बसको झ्यालबाट हेर्दा
तल देखिन्छन्
गिट्टी कुटिरहेका
फूलजस्ता नानीहरू
उराठ जिन्दगीको
पाषाण बगरमा ।
एक धरो लुगा र एक गाँस
भातका लागि
बाध्यताको पिँजडामा
कैद गरेर
बालसुलभ चञ्चलताहरू
र, आफ्नै उमेरजस्ता
रहर लाग्दा रहरहरू ।
साहू-महाजनहरूको महलमा
चौरासी व्यञ्जन पाक्छ
तर, पाक्दैन नुनिलो खोले पानीसम्म
ती निरीह प्राणीहरूको झुप्रोमा
गरिबीको चक्रव्यूहमा
बाँधेर आफ्नै जिन्दगीलाई
अभावको फलामे सिक्रीले
विवश बाँचिरहेका
यी कलिला कोपिलाहरूले
फुल्न पाउने अधिकारसहितको
कानुन बन्न
के अझै बाँकी छ र यहाँ ?
अंक: ५६१
२०७० भाद्र १६
Sep 1, 2013
