कक्षाकोठाको बेन्चमा बसेर
म आधि मनले लेख्तैछु –
छोरी निरकला देवीको कविता ।
यो स्कुल
किन आउँथी त निरकला ?
यहाँ न निउरो टिप्न पाउनु छ, न ऐसेलु ।
खिर्रोको रुखमा थापिएको
नाम्लाको पीङमा
मच्चिरहँदा
कसरी मच्चिन सक्थी र ऊ
अति क्लिष्ट जीवनका अभिष्ट अक्षरसित ?
पोहोर
सेतीको बाढीले
निरकलाको सपना बगायो ।
ऊ सादल, करुवा र खारापानी हुँदै
पोखरा आइपुगी ।
तर बाबु आमाको
चिनो भेटिन ।
आज बाढी जो सुकिसक्यो –
निरकलाको आँखाको पानी जस्तै ।
त्यो पानीको बेजो यो पोखराले
उठाउन सकेन ।
अचेल निरकला
निचेष्ट सपनाको एक्लो परिवेश
चपाइरहन्छे ।
ऊ हाँस्छे – पीडा माथिको दोश्रो पीडा
ऊ रुन्छे – पीडा माथिकै दोश्रो पीडा ।
सिस्नेरी पाखाको अँगालोमा
बेरिइरहन्छ – दोश्रो आकाश ।
हो, त्यहीं हेर्छे ऊ
स्वर्गीय देशको अनुहार ।
भराभुरि गाउँबाट बग्दै आउँछ –
उत्तीसका रुखहरूको
लामो जुलुस ।
विस्मृत हिँडछे ऊ-
सम्झनामा सेती बाढी झैं
नफर्कने बाटो ।
हिमाल
हिमपहिरोको नाममा बग्छ –
हिममानवहरू बगाएर ।
हेर्नेहरूलाई पो सुन्दर छ,
भोग्नेहरूलाई सार्है कुरुप-
हिउँको उकालो ।
म लेख्तैछु –
आधि मनले आधि थुङ्गो फूलको कविता ।
निरकला-
स्कुल आउँदिन ।
ऊ
बाँच्नुका असजिला पहाडहरू
उक्लन्छे -आधि मन
ओर्लन्छे -आधि मन ।
