्यले पो मलाई ता आनन्दित तुल्यायो । तर त्यही दृश्यका लागि मैले यतिका टाढा आउनु पर्थ्यो त ? झुल्केको घामको दृश्य हेर्न मैले कसैको मुलुकमा गएर सास्ती बेहोर्नु पर्थ्याे त ? खर्च हाल्नु पर्थ्याे त ? गाडीका कन्डक्टरको तानातानी, तँछाड मछाड, घम्साघम्सी र यता र उताको बिरालाले खेलाएको मुसो जस्तो हुनु पर्ने थियो त ? वास्तवमा यही दृश्यका लागि भने मैले यति विधि सास्ती बेहोर्नु नै पर्दैन थियो । यस्ता दृश्य ता मेरा बारीका पाटाबाट, मेरा मेलापातबाट, मेरा घाँस काट्ने भिरपहराबाट वा मेरा तराईका घुरहू, तयफवाहरूका फुसका झुप्राबाट अथवा मेरा छिमेकी गेल ठेल र फुस्सा राजबंसीहरूका फुसका घरबाट र उसको करेसाबाट पनि देखिन सक्छ ।

उतिबेला मलाई घामपानीको महत्व र त्यसको जीवनसँग कस्तो नाता र योग छ भन्ने कुराको बोध कसरी होस् ! यस्ता कुराहरू त्यस बाल्यकालमा कसरी थाहा हुनन् पनि ! बालककालमा बेला कता घाम, कता पानी कसलाई थाहा होस् । कता घामको झुल्केको दृश्य कता अस्ताउँदाको दृश्य ! कता उदाउँदाको दृश्य ! कसरी थाहा होस् । घाम आफैं झुल्कन्थे, आफैं अस्ताउँथे । कसैले त्यसलाई महत्व दिंदैनथ्यो । बरु उदाउँदा जीवनको धपेडी र आपाधापी शुरु हुन्थ्यो भने अस्ताउँदा विश्रामको क्षण आरम्भ हुन्थ्यो । तर अब थाहा पाउँदै छु, घाम र पानीको जीवनका साथको नाता । त्यो बाल्यकालमा घाम र पानीको नाता जीवनसँग र त्यसको गतिसँग जोडिन्छ भन्ने कुरा कसरी थाहा पाउनू । ऊ बेला भने हामीलाई यसले अर्कै आनन्द दिन्थ्यो । टाइगरहिलमा परेको जस्तो घामपानी उहिल्यैदेखि देखिएको हो । पहिलो यात्राको बेला टाइगरहिलको सिमसिमे पानीका साथ यदि म बालखै भएको त्यस बेला पनि घामपानीका बेलामा गाइने बालगित गाएर नाच्ने थिएँ यो गीत गाएर–

घामपानी घामपानी श्यालको बिहे
कुकुर जन्ती बिरालो बाहुन
बिरालाले पकाएको सबैले बाँडीचुडी खाऊन्

यस्ता दृश्यहरूबाट हामी उबेला नाच्थ्यौं । यसको अर्थ के थियो न मलाई थाहा हुन्थ्यो न मेरा दौंतरीलाई । तर पनि घामपानी पर्नासाथ हामी उक्त गीत गाउँदै रमाउथ्यौं, नाच्थ्यौं, पानी छ्यापाछ्याप गर्दथ्यौंं । हिलो छ्यापाछ्याप गर्दथ्यौं । घाम पानी परेको बेला भयो कि अहिले पनि मलाई त्यही दृश्य र त्यस दृश्यका साथ नाचेको गाएको र हिलो पानी छ्यापाछ्याप गरेको सम्झना मगजभरि घुमिरहन्छ । कति आनन्दका क्षणहरू हुन्थे त्यो बाल्यकालमा ! कति रमाइलो हुन्थ्यो त्यो जीवनका आरम्भका घडीमा ! कति सुखानुभूतिहरू आउँथे त्यस बेला ! आज पनि घाम पानी भयो कि श्यालको बिहेको गीत आउँछ । कि उनै उनै साथीसँगीहरू आज पनि मस्तिष्कभरि सग्बगाउँछन्, अथवा उही वातावरण आज पनि मनभरि छताछुल्ल हुन्छ । पानी पर्दा माटोबाट आउने सुवास आज पनि मग्मगाउँछ, उनै परिस्थितिहरू रग्मगिन्छन् । उही सिरसिरे हावा र उही माटोको गन्ध नाकभरि रुग्रुगाउँछ ।

आज सम्झन्छु, घाम र पानीको त्यो अवस्था र त्यो दृश्य मेरा जीवनमा सुखद र आनन्दको क्षण थियो । घाम र पानी त आज पनि उसै गरी लागेकै हुन्छ र सप्तरङ्गी इन्द्रेनी पनि उसै गरी घामपानीसँग लागेकै देखिन्छ । तर किन मलाई आज उबेलाको जस्तो नभई अर्कै अनुभूति हुन्छ यो घामपानीका साथ ? मलाई आज घाम पानीसँग त्यही रमाइलोको अनुभूति किन हराएको छ ? बालख भएको भए सम्भवतः म नाच्ने थिएँ टाइगरहिलको घामपानीको दृश्य देखेर । तर आज नाच्न मिलेन । बयस्क भइसकें । अद्र्धवृद्ध भइसकेें । आज घाम र पानीहरूसँग जिन्दगीका तितापिरा कुरासँग जोडिन्छन् र मलाई जोड्न पनि मन लाग्छ । घाम भनेको ताप हो दुःख र पीडा हो अनि पानी भनेको शीलतलता हो, रमणियता हो जीवनको सुन्दरता हो भन्ने भाव मलाई भित्रबाटै आउँछन् । यसो नै हो त ? प्रश्न आफैं उब्जनसक्छन् । पानी नपर्दा मलाई विरक्त लाग्छ र अधिक पानी परे पनि मलाई कम दुःख लाग्दैन । सबैतिर हिलै हिलो, कादो र फोहोर । अनि उता कडा घाम लाग्यो भने पनि म भुतुक्क हुन्छु, हप्याकहप्याक भइन्छ । कता चिसो पानी, कोकाकोला, फ्यान्टा चिसो अािदको तुलबुल । अनि कम घाम लाग्दा पनि मलाई उही अप्ठेरो— जिउ नै ओइलाएको जस्तो लाग्ने । अति वृष्टि भयो भने पनि उनै समस्या । जाडोबाट पनि मलाई समस्या गर्मीबाट पनि मलाई समस्या । के मेरा लागि घामले मलाई चाहिएजति मात्र लागिदिनु पर्ने भयो त ? के मेरै लागि पानीले पनि मलाई चािहने जति मात्र परिदिनु पर्ने भयो त ? मलाई नै चिमोट्तै म नै प्रश्न गर्छु । आज मलाई किन अरु नै भावहरू खनिन्छन् ? खै किन हो म आफैं जान्न छाडेको छु ।

सुख र दुःखहरूलाई घाम र पानीसँग जोडिनुको के औचित्य ? घिमिरेले किन घाम पानीलाई जीवनका साथ जोडे ? सोचिरहन्छु । आज पनि पानी त उही पर्छ, उसै गरी दर्किन्छ, घाम पनि उसै गरी लाग्छन्. टन्टलापुर अनि अस्ताउँछन्, फेरि झुल्कन्छन् । याम अनुसारका घाम लाग्छन् । याम अनुसारको पानी पर्छ । याम अनुसार बादल लाग्छ, तुसारो पर्छ, बादल लाग्छ, हुस्सु लाग्छ । तर जब हुस्सु लाग्छ, अनि मेरो मनभरि पनि हुस्सुले ढाकेको जस्तो गरी कुनै प्रकारका कुराहरू बग्न छाड्छन् । मेरो मन यसै विरक्तिन्छ । मनमा स्याँठ परेको अनुभव हुन्छ । किन यस्तो कुरा हुन्छ ? किन यस्तो हुन्छ ? के घाम पानी, हुरी बतास, हुस्सु स्याँठ आदिका साथ मानवीय भावनाहरू गाँसिएका हुन्छन् ? के मान्छेका सुख दुुःखको अवस्थाका साथ घाम र पानीका माझमा कुनै सम्बन्ध रहेको हुन्छ ? मलाई अचम्म लाग्छ । हुस्सुले ढाकेको ठाउँमा जीवन सहजाउँदैन ? घामको तापले डढाएको स्थानमा जीवन बिरसिलो र सुस्क हुन्छ भन्ने जस्ता प्रकृतिका भनाइहरू कति सत्य छन् त ? मलाई सोच्न मन लाग्छ ।

प्रकृतिका लागि घाम पानीको सममेल हुनै पर्ने कुरा पनि कतैकतै कसै कसैले लेखेको देखेको छु, पढेको छु ।

हो त यो कुरा ? मलाई घोरिन मन लाग्छ ।

दार्जिलिङको सधैंको हुस्सु र सिरेटोका माझको मान्छेको जीवन सहजाएकै देखिन्छ, इलामको निरन्तरको कुइरोका माझको दिनचर्या र सिक्किमको उत्तरी भागतिरको चिसो स्याँठका माझमा पनि मानव जीवन उसै गरी चलिरहेको देख्छु । अनि मलाई घाम र पानीको सममेल हुनै पर्ने कुरामा कुनै तुक रहेको छ जस्तो लाग्दैन । घामैघाम र पानी नै पानीमा पनि मान्छेले जीवन काटेकै छ । बारै मास समुद्रमा जीवन बिताउने माझीहरूको जीवनमा उज्यालो आएको छ । मरुभूमिका छेउको जिन्दगीमा जहाँ पानी नै पर्दैन त्यहाँ पनि जीवन चलेको छ । त्यसैले जहाँ घाम कम लाग्छ त्यहाँ घामको अधिक महत्व हुन सक्ला र जहाँ कम पानी पर्छ त्यहाँ पानीको महत्व हुन सक्ला । समान गतिमा घाम लाग्ने र पानी पर्ने ठाउँमा मात्र घामपानी भनेको दुःखसुखको प्रतिक हुन सक्ला । घामै नलाग्ने ठाउँमा घाम नै जीवन मानिन सक्ला पानी नै नपाइने ठाउँमा पानीलाई नै जीवन मानिन सक्ला । मेरा करेसामा सधैं घाम लाग्छ, यहाँबाट टाइगर हिलको जस्तो दृश्य दिनको दुईदुई पटक देखिन्छ, यहाँ पानीको पनि कुनै हाहाकार छैन, यसैले यहाँ पानी र घामबाट कुनै पीडा छैन । तिनका प्राप्तिमा हर्ष र तिनको अभावमा दुःख पनि छैन । यसैले यहाँ घाम न दुःखको प्रतिक हो न पानी नै सुखको प्रतिक हो ।

मान्नेहरूले त फूललाई जीवन र फूलैसँगको काँढालाई कष्टको प्रतिक पनि त मानेका छन् नि !

होम सुवेदी
भद्रपुर, झापा
८८

Leave a Reply

Your email address will not be published. Required fields are marked *