नेपाली समाजमा लोकगित र लोकसंस्कृतिको महत्व अत्यन्त उच्चा छ । लोकसाहित्यको एक विधाका रुपमा लोकगीतको स्थान छ । लोकगित भन्नाले लोकजीवनका उकालीओरालीका र सुखदुःखका कथाव्यथाहरू स्वतः समाविष्ट हुने तथा लयात्मक बान्कीमा सुखदुःखका क्षणहरूमा गुनगुनाइने लोकजीवनबाटै उब्जने एक विशिष्ट गीत्यात्मक कवितात्मक साहित्य नै हो । जीवनमा यसको महत्व अधिक रहेको हुन्छ । नेपाली समाज पनि लोकगीतको यो परम्पराबाट अधिक समृद्ध रहेको कुरामा सत्यमोहन जोशी, शास्त्रदत्त पन्त, कृष्णप्रसाद पराजुली, हंसपुरे सुवेदी आदि लोकसंस्कृतिविद्हरूले स्वीकार गरिसकेकै पाइन्छ । नेपाली समाज सांस्कृतिक रुपमा पूर्वतर्फकोभन्दा पश्चिमी नेपाली समाज समृद्ध हरेको कुरामा पनि द्विविधा हुने स्थिति छैन ।
नेपाली भाषामा नेपाली संस्कृति र नेपाली लोकगीतबारे लेखिएका कृतिहरू पनि यदाकदा प्रकाशित हुने गरेका छन् । यसै परिप्रेक्षमा अहिले नेपाली लोकलयमा लेखिएको नेपाली लोकपरम्पराको, नेपाली लोकलयको, नेपाल समाजको गुणगान गरिएको र नेपालका विकृतिहरूमाथि कटाक्ष गरिएको कृति सार्वजनिक भएको छ— मोदनाथ प्रश्रित प्रतिष्ठान नेपालले यो कृति प्रकाशित गरेको छ । नेपाली धुकधुकी नामक यो कृति आकारप्रकारमा सानो भए पनि यसले दिन खोजेको निचोड भने औधी नै महत्व एव म उच्च र उन्नत प्रकृतिको छ ।
नेपाली लोकसाहित्यको उर्बराथलोका रुपमा परिचित हुन सक्छ नेपालको पश्चिमाञ्चल क्षेत्र । यसै क्षेत्रमा पर्ने लुम्बिनी अञ्चलको अर्घाखाँचीमा कर्मथलो बनाएका प्रचण्डबहादुर बुढाथोकी (१९९९) पनि मोदनाथ प्रश्रितका समकक्षी र समकालीन सांस्कृतिक कर्मी हुन् भन्ने कुरा बिर्सनु हुन्न । प्रश्रितले नेपालमा प्रगतिवादी क्रान्तिको उठानका लागि कलम समाएको बेला बुढाथोकीको पनि कुनै न कुनै रुपमा आफ्नो क्षेत्रबाट सहभागिता रहेको थियो । र अँझ पनि नेपाली समाजको रुपान्तरण र नेपालको कुसंस्कारलाई थान्को लगाउनमा बुढाथोकीले यस क्षेत्रबाट निकै गहिरो हात हालेकै छन् ।
लोकलयमा आशुकवित्वका साथ समसामयिक बेथितिहरू उपर कटाक्ष गर्दै लोकगीतका शैलीमा विषयवस्तुलाई जनसमक्ष खन्याउन बुढाथोकी निकै सिद्धहस्त देखिन्छन् यस कृतिबाट । उनको यही विशेषताहरू बोकेको कृति हो नेपाली ढुकढुकी । यसभित्र नेपाली झ्याउरे लोकलयमा लेखिएका ११ ओटा गुच्छा कविताहरू रहेका छन् । यिनमा कवि बुढाथोकीले नेपाली लोकगित र संस्कृतिलाई नेपालको मुटु वा ढुकढुकीका रुपमा लिएका छन् । यसमा समाविष्ट ११ ओटा लोकलयात्मक कविताका गुच्छाहरू नेपालको कुनै क्षेत्रमा गाइने लोकगित वा कुनै स्थाविशेषमा प्रस्तुत गरिने लोकभाका होइनन् र कतै कुनै सांस्कृतिक वा क्षेत्रविशेषमा गाइने लोकभाका पनि होइनन् यी ता खाली नेपाली लोकगीत, लोकलय, लोकसंस्कृति र लोकजीवनको महत्व झल्काउने लोकभाकामा लेखिएका लोकलयात्मक समीक्षाहरू मात्र हुन् । बुढाथोकीले यी लोकगीत्यात्मक रचनाहरूमा नेपालमा बढ्दै गरेको बेथिति, सांस्कृतिक विचलन, लोकगीतमाथि भएको आक्रमण र लोकजीवनमा आएका गलत संस्कारको लोकलयात्मक शैलीमा आलोचना गरेका छन् । साथै अन्धविश्वास, रुढी, आर्थिक विषमता, अन्याय, अत्याचार र बेभिचारको समेत यस कृतिभित्र गीति लयमा शिष्ट र मर्यादात्मक आलोचनाले स्थान पाएको देखिन्छ । साथै नेपाली समाजमा अँझसम्म व्याप्त रहेको कुप्रथा, अन्याय, अत्याचार आदिलाई जरैदेखि उखेलेर हटाउनुपर्ने, राम्रो राम्रो पक्षको स्वागत गर्नु पर्ने, नारीमाथि हुने अन्याय अत्याचार र व्यभिचार हटाउनु पर्ने, छुवाछुत र जातिपातीको कुरा त्याग्नु पर्ने आदि आदि कुरामा पनि बुढाथोकीले यसमा राम्रो गरी आफ्नो सोच अघि सारेका छन् । देशभक्ति, जातिप्रेम बढाउनु पर्ने र सङ्कीर्ण विचारलाई हटाउन पनि उनले प्रस्ताव राखेका छन् ।
जे होस् नेपाली भाकामा नेपाली लोकलयको महत्व दर्शाएको यो एक महत्वपूर्ण कृति हुने अठोट गर्न सकिन्छ । तलका उदाहरणले समेत यस कुराको पुष्टि गर्दछ ।
होला कैले छाड्ने छैन हुने कैल्यै होइन
छैन भन्ने नेपालीको बानी जाने छैन
तलदेखि माथिसम्म कुरीतिको जालो
जालो फाले बल्ल आउँछ जनताको पालो ।
+ +
ठुला घर जैले पनि भोज मोजमस्ती
पराईका चलचित्र लाउँछन् जबर्जस्ती
साना घरे चाड स्वाउँदो लोकगित गाएर
शुद्ध कला दर्साउँछन् अगाडि आएर ।
+ +
दाउरा घाँस मेलापात, जहाँ फूल फुल्छ
लोकभाकामा गुन्गुनाउँदा हाम्रो मन झुल्छ
देउराली र भन्ज्याङमा पीपलको छायाँ
छायाँमुनि लोकगीतमा मौलाउँछ मायाँ ।
सबै राम्रा पक्षमा लोकगित पृ १५
लेखक ः प्रचण्डबहादुर वुढाथोकी
विधा ः गीत
प्रकाशकः प्रश्रित प्रतिष्ठान, भैरहवा, नेपाल
संस्करण ः पहिलो २०६९ असार
मूल्य ः रु १०० ।—
