लघुकथाः उपहार
एकदेव अधिकारी
“बाबु घरमा त बेहाल पो छ रे । तेरो बुबा करिब एक महिना अघि घरबाट जानुभएको अझै फर्कनुभएको छैन ।” अचानक माइलाबा ले टेलिफोनमा भन्नुभएको शब्द मेरो स्मृतिमा फेरी गुञ्जियो ।
सोचेको थिएँ अझै केहि वर्ष काम गर्छु अनि केही रकम जम्मा गरेर फिर्छु । यस्तो सोचलाई त्यसै तिलाञ्जलि दिएर अलि अलि जम्मा भएको रकम तरल बनाएँ । यसो हिसाब किताब अडकल गरेँ, धितो राखेको घर निकासेर, केही रकम बाँकि रहने रहेछ । त्यहि बाँकि रकमले कुनै व्यापार गरेर बस्ने र अब बिदेश नफर्कने सुरसार कसेँ । घरमा खबर गरूँ कि नगरूँ को दोधारमा केहि दिन त्यसै बित्यो । घरमा खबर केही नगरी हिडेँ । विमानस्थलबाट उत्रेपछि काठमाडौँ माइलाबा को घरतिरै हानिएँ ।
“दाइले बुहारीको व्यवहारबाट दिक्क मान्नु भए जस्तो मानेँ बाबु । दिनभरी घर बस्तिन रे, कुन चाहिँ हो साथि छ त्यसैकोमा सँधै जान्छे भन्नु हुन्थ्यो । भाउजुको सेख पछि त मलाइ साह्रै गाह्रो भएको छ भन्नु हुन्थ्यो ।”
यस्तो रहस्योद्घाटनले मन चसक्क बनायो । यसो बाहिर निस्केँ र बसको टिकट लिएँ । बसको करिब सात-आठ घण्टाको यात्रा बडो मुस्किलले कटाएँ । घर पुगेँ ढोका ढेपिएको मात्र रहेछ । बिस्तारै धकेलेँ । भित्र पुरूष र नारी स्वर सुनेर यसो परबाट चिहाएँ । त्यसपछि फरक्क फर्केँ र पल्लो घरमा पसेँ । पल्लो घरे आमैबाट सबै कुरा प्रष्ट भयो ।
काठमाडौँ फर्केँ र माइलाबासँग कुरा गर्दै पत्रिका यसो पल्टाएँ । “बृद्धाश्रममा म्यानेजरको आवश्यकता” शिर्षकले ध्यान तान्यो – झल्याँस्स भएँ । बुबाले अघिल्लो पटक आउँदा बृद्धाश्रममा केहि रकम दान इच्छा गर्नुभएको सम्झेँ । कार्यालयमा गएँ । आवश्यक प्रकृया पुरा भएपछि ल्याएको रकम त्यहिँ दान दिएँ र आफु म्यानेजरको रूपमा काम गर्न इच्छुक भएको कुरा व्यक्त गरेँ ।
———————————————————————————–
आज कुशे औँसी । बुबाको मुख हेर्ने दिन । सरासर बृद्धाश्रममा गएँ । रजिष्टरमा नामावली हेरेँ र १४ नं. कोठामा सरासर गएँ । ढोका ढकढकाएँ । ढोका खुले पछि एक नजर राम्रोसँग बुबालाइ हेरेँ र भनेँ । बुबा हजुरलाइ आज मुख हेर्ने दिनको उपहार स्वरूप यो छोरा ल्याइदिएको छु । कुनै गल्ति मैले गरेको भए माफ गरिदिनुहोला ।
२०७० भाद्र २० गते
