Skip to content
20130828_KrishnaBhandariMumukshu


शरण आँसु अक्षरको पाठशालालाई भावनाको रसायनले सिंगार्ने कुशल शब्दकर्मी हुन् । एक सय चौवीस पृष्ठमा अठ्चालीस कविताको आयतन देखाउने ‘असमय’ शरण आँसुको गद्य कविताको रुपाकृति हो । नौ थरी आभार तथा कृतज्ञताका सुस्केरा बिसाए पनि यो कविता सङ्ग्रह नयाँ यात्रामा अघि बढेको नौ कोस टाढासम्म सुनिने शब्द गुञ्जनले मनोहारी बनेको छ । निरर्थकतालाई चाल्दै मनको मझेरीमा उभिएर पाठकको अदालततिर ध्यान दिने शरण आँसु काव्य साधनाको चौतारो चिन्न सिपालु रहेको पुष्टि असमयले गर्छ ।

निहत्था कवितालाई हिर्काउने केमिष्ट्रीको भाउसित बेमेल राख्ने शरण आँसुले कविताभित्र असम्पूर्णता देख्नु सादगीपनाको पहिचान पनि हो । पीडा र आँसुको मलामी कविता होइन भन्ने शरण आँसु अतित र वर्तमानको नियात्राबाट सिर्जना झिक्छन् । यो ‘असमय’ साहित्यिक गोरेटोलाई चौड्याउने जमर्कोले रचिएको कृति हो । सीमान्त अनुभूतिलाई अक्षरमा बुन्ने भोक्ता कविले द्रष्टापनको अह म नापाल्नु अर्को उल्लेख्य पक्ष हो । पुराण, इतिहास र राजनीतिको घुम्तिलाई नाघ्दै विज्ञानको सापेक्षतालाई समेत छुन सक्नु कविको निजत्व हो ।

युगलाई अप्रेसन थियटरको बिरामीलाई जस्तै नियालेर अप्रेसन गर्न चाहने उनको हाँक कलिलै छ तर रहर लाग्दो छ । मानिसको उच्छलन र कृत्रिम जीवनको उहापोहलाई कविले नाप्नु अर्को तरक्कीको विषय भएको छ । उनी कलमलाई बिर्सेर कलम सभ्यताप्रति नतमस्तक देखिएका छन् । छोटो साँघुरो पथभन्दा काव्यको राजमार्गमा दगुर्ने कविको इच्छा पनि उस्तै रोचक छ ।

केही नमूना :

– झिनुवाको बाला
झुल्ने खेत
सहर बनेर उभियो । (पृ. ४१,गन्नु पर्छ गणकहरूले )

– नानीहरूका मनमनमा
स्कुल कविता लेख्दछ,
बिसाएर साहूको भारी
छपनी छपनी पसिना
नूनमा कविता लेख्दछ,
झन्डा गाडेर सीमानामा
देश कविता लेख्दछ । ( पृ .३०-३१, कविता )

– अलिकति जाडोले शरीरमा काँडा उमार्दै
समय भित्रको समय बगिरहन्थ्यो
त्यै सारश्वत समयको इशाराले
तिमीले रोक्यौ, म रोकिएँ । (पृ .३०, म )

– सुशुप्त सद्वीजहरू
छन्- मसित
भोलि बिहान
प्रलय रात्रिको अन्त्यपछि
काठमाडौंका
श्लेषमान्तक वनहरूमा
छरौला । (पृ .११४- ११५, स्वर्गीय जीवन उपहार )

– वारि छ – वासना
पारि -विषय
वारि छ -माया
पारि- मायालु
……………..
वारि छ -मृत्यु
पारि- जिन्दगी । (पृ . ५३, नदी वारि नदी पारि )

झ्यालका कुहिनामा पेचकसले थिच्दा कति दुखेको होला – सोच्दैन सिकर्मीले । शरण आँसुले पनि शब्दको दाइँ खेल्छन्, कल्पनाको होली मच्चाएर अनुभूतिका छालहरूलाई रङले पोत्छन् तैपनि उनी असम्प्रेश्य हुनुको आलेख झैं उभिन्छन् कतै । उनी बन्द ढोकाको शान बिर्सेर पर्खाल नाघेर भित्र पस्ने कहीं कतै साहस पनि गर्छन् । ख्याल ख्यालमा शब्दको लिस्नो भत्काई असजिलो थाम समाएर पनि उकालो चढ्छन् उनी ।

कवि शरण आँसुले आवेष्ठित आवाजको शब्द मन्च झैं असमयलाई समयको विश्मय चित्रका रुपमा प्रस्तुत गरेका छन् । हस्ताक्षरको लाममा गर्विलो उपस्थिति बनेको छ -असमय । छोराछोरीको मायामा समर्पित प्रस्तुत कृति असमय’ले नव पुस्ताका आकांक्षाहरू यही धर्तीमा फुल्न फल्न सकून् भन्ने गर्भ ज्ञान पनि प्रदान गरेको छ । राष्ट्रियता कविको अन्त:प्रेमको रोजाइ हो भने मानवता सनातन हुनै पर्ने आग्रह पनि हो असमय । विकृति, बेथिति र शून्य मौनतालाई चिर्दै स्वस्थ हृदयको मुस्कान बाँड्ने प्रयत्न असमयले गरेको देखिन्छ । अग्रगामी सोच र सन्तुलित अभिचेतनालाई सम्मान गर्नु पनि असमयाको प्राप्ति हो । यसरी नै शरण आँसुले कविता फाँटमा लाली किरण अघि नै बास्ने घडीचरा झैं निष्ठावान बनेर असमयलाई समयमा रुपान्तर गर्न सकून् ।

अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *