Skip to content


यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरूको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तया।र गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि जागिरे छिन् । तर तिनी भने बिहानीको सिफ्टकी जागिरे छिन् । यसैकारण यादवजीको भात पकाउने पालो छ । दुईजनाको परिवार छ । परिवारभित्रको समझदारी अनुसार उनको खाना तयार पार्ने पालो बिहानीलाई निर्धारण भएको छ । यहीअनुसार उनी घरको धन्दाका साथ खाना तयार गर्दैछन् । आज उनले अलिक छिटो गरी अफिस जानु पर्दैछ । हाकिम नभएको कारणले आज उनैले अफिसको उच्च पदीय कार्य गर्नु पर्दैछ । भोलिदेखि विद्यालयका शिक्षकरुको अन्तर्वार्ता लिनु पर्नेछ, ती अन्तरवार्ता दिने उम्मेदवारहरूका प्रमाणपत्रदेखि लिएर अनेकौं कुराको छानवीनका कुराहरू लगायत अरु अनेक कुराहरू मिलाउनु पर्दैछ । कर्मचारीहरूलाई धेरै निर्देशन दिएर काम गर्नुपर्दैछ ।

प्राथमिक विद्यालयका १५ ओटा शिक्षक पदमा यतिका धेरै उमेदवारले दर्खास्त दिनु र परीक्षामा पनि उत्तीर्ण हुनुको अर्थ देशभरि बेरोजगारीको संख्या अत्यधिक भएको कुरामा उनी सोचिरहेका छन् । यिनै कुराहरूका बारेमा सोच्दै भान्साको काम गरिरहेका छन् उनी । तरकारी ओइरिन्छन् । खोर्सानीको खार लाग्छ । हाच्छिउँ आउँछ । अलिकति दिक्क मान्छन् । बरु एउटा भान्छे राख्न पाए पनि ता हुन्थ्यो नि, यस्तो बेलामा ता उनलाई झोंक पनि चल्छ । तर आफैं शान्त हुन्छन् ।

यसै बेला बाहिरबाट कसैले ढोकामा कलबेल बजायो । यादवजीले ढोका खोल्नासाथ उनलाई नमस्कार आयो बाहिरबाट । उनले देखे— कल्पना पो रहिछे । कल्पनाको आगमनमा उनलाई कताकता केही चिसोचिसोसम्म लाग्यो । कल्पनासँग साधारणभन्दा विशेष चिनाजानी उनको नभए पनि देखादेखसम्म भने केही बाक्लै हुने गरेको हो । यादवजी कल्पनाबाट खासै अपरिचित भने होइनन् । साधारण बोलीचाली, साधारण जिस्काजिस्कीसम्म हुने गरेको हो । तर त्यति घनिष्टता भने उनका बिचमा भएको थिएन । त्यही कल्पना पो आएकिरहिछे ।

“अनि सर, एक्लै ?” उसले सोधी ।

“एक्लै नि अब, नेपालमा को दोक्लै हुनु र ? छोरा पायो विदेशलाई, छोरी पायो ज्वाइँलाई ।” उनले पनि यत्तिकै अर्थनवर्थको कुरा गरे ।

“खोइ मेडम ?” उसको प्रश्न थियो यादवजीको कुराभन्दा बाहिरको ।

“बिहानैको जागिरे मान्छे, गइन् नि अधि नै ।” तिनका बिचमा यत्तिकै केही कुरा हुँदै थिए, भित्रबाट कुकरमा सिटी लाग्यो ।

यादवले भने– “म ता अचेल भान्से पो छु त । बस्तै गर है । दाल पाक्न आँट्यो । के काम थियो कुन्नि ?” यस्तै केही कुराहरू गर्दै यादव भित्र गए अनि भान्सामा केके गर्न थाले । सोचे– यो आइमाई किन आएकी होली ?

“खै छाड्नु सर, म गरिदिन्छु ।” यादवले थाहै नपाई उनका पछिपछि कल्प्ना ता भित्र भान्सामा पो आइसकिछे । भित्र आएर भान्साको काम सघाउन पो थालिछे । उनलाई कता कता अलिकति अप्ठेरो लाग्यो । “लोग्ने मान्छेहरूलाई भात पकाएको कत्ति पनि सुहाउँदैन । खोइ तरकारी कता छ ?” उसले सोधी ?
“आ छोड तिमी, तरकारी पाकी सक्यो । म गरिहाल्छु नि । तिमी जाऊ बाहिर बस ।” यादवले कल्पनालाई केही अप्ठेरो मानेझैं गरी भने ।

“किन ? डर लाग्छ सर ?”

‘केको डर नि । तिमीले मलाई क्वाप्पै खान्नौ क्यारे ।”

“उसो भए तपार्इं बस्नुहोस्, म खाना बनाउने आज ।”

“पर्दैन ।”

‘केको पर्दैन, यति पनि सहयोग गर्न मिल्दैन कि के हो ?”

वास्तवमा यादवलाई कल्पनाको यो व्यवहारले निकै अप्ठेरोको अनुभूति भयो । उनी अलिक विवश पनि थिए । उनले कल्पनाको बारेमा आफैंसँग तर्क गरे । घरभित्र नसोधी पसेर भान्साको काममा लागेकी छे । खाना तयार गरिदिएकी छे । कुनै अर्को मान्छे आएर यो सबै देख्यो भने के भन्ला ? आफ्नै पत्नी आएर यो सबै देखिन् भने उनले के भनेर जवाफ दिने हो तिनलाई ? छोराछोरीले थाहा पाए भए भने अँझ के सोच्ने हुन् र के भन्ने हुन् । छरछिमेकीले ता अहिले नै थाहा पाएको जस्तो लाग्छ । हे फसाद्….!

उनका मनमा निकै लामो चिन्ता पर्यो । उनी यस फन्दाबाट कसरी छुट्ने हो भन्ने विषयमा निकै उपाय सोच्ने थाले । पाकेको भात खान र अरु काम गर्ने कुरा ता कता हरायो कता । उनको तत्कालीन समस्या भनेको इज्जतसँग पो देखिन गयो । यो इज्जत नै जाने समस्याबाट फुत्कने र इज्जत थाम्ने कुरामा उनले अरु केही सोच्न सकेनन् ।

घरमा एक्लै भएको अवस्था पारेर आएकी यो आइमाईको चरित्र पनि उति उत्तम छैन भन्ने उनले कता कता सुनेका पनि हुन् । उनको इज्जतको लिलामी पो हुने हो कि ? सोच्तै थिए ।

आफू भला भएपछि कसैको डर मान्नु पर्दैन यादव । तँ आफू सही ठाउँमा बस्, तेरो इज्जतलाई कसैले पनि डग्मगाउन सक्तैन । उनका अर्को मनले उनलाई ढाडस दियो । अनि अँझै अर्को मनले भन्यो तिनलाई– अघिसम्म भान्से भए पनि हुने कुरामा तेरो सोचाइ थियो अहिले तँलाई भान्से आफैं मिलेकी छे । के हो ? तँ अहिले के डराएको……….

उनी कल्पनाको ओरिपरिबाट फुत्कने उपायको खोजीमा लागे, सोच्न थाले । कल्पना भान्सामा राम्रो गरी खाना तयार गरिरहेकी छे । अनायास रुपमा आफ्नो घरभित्र पसेकी त्यस कल्पनाबाट फुत्कने प्रयासमा लाग्दालाग्दै एउटा नयाँ जुक्ति आयो उनका दिमागमा । घरको अर्को कोठामा गएर मोबाइलबाट आफ्नै घरको टेलिफोनमा रिङ गरे । भित्र कल्पनाको कानमा टेलिफोनको घन्टी बजेको आवाज पर्नासाथ उसले भनी–“सर, टेलिफोन आयो । उठाउनुहोस् । ”

उनले चाहेकै त्यही थियो । अनि टेलिफोन उठाएर ठुलो आवाजमा एकोहोरो कुरा गर्न थाले ।

“ए, हाकिम साहेब, हजुर नमस्कार ।…..म अहिले ता भान्सामा पो छु त, बिहानको पालो मेरो हो ।”

आइहाल्नु अरे ?…… हजुर । हजुर । प्रश्नपत्र तयार पारेकै छु । दुई गाँस खान टिपेर आउँछु नि हुन्न हजुर ?…… होइन हजुर । नखाईकनै आउनू, फेरि कतिखेर आइन्छ ? घरमा कोही छैन पनि ।

हजुर………… हजुर……….. हजुर…. । ए लौ बितेछ । ल नआई भएनछ । म तुरुन्तै आउँछु । आइहालें ।”

“अब त्यस्तो अप्ठेरो परेपछि ता ताला लाएरै भए पनि आउँछु । अब हजुरको आदेश भनेपछि मैले मान्नै पर्छ । म आएँ । घरमा ताला लाएर भए पनि आएँ हजुर ।… हस.”

फोनमा उनले एकोहोरो कुरा गरे । धन्न यो कुरा कल्पनाले बुझिन । उनी ढुक्क भए र हस्याङ्फस्याङ् गर्न थाले । त्यस एकोहोरो कुरा गराइबाट उनले अफिसमा तुरुन्तै जानुपर्ने बहाना बनाएका थिए कल्पनाका अघि । उसले पनि कुरा सुनेकै थिई ।

“लौ कल्पना, मैले ता अहिले नै अफिस जानुपर्ने भयो, यसो के के पाकेको छ छोपछाप पार । तिमीलाई चिया खाऊँ भन्न पनि पाइनँ । अफिसियल भएपछि यही हो ।” उनी गनगनाउँदै बैठकमा गएर लुगा लगाउन थाले । “तिमी पनि घरबाट निस्कने जुक्ति गर त, म ताला लाउँछु ।” अँझै उनले थपे ।

यसै बिच बैठक कोठामा लुगा फेर्दै गरेका यादवका छेउमा अचानक कल्पना आएर उभिई । यादवलाई सर्म लाग्यो । चाँडो चाँडो लुगा लगाउन थाले । अचानक मोजा लगाउन निहुरिएको बेला पारेर यादवजीको गालामाथि कल्पनाको तालो मुख आइपुग्यो । उनका नाकमा मिठो अत्तरको वास्ना अचानक छिर्यो । उनी विवश भए, त्यसबाट फुत्कने असफल प्रयत्न गर्दागर्दै कल्पनाले यादवजीलाई आफ्ना बाहुपाशमा बेरिसकी । कराउनु पनि भएन, चिच्याउनु पनि भएन, नफुत्कीकन पनि भएन, यादवजीलाई पर्नु समस्या पर्यो । कराउन् त उनैको इज्जत जाने डर । नकराउन् त यो आपत ! उनको होसले कामै गरेन । कल्पनाको शरीरभरिबाट भड्किलो अत्तरको वासना आइरहेको थियो, यादवजीलाई त्यस सुवासमा पनि दुर्गन्धको अनुभव भइरहेको थियो । यता कल्पना भने यादवजीको अनुहारभरि चुमिरहेकी थिई । मानौं कुनै भोको बाघले बल्ल बल्ल पाएको शिकार सासै नफेरी झम्टेर खाइरहेको छ । यता न उताको दोसाँधमा यादवजी त्रिशङ्कु भइसकेका थिए । खाटमा अधमरो भएर कुक्रुक्क परेर बसिरहे– विवश, निरीह । ‘यादव, लौ पार् बहाना घरबाट भाग्ने, कल्पनाबाट फुत्कने ।’ उनको अर्को मन भनिरहेको थियो ।

निकै बेरको चुमाइपछि कल्पनामा आफैं शैथिल्यता आएको बुझे यादवजीले ।

अनि अन्तमा आफूलाई कल्पनाले सम्हाली । यादव भने अवाक भइरहे । कल्पनाले भनी “सर, मेरो विद्यालयको अन्तर्वार्ता राम्रो हुनुपर्यो । मेरो रोल नं…… हो । कसै गरी मैलै पास हुनुपर्छ । म त्यति जान्दछु । मलाई थाहा छ– तपाईंकै हातमा छ मेरो पास हुनु र फेल हुनुमा । अनि मेरो हातमा छ तपाईंको इज्जत असल हुनु र खराब हुनुमा । आफैं बिचार गर्नु होला । म पास भएँ भने पनि छँदैछु र फेल भएँ भने ता झन्…। यो अहिलेको घटना मेरो स्थायी हुनका लागिको पहिलो किस्ता हो । तपाईंलाई अफिसबाट बोलावट भयो क्यारे । मैले भात दाल तयार पारिदिएकी छु । यसो एक गाँस टिपेर नै जानु होला ।”

उसको यो कुरा सुनेर यादवजी अँझै व्याकुल भए । पहिलो किस्ता त यस्तो छ भने अरु अरु किस्ता कस्ता कस्ता होलान् यादवजीको सोचाइका साथ उनका रौं पनि ठाडा भए, कल्पना भने उनका घरबाट निस्किइसकेकी थिई । उनी बैठकमा चेतनाशून्य झैं भएर घोरिइरहे ।

(कैलाली महेन्द्रनगर र धनगढीको मेरो हालैको सद्भाव यात्रामा त्यहाँका केही साथीभाइहरूले यो कथा पढ्न नपाएको गुनासो भएकाले मैले यसलाई मझेरीमा पुनः प्रसारण गरेको छु । मझेरीको सम्पादकमण्डलले अन्यथा नलिनुहोला भन्ने आशा गरेको छु ।)

(मझेरीमा पहिलो पटक प्रकाशित : 2013-09-21 10:24:22 +0900)

5 thoughts on “पहिलो किस्ता”

  1. कथाकार होम सुवेदीको पहिलो
    कथाकार होम सुवेदीको “पहिलो किस्ता” कथा पढेर सारै अानन्द लाग्यो । कथा समसामयिक छ ।

  2. पहिलो किस्ता दिनेले राम्रोसँग
    पहिलो किस्ता दिनेले राम्रोसँग दिएछ, लिनेले भने मन नलागि नलागि भए पनि लिएछ। राम्रो लाग्यो कथा ।

  3. कति सुन्दर मनोबैज्ञानिककथा
    कति सुन्दर मनोबैज्ञानिककथा रहेछ । धन्यवाद लेखकलाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *