सधैँ रेलको डब्बामा छङ्ग-छङग
खुजुरा पैसा बजाउँदै, हात पसार्दै
आउँछ एउटा युवा
आफनो रित्तो खल्ती छाम्दछु
फेरि झोलामा भारि, फइलभरिका
प्रमाणपत्रहरू समझन्छु
त्यसको अनुहारमा म आफ्नो
भविष्य देख्दछु।
चना-मटर भन्दै फेरि
एउटा उज्वल भविष्यको सपना बोकेको
निरास अनुहार मेरो अघि उभिन्छ,
त्यसको अनुहारमा म आफ्नो
निरास भविष्यको चित्र कोर्दछु।
देशले विकास गरेको खबर
दिनहुँ पत्रकामा पढन पाउँदा
मनमा एउटा आसा पलाउँछ,
भ्रष्टचार र घुसखोरीले ग्रस्त छ
मेरो देश भन्ने जब मलाई
अनुभूति हुन्छ फरि मनमा एउटा
निराशाको दियो हुर्कन्छ।
चियाबारीमा दासत्वका यात्नापूर्ण
अनुहारहरूमा म आफ्नो भविष्य छाम्दछु।
पापि पेटको ज्वालाले रापिएका
नारीतस्करी, चोरी-चक्करी गरी
नून-भुटुनको समस्या टार्न बाध्य
ती मानिसहरूका व्यवहारमा
म आफ्नो सुन्दर
भविष्यको घडेरी निर्माण गर्दछु।
टन्टलापूर घाममा बसेर
भत्-भत् पोलने ढुङ्गामाथि
आफ्नो शरीर राखेर,
एउटा सानो छाताले
आफ्नो विवश्तालाई ढाकेर,
अनुहारबाट पसिनाको धारा,
औंलाबाट रगतको घारा बहाउँदै
ढुङ्गा फुटाउने मानिसहरूमा
म आफ्नो फुटेको
भविष्यको छाँया देख्दछु।
करोडौं जनताका टाउकामा बसेका
मुकुन्डोधारी जुका र उपियाँहरू
जस्ले देशका प्रत्येक जनताको
रगत चुसेर हजारौं उग्रवादीहरू जन्माउछन्।
ती जन्मिएका उग्रवादीहरूका समुहमा
म आफ्नो पनि उपस्थिति पाउँछु।
सुकेको बाँसझै दिनभरि उँघेर
आफनो डिग्रीका प्रमाणपत्रहरू कोट्याइरहन्छु,
अव्यक्त वेदनाले रूँदै
रातभरि म आफ्नो अन्धकार भविष्य सम्झिरहन्छु।।
रूद्र छेत्री
काशी हिन्दू विश्वविद्यालय
वाराणसी, भारत
