आवत जावतको क्रम अझै मत्थर भै सकेको छैन । भीड बढिरहेछ क्रमशः । हरेक साँझ बिहान यस्तै जमघट भित्र छताछुल्ल पोखिएर चुर्लुम्म डुब्ने गर्छ यो स्थान । फूलको केस्रा भित्र हाँस्छ, तथा लुटुक्क निदाउँछ । जिन्दगी साट्छ विश्वासमा अनि प्रफुल्लित बनिरहन्छ मुटुको ढुकढुकी भित्र । पल प्रतिपल आशाको माला उन्छ र विचारको भावधारा थुन्छ छताछुल्ल हुनबाट । बाँच्ने उपक्रम माथि एउटा कल्पनाको मनचिन्ते डालीमा भोकाउँछ, लोलाउँछ र दोधारमै जीवनका पाटाहरू एक-एक गर्दै गोडमेल गर्छ ।
चौतारो छेउमा पसल वा पसल छेउमा चौतारो एक आपसमा भलाकुसारी गर्ने भावमा उभिएका छन् । यसो त पसल र चौतारो दुबै घतलाग्दो विगत काखी च्यापेर हाँसिरहेछन् । पुरानो मूलबाटो हो यो । राजधानी छिर्ने भरिया तथा यात्रीहरूको घुइँचो लाग्थ्यो पहिले । पृथ्वी राजमार्गको निर्माण भन्दा अघि पश्चिम नेपालका बासिन्दाहरूले राजधानी आउन-जान विशेष गरी यही बाटो नाप्नु पर्थ्यो । पसल पिठो, गुन्द्रुक, चामल, भटमास र नुन खुर्सानी बेच्थ्यो । चौतारो तिनीहरूलाई थात, बास तथा ओतको प्रयोजनको निम्ति समग्र रूपमा आफूलाई समर्पण गर्थ्यो । समी र वर पिपलका बृक्षहरू यो सुविधा बटुवाहरूको निम्ति कालान्तरसम्म उपलब्ध गराउन पाइरहियोस् भन्ने चाह राख्थे ।
यतिखेर समयले कोल्टो फेरिसकेको छ । मानिसहरू परिवर्तित देखिएका छन् । पृथ्वी राजमार्गको निर्माणले यो पैदलमार्ग नवपुस्ताका धेरैका आँखाभित्र उपस्थित बनिरहन सकेको छैन । विचार विविधताको कल्पनामा इच्छाका बिरुवा शेपिए पनि फस्टाउन सकेका छैनन् । तर पनि मान्छे विश्वासको गोरेटोबाट निरन्तर हिंडिरहेछन् ।
इतिहासको सूचना छातीमा टाँसेर चौतारो र पसल यतिखेर पनि ङिच्च हाँस्दै यथास्थानमा ठिङ्ग उभिइरहेछन् । पसलहरू एकको स्थानमा चार भएका छन् । चौतारो पुरानिएको छ । साँघुरिएको छ । ढुङ्गाहरू यत्रतत्र छरिएका छन् । विचारको पाटो मौलिएकाले वरपरका विचारहरू साँध मिच्ने आतुरता देखाइ रहेछन् । विकास र शिक्षाको नाममा मन मैलिएको छ । भावना गहिराइमा डुबिरहेका छैनन् । बरु लागिरहेछन् पाखा । सतहमा तैरिएका जिन्दगी कुहिने तरखरमा छन् । पहिला विकट भन्दा विकटका बटुवाहरूको स्नेहिल सान्निध्य पाउने चौतारो र पसल यतिखेर स्थानीय व्यक्तिहरूको बढी माया-ममता भित्र लाडिंदै गएका छन् । विचारका भावधारामा खलखल्ती नुहाइ रहेछन् । बटुवाहरूका सुख दुःख र जिन्दगीका आरोह अवरोह सुन्ने परम्परागत प्रचलनमा रोकावट आएपछि स्थानीय व्यक्तिहरूले त्यसको पूर्ति गरिरहेछन् । आधुनिकताको नाममा विकृतिका पोकाहरू बाँधिइ रहेछन् क्रमशः ।
पसल अचेल पिठो, गुन्द्रुक, भटमास र नुनखुर्सानी विक्री वितरण गर्दैन र सुन्दैन यात्री तथा भरियाहरूको दुःख पनि । यति खेर एउटा पसलको जिम्मेवारी जेठो साहूकी छोरी पुतलीको काँधमा आएको छ । पसल र ऊ पर्याय भएका छन् । परिवर्तनको प्रहरसँगै ऊ कप कपमा भरिन्छे । चुरोट बाँड्छे । पैसा असुल्छे र नतिर्नेहरूलाई धारेहात लाउँछे । भोलिदेखि कहिल्यै उधारो नदिने घोषणा गर्छे । तिर्न नसक्नेहरू अबदेखि उधारो नमाग्ने वचनबद्धता जाहेरीका साथ छुट्टिन्छन् । ऊ सन्तोषको सास फर्छे पुनः सोच्छे । बजियाहरू आएनन् भनेदेखि त फेरि मेरो व्यवसाय नै पो सखाप हुन्छ त ए गाँठे । आ …. होस् , बरु बाँकी नै राखेपनि आउन नछाडि दिए हुन्थ्यो । मनमनै प्रार्थना गर्छे कल्पना सँगालिन्छ छातीमा । बिना काम रिसाइछु भन्ने सोचका साथ भित्र भित्रै चिन्तित देखिन्छे । आउँछन्, किन आउँदैनथे संझन्छे । भगवान् ! तिनीहरूको मन यता फर्काइदेउ है, कामना गर्छे अनि आँखालाई सान्त्वना दिई एक्लै मुस्कुराउँछे ।
चौतारो र पसलको छेवैमा एउटा पुरानो शिक्षालय छ । आठ कक्षासम्म पढ्छन् केटाकेटीहरू । जीर्ण त्यसको अवस्था । बस्ने उचित प्रवन्ध छैन । शिक्षकहरू समय बेसमय दुवैमा आउँछन् । विद्यार्थी भुइँमा बस्छन् । धुलाम्य बन्छन् तिनीहरूका मुहार । निश्चित समय छैन आउने जाने कुनै । आयो गयो कुनै लेखा जोखा छैन । आउँछन् । जान्छन् । बस्छन् हिड्छन् । शिक्षक र विद्यार्थी दुवैको परिस्थिति मनमौजी छ । छेकवार वा बारबन्देज केही देखिदैन ।
रामसागर सर टुसुक्क बस्छन् चौतारोमा । आँखा डुलाउँछन् यताउति । पसलको वरिपरि झुरूप्प देखिन्छन् मान्छेहरू । विगत तीन वर्षदेखि यसैमा अध्यापन गरिरहेछन् । पढिरहेछन् परिवेश । पसल, चौतारो र विद्यालय घरिघरि नाच्छन् आँखामा । उदाउँछन् तथा अस्ताउँछन् । विद्यार्थी, पढाइ, वातावरण तथा उनीहरूको आचरण र बानी बेहोरा देखिन्छन् र ओझेल पर्छन् पनि । देख्छन्, हेर्छन, अनुभूत गर्छन् तर बोल्दैनन् । मात्र आफ्नो दैनिक कार्य पूरा गर्छन् । कसैसँग पनि खासै हिमचिम बढाउँदैनन् । आवश्यक समेत देख्दैनन् । एकलकांटे स्वभावको अँगालोमा उनको मानसिकता चुर्लुम्म डुब्छ तर उत्रने कुनै पनि प्रयासमा लाग्दैनन् । एकान्तमा वा एकलासमा रमाउँछन्, हाँस्छन् र पोखिन्छन् स्व दिनचर्या भित्र ।
त्यसो त सहकर्मीहरूबाट कम आलोचित र निन्दित छैनन् । अव्यावहारिक, एकलकाँटे र असामाजिक जस्ता शब्दहरू उनले सहजै प्राप्त गरेका विशेषणहरू हुन् । अधिकांश सहकर्मीहरू हास्यको पात्र संझन्छन् मनोरञ्जन गर्छन् । जब उनी जीवनको, अस्तित्वको, मानवताको र विसंगतिको प्रसंग निकाल्छन् तब तिनीहरू बढी भावुक र तृष्णादेखि डराउने काथर ठान्छन् । सुझाव, सल्लाह र परामर्श दिन्छन् । उनले माटोमा डुबुल्की लगाउँदा खिसिट्यूरीको पोखरीमा चर्लुम्म डुब्छन् । इतिहास, संस्कृति र समाजको चिन्तामा दुःखित बनिरहेको क्षण सबै वर्तमानमा पोखिन्छन् र हराउँछन् ।
घाम र पानी दुवै चुहिने विद्यालयको छानोमा विश्वासको फूल रोपेको दिन सबैबाट निःशुल्क खप्की ग्रहण गरेका थिए । विचार पोखिएको थियो छताछुल्ल । शिक्षक र अध्यापन सम्वन्धित विषयवस्तु हुन्, विचारको रंगीन तरंग भित्र भन्दै चुपो लागेका थिए । उत्साहको घडा बोकेको मन लम्पसार परेको थियो चौरस्तामा ।
चौतारो र रामसागर सर, पर्याय हुन् मानिसहरू बाटा घाटामा कुराकानी गर्छन् । सहकर्मी र छात्रछात्राहरूबाट समेत यही प्रसंग दोहोरिन्छ । हुन पनि यसैमा शान्ति मिल्छ उनलाई । रमाउँछन् । हराउँछन् र विचारको तलाउमा छलाङ मार्छन् । आस्था फुलाउँछन् कल्पनाको तरंगभित्र र तृष्णाको जङ्गलमा उत्सुकताको सारंगी रेट्दै विचरण गर्छन् । विगतको समुद्रमा नुहाउँछन् र वर्तमानको यथार्थ तर तिक्त क्षणहरूबाट कोक्किन्छन् तथा फुट्छन् झर्र्याम् झुरुम् ।
दुवै तीन वर्षो शिक्षण जीवनका सहयात्री हुन् । तिनीहरूबाट हरपल केही न केही सिकिरहेका छन् । जतिखेर कल्पनाको धरातलबाट शिक्षक बनेका थिएनन् त्यतिखेर मन भावनाको गंगाभित्र पोखिन्थ्यो र हराउँथ्यो । ताना-बाना बुन्थे । शिक्षक भविष्यद्रष्टा, जीवनको सुन्दर स्रष्टा असल निर्माणको माली । सहयोगमा विश्वास फुल्छ । अठोट भित्र लहराउँछन् । उर्वर समाज, उज्ज्वल भविष्य बोकेको देश । सुखी र खुशी मानिसहरू रोष, ईर्ष्या, दुर्भावना, टाढा-टाढाको क्षितिजको सुरम्य परिवेश ।
सोचको परिधि भन्दा ज्यादै असरल्ल भेटियो वर्तमान । शिक्षक बनेपछि आफू बसेको गाउँ र यो चौतारो तथा पसलमा अत्यन्त धेरै भिन्नता देखे । मस्तिष्कका तन्तुहरू एक्कासी घुम्न लागे । अगाडिको पथ एक किसिमले बन्दको स्थितिमा देखा पर्यो । विवशता ङिच्च दाँत देखाएर मस्किन लाग्यो । नङले स्वाभिमान कोतरीरहेका धेरै प्राणीहरू देखा परे । बन्द अस्तित्वको पर्खाल पनि घेराबन्दी भएको देखियो । उनी आफन्तहरूको जंगलमा हराए ।
पसलको जमघट निर्वाचन गराउँछ । मन्त्री मण्डलको पुनर्गठन गर्छ । भ्रष्टाचारीलाई कारवाही गर्छ । सरकार फेर्छ । अविश्वासको प्रस्ताव ल्याउँछ । पारित गर्छ । असफल पार्छ । संसदको अधिवेशन बोलाउँछ । निर्णय गर्छ । कार्यान्वयनमा तदारुकता देखाउँछ । देश विकासको योजना बनाउँछ । अनगिन्ती मुलुकहरूसंग सहयोगको हात थाप्छ । सफलता औंलामा ल्याउँछ । शिक्षा संस्कृतिको विकास गर्छ । भाषा, साहित्य र कलाको उत्थानमा आवश्यक कदम चाल्छ ।
आजका मानिसहरू बिग्रिएकामा चिन्ता गर्छ । भोलिको सन्ततिले पाउने दुःखले उसको मन कुंडिन्छ । असल मान्छे, राम्रो समाज, सुन्दर दृष्टि, सुखद भविष्य चियाको घुट्कोसँगै पिउँछ । चुरोटको सर्कोसँगै तान्छ र पुनः बाहिरतिर फ्याँक्छ । आशाको माला लगाउँछ गलामा फनफन्ती । विचार श्रृङखलामा हराउँछ । दूरदृष्टिमा पछारिन्छ । उठ्छ र कामना भित्र घुल्छ । चुहिने महत्वाकाङ्क्षा लहरलहरभित्र खजमजिन्छ ।
दुख्छन् वरिपरिका मनहरू । समस्या चुचुरो भएको छ । तिनीहरूको छातीभित्र उदाउन सक्दैनन् कहिल्यै विश्वासको वर्तमान । स्कूले जीवनबाट क्षत-विक्षत भएको मन र घरायसी समस्याले घाउ नै घाउ पारेको मुटु बोकेर अधिकांश बालक र महिलाहरू बाँचेको अभिनय गरिरहेछन् । सूक्ष्म रूपले यी सब कुराहरू देखिरहेछन् सर । तर ‘हाम्रो सम्वन्धमा तपाइँलाई बोल्ने कुनै अधिकार छैन’ भन्ने उनीहरूको ओठे जवाफले टम्म भरिएको छ मन । दुखेका छन् आँखाका भावहरू । नराम्ररी खजमजिएको छ यथार्थ । यसर्थ पसल, पाठशाला र गाउँको बारेमा केही नबोल्ने प्रण गरेका छन् ।
“जनश्रमले विद्यालय निर्माणको पहल गरौं” प्रस्ताव धागो चुंडिएको चङ्गा बनेको थियो । पुस्तकालय खोल्न प्र.अ.ले तदारुकता देखाउनु पर्छ भन्ने सुझावमा अब आइन्दा पनि यसैगरी बोलिरहे दुःखद परिणाम भोग्नु पर्ने चेतावनी पाएका थिए । उत्साहमा साथ दिने स्थानीय युवक र विद्यालयका एक सहकर्मीको सुझाव अनुसार नबोल्ने कबुल गरेका थिए । त्यसैले त केवल रमिते भएर वर्तमान भित्र पौडदै अतीतमा हराउने गर्नु परिरहेको छ ।
चौतारो छेउछाउका दुःखित जीवन बिताइरहेका माहिलाहरूका पति तथा अपांग अस्तित्व जीइरहेका बाल बालिकाहरू उपस्थित गराई नारी स्वतन्त्रताको राग ओकल्छ । बाल शोषण विरुद्ध विद्रोही आवाज अलाप्छ । छुवाछुतको विरोध गर्छ । असहमति जनाउँछ । समानता र न्यायको कुरा कोतर्छ । सदाचार तथा सभ्यताको पाठ पढाउँछ । यस्तो किन भयो, त्यस्तो हुनु हुँदैन । यो हुनुपर्छ । विकास यस्तो हुन्छ । यो प्रजातन्त्रको परिभाषा । केटाकेटीहरूले पढ्न पाउनु अधिकार हो । नारी स्वतन्त्रता हुनु पर्छ । चुलोचौकोबाट जीवन माथि उठ्न सकेको छैन । सगरमाथा उक्लिए । अन्तरिक्षमा पुगे र अन्यत्र यस्ता-यस्ता काम भए तर हाम्रोमा महिलाहरूको स्थान ज्यादै तल छ । जीवनस्तरमा सुधार ल्याउन राज्यले काम गरेको छैन । यसरी विविध छलफल गराउँछ ।
प्रश्नहरू भित्र पुतली हराउँछे । चर्लुम्म डुब्छे । कल्पनाको दहमा पौडन्छे । सबै मेरै पसलमा चिया पिउन् सोच्छे र कामना गर्छे हुने गर्छ पनि त्यस्तै । अन्य ती पसलेहरूमा दुइमा बुढा र एउटामा अधबैंसे बुढी छन् । असरल्ल छन् तिनीहरूका जीवनशैली । खोक्छन् र आफ्नै सुरतालमा हराउने गर्छन् तर पुतली हुर्हुराउँदो बैंसभित्र कैद छे । केही ग्राहकहरू चिया र चुरोट किन्ने निहुँमा उसको शरीरमा जानेरै स्पर्श गर्न चुक्दैनन् । हातमा, गालामा र ढाडमा चिमोटिदिन्छन् । कहिलेकाहीं त गालामा आफ्नो मुहार दल्ने सफल-असफल दुवै प्रयत्नहरू गर्छन् । ऊ समय अनुसारको प्रतिक्रिया जनाउँछे । सराप्छे र धारेहात लाउँछे । हाँसोको पर्रा छुट्छ तर ऊ अंध्यारो मुहार बनाउँछे ।
बैंसको पसलभित्र चिया चुरोट मात्र हैन सामान्य घरेलु सामग्रीहरू पनि विक्री गर्छे । बिहान-बेलुका प्रायः जसो गाउँले पुरुषहरूको भीड र दिउँसो विद्यालयका छात्र-छात्राहरूको जमघट हुने त्यो पसलबाट पुतलीको परिवारले राम्रै गुजारा गरिरहेको छ । उधारो खाने र नतिर्नेहरू देखि बेलाबेलामा उ तर्सिंदै रिसाउँछे । आक्रोश पोख्छे । अब देखि कहिल्यै नदिने उद्घोष गर्छे सफलता हात लाग्दैन । गाउँले पसल भएकाले बाँकी नदिई चल्दै-चल्दैन । दुःखम् सुखम् पसल चलिरहेको छ । बैंसहरू ग्राहकको इच्छामा रोपेर जीवनका विविध पहलहरू भित्र हल्लिदै, दुख्दै र खिंइदै ऊ बाँचिरहेकी छे ।
अधिकांश समय चौताराको पसलमा गफिएर बिताउने बाबुहरूका छोराछोरी चौतारा मुनिको विद्यालयमा बिना कापी कलम दिउसो जम्मा हुन्छन् । छोराछोरीको धुलाम्मे अनुहारले आमालाई क्रोधित बनाउँछ । स्कूललाई सराप्छिन् । बाबु शिक्षकहरू अभिभावकलाई दोष थुपार्छन् । समय घुमी रहन्छ । दिन फेरिइ रात बन्दै बिलाउदै जान्छ । पुतली सबैलाई हेर्दै मुस्कुराउँछे । ठुस्किन्छे र झोक्किन्छे पनि । यी सबै दृश्यहरू भित्र जीवनको छाया खोज्दै प्रायःजसो टोल्हिने गर्छन् रामसागर सर ।
पुतलीको पसलका चिया ग्राहकहरू बुस, पुटिन, लादेन, मुसर्रफ, कार्टर, ब्लेयर, अन्नान र कार्जइ जस्ता धेरै नामहरूको कुरा गर्छन् । तिनीहरूका अवस्था, विचार, सफलता, असफलताको मापन प्रत्येक साँझ बिहानको चियाका गिलासहरूले गर्छन् । आफ्नै देशको सन्दर्भमा कोइराला देखि नेपाल र प्रचण्डसम्मका विचार, मूल्य र मान्यता सजिलै उनीहरूका ओठबाट शीत झैं चुहिन्छन् ।
बनिहारीमा हिंडेको थिङ माइलो, आरन हिंडेको धने र कपडा सिउन घरतिर लम्केको गन्धे दर्जी चौताराको गफमा भुल्छन् । वातावरणको आकर्षणमा लठ्ठिन्छन् प्रायः मानिसहरू । यो भयो । त्यो भएन । किन भएन । हुनु पर्थ्यो । त्यसको दोष । उसको कमजोरी । उबाट हुनुपर्छ । यस्तै कुरामा रनक्क तात्छ चौतारो । यदाकदा मनमुटाव र विचारको पर्खालमा पनि पोखिन्छन् तर पुतली र चौतारो जस्तै केही क्षणपछि उपस्थितहरू शान्तिको सास फेर्छन् । मनोमालिन्यता उनीहरूलाई जिम्मा लगाएर बासस्थानतिर लाग्छन् पुनः भेट्ने बाचाका साथ ।
बिना प्रतिक्रिया र शुल्क यस कोटीका आत्माभिव्यक्तिहरू सुन्दै आइरहेका छन् सर । हो, एकपटक विमति जनाएका थिए । समयको व्याख्या गरेका थिए । विगत र भविष्यको तुलना भएको थियो । घरप्रति उचित रेखदेख र स्याहार सम्भार नपुगेको सूचना प्रदान गरेका थिए अभिभावकहरूको सानो जमघटमा, तर त्यो अफाप सिद्ध भयो । विचारका हाँगाबिंगा भाँचिए । आस्था ओइलिएर खजमजियो । भावहरू टुक्रिए अनि उनको वर्तमान कुहिएर फत्फती झर्यो । यसै क्रममा केही परिवर्तनका रेखाहरू कोरिए । यथार्थ आँखा अगाडिका प्रत्येक कार्यकलापहरू विना आदेश छुन र स्पर्श गर्न समेत नपाउने भए ।
परिश्रममा विश्वास गर्दैन चौतारो । बल थप्छन् वरपिपलका वृक्षहरू । सपनाको महलमा जग हाल्छ । कल्पनाको राँको सल्काएर भूमण्डलको परिक्रमा गर्छ । चैतको हुरीमा फक्रन्छ ढकमक्क । साउनमा बल्छ हुर्हुर्ती र आस्थाको डढेलोभित्र खिया लगाउँछ । विचार पोखिन्छ । आँखाको नानी भित्र नहर खनिन्छन् । पुलहरू बन्छन् । बाटो पीच हुन्छ । महलहरू ठडिन्छन् । आलस्यता बग्छन् टुकुचाको पानीमा । जाँगरमा फुल्छन् जिन्दगीका पाटाहरू । निराशाको निशानी ठोकिन्छ दुखेको मनको तरंगभित्र र भावनाको कुलो बग्छ ।
बिपनाहरू कैद गर्छ । सबै पराइको जिन्दगी भित्र फुल्छन् तिहारका सयपत्री र मखमली जस्तै । नाङ्गिएर विश्वासको संसारमा भुल्छन् आफूलाई, आफ्नोलाई र आफूहरू जस्तोलाई । अरुको जिन्दगी भित्र देख्छ स्वर्गको सुख सुविधा र अस्मिताका रमाइला क्षणहरू । आफूभित्र पनि केही छ र लायक म पनि बन्न सक्छु यो कुरामा अँहँ विश्वास गर्दैन । आफूलाई अत्यन्त उच्च देख्छ । महान् ठान्छ तर भाव गंभीरताको पोखरीले लोभ्याउँदैन मनमस्तिक ।
पसल, चौतारो र पाठशाला पर्याय देखिन्छन् । केही गर्छु र गर्नुपर्छ भन्ने अठोट लिएर आएका रामसागर सर अन्योलतामा दुख्छन्, खुम्चन्छन् र गुजमुजिन्छन् पनि । तर न सर उनीहरूको बाटो बदल्न सक्छन् न त आफू नै उनीहरूको दिनचर्यामा सहमति जनाउदै आफूलाई बिर्सन सक्छन् । अगाडि किंकर्तव्यमूढको परिस्थिति ङिच्च दाँत देखाउँदै ठिङ्ग उभिन्छ तर उनी परिस्थितिको आकलन गर्न सक्दैनन् ।
गाउँका विगत, पुतलीको वर्तमान र पसल तथा चौताराको मानसिकता सबै मस्तिष्क भित्र कैद गर्दै बाँचिरहेका उनी एकाएक एकदिन गाउँबाट गायब हुन्छन् । गाउँलेहरू छक्क पर्छन् । सम्पूर्ण सामाग्रीहरू कोठामा जस्ताको तस्तै भेटिन्छन् । घर बस्दा लगाउने कट्टु गञ्जी, तौलिया र हवाइ चप्पल बाहेक साथमा केही पनि नलगेको बुझिन्छ । आश्चर्य Û यसले त सबैलाई झन् कौतूहल बनायो । विचारलाई राम्रो ठान्ने र भावना मन पराउनेहरू अचेल पनि बाटो कुरिरहेका छन् । तर कहाँ गएका हुन् त, आउँछन् कि आउँदैनन् । कोही केही बताउन मान्दैन । अहिले पनि केही मानिसहरू आफू-आफूमा सोध्ने गर्छन् । हैन, त्यस्ता आँटी र सचेत तथा कर्मशील व्यक्ति रामसागर सर गए कहाँ त ?
