Skip to content

विवश जीवनमा घाइते विधान


जुर्मुराउँछन्
मानवीय स्पन्दनहरू प्रभाती उमंगमा
गुनगुनाउँछन्
लयात्मक फाँकीमा मानवीय स्वर-लहरीहरू
स्वस्फूर्त उर्लंदै जान्छन्
निर्भीक चराहरूको कोमल विजय रागझैँ
बिर्संदै जान्छन् धावा बोलिएका गल्छेँडाहरू
अंकुराउँछन् जिजीविषाका मौन कहानीहरू
लिपिबद्ध हुन्छन् सुदूर भविष्यका पि्रय अग्रगमनहरू ।

अफसोच !
थलिन्छन् जीवन्त उत्साहहरू
मुर्जाउँछन्
अनुभूतिका दुरुह कुइनेटाहरू
कोरल्छन्
अथक साहसका तरेलीहरू
बिजाइरहन्छन्
न्यासि्रएका अनन्त गुनासाहरू
बिरक्तिन्छन्
उमंगका उच्च हिमालहरू
आक्रान्त छन्
मानवीय सम्बन्धहरू सन्त्रासका बादलमुनि
नियाल्छन्
उन्मुक्तिका सफा क्षितिजतिर
फुलाउँछन्
कोमल फूलहरू वासन्ती महकका बगैँचातिर
धाउन विवश छन्
न्यायालयका प्रतीक्षारत बिसाउनीमा ।

ऐंठन परेका छन्
ज्वलन्त तर्क र मान्यताका दफाहरू
नील बाजिएका छन्
प्रलोभनका घुँयत्रोले सम्मुखका नजिरहरू
गिरफ्तारमा परेका छन्
मतलबी षड्यन्त्रले खम्बिर फैसलाहरू
विवन्धनमा परेका छन्
वैधानिक उद्घोषका घोषणा-पत्रहरू ।

अंक: ५६१
२०७० भाद्र १६
Sep 1, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *