Skip to content

तिमीलाई सुन्दरताको प्रशंसा गर्ने


तिमीलाई सुन्दरताको प्रशंसा गर्ने त्यत्रो शौख भए
क्रिम पाउडर र लिपिष्टिकले आफ्नो सम्पूर्ण
कुरुप्ता छोपेर सुन्दरताको परिभाषालाई असुन्दरतामा बदल्ने
ती स्त्रीको होइन

तिनको गर

जहाँका स्त्रीले पाउडरको नाममा खरानी र कोदोको पिठो
मात्र देखेका छन् क्रिमको नाममा नौनीसँग मात्र परिचित छन्
लिपिष्टीकको नाममा सिन्दुरलाई मात्र चिन्दछन्
व्यूटी पार्लरको नाममा गाई भैंसिको गोठ बुझ्दछन्,
दिन रात धारा-पधेँरा र वनजंगलसँग
मितेरी गाँसेर आफूलाई सन्तुष्ट राख्दछन्

हो तिनको प्रशंसा गर

यदि तिमी आफ्नो प्रशंसा सत्य
होस् भन्ने चहाना गर्दछौ भने

नत्र त जसरी क्रिम पाउडर र
लिपिष्टिकले आफ्नो सम्पूर्ण कुरुप्ता छोपेर
सुन्दरीको ट्याग झुन्ड्याएका
ती कृत्रिम स्त्री जस्तै
तिम्रो प्रशंसा पनि कृत्रिम ठहर्ने छ

ती स्त्री त क्रिम पाउडर र
लिपिष्टिकले आफ्नो सम्पूर्ण
कुरुप्ता छोपेर दुनियाँलाई भ्रममा पारेर
दुनियाबाट झुठो प्रशंसा बटुलेर
आफ्नो कुरुप्ताले चह्राएको छातीमा
मल्हम दलेर शितल पार्न चहान्छन्

र त दिन रात तिनको बास
सपिङ मल व्यूटीपार्लर र मसाज सेन्टरमै हुन्छ
तिनले आफ्नो अमूल्य समय पैसा
र श्रिजनशिलतालाई नयाँ नयाँ ब्रान्डका
युरोप अमेरिका लेभल टाँसिएका क्रिम पाउडर
लिपिष्टिक खोज्नमै खर्चिन्छन्
झोलिएको छाला तन्काउनमै सिध्याउछन्

र ढिके नून र अकबरे खोर्सानीसँग ढिँडो रोटोले प्राण धान्दै
कर्म गरेर सगरमाथा टेक्नेहरूसँग
बराबरी खोज्छन्

आफूलाई सहरिया र जान्ने बुझ्नेको
उपमा भिराएर बित्थैमा उफ्रिन्छन्
जति उफ्रे पनि यश आरम र सुख सुविधाको
कुवाबाट आफूलाई बाहिर निकालेर
एक अर्काको विचार बुझ्न सकेका होइनन्

ऐना अगाडि उभिएर घण्टौघण्टा
आफ्नो अनुहारलाई निहारे पनि
आफूभित्र कहिल्यै पुग्न सकेका होइनन्
आफूलाई चिन्न सकेका होइनन्
ती गरीब निमुखा अवलाहरूको भावनाको
कदर गर्न सकेका होइनन्

तिमीलाई सुन्दरताको प्रशंसा गर्ने त्यत्रो शौख भए
क्रिम पाउडर र लिपिष्टिकले आफ्नो सम्पूर्ण
कुरुप्ता छोपेर सुन्दरताको परिभाषालाई असुन्दरतामा बदल्ने
ती स्त्रीको होइन

तिन्को गर
जहाँका स्त्रीले पाउडरको नाममा खरानी र कोदोको पिठो
मात्र देखेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *