Skip to content


बसको झ्यालबाट हेर्दा
तल देखिन्छन्
गिट्टी कुटिरहेका
फूलजस्ता नानीहरू
उराठ जिन्दगीको
पाषाण बगरमा ।

एक धरो लुगा र एक गाँस
भातका लागि
बाध्यताको पिँजडामा
कैद गरेर
बालसुलभ चञ्चलताहरू
र, आफ्नै उमेरजस्ता
रहर लाग्दा रहरहरू ।

साहू-महाजनहरूको महलमा
चौरासी व्यञ्जन पाक्छ
तर, पाक्दैन नुनिलो खोले पानीसम्म
ती निरीह प्राणीहरूको झुप्रोमा
गरिबीको चक्रव्यूहमा
बाँधेर आफ्नै जिन्दगीलाई
अभावको फलामे सिक्रीले
विवश बाँचिरहेका
यी कलिला कोपिलाहरूले
फुल्न पाउने अधिकारसहितको
कानुन बन्न
के अझै बाँकी छ र यहाँ ?

अंक: ५६१
२०७० भाद्र १६
Sep 1, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *