भिरेर नित्य साथमा बजाइहिँड्छ गीत क्वै,
लिएर सेट हातमा लगाइहिँड्छ प्रीत क्वै
लगेर नित्य कानमा हलो जुवा त नार्छ क्वै
हजुर् हजुर् हवस् भनी घुमेर बात मार्छ क्वै ।
यता गयो मुवायलै उता छ मान एसको
गरीब होस् तथा धनी यही छ सान देशको
छ क्लासमा मुवायलै छ जाँचमा मुबायल
लिएर नोट हातमा सफल हुने मुबायल ।
छ सेट हातमा भने जुटाइदिन्छ वर्बधू
विवाह हुन्छ झट्ट नै लमी छ यो मुबायल
न पढ्नु पर्छ कत्ति नै छ सीम साथमा भने
असीम बन्छ इज्जतै भिर्यो मुबायलै भने ।
स्वतन्त्र प्रेममा सधैँ खुला छ यो मुबायल
मिलिक्क देश नै धनी बनाउने मुबायल
गरीब खानले मरे त अन्न हो मुबायल
अशक्त रोगले मरे छ ओखती मुबायल ।
छ घूस ख्वाउनै भने गरेर हेर डायल
छ देश मास्नुनै भने त अस्त्र हो मुबायल
उमेरले बुढो भए छ साथमा मुबायल
भने छछं गरी परी नचाउने मुबायल ।
स्वकीय श्रीमती त्यसै लत्याउने मुबायल
पराय स्त्रीहरू स्वयंं हत्याउने मुबायल
विभागमा पुग्यो भने रुँगाउने मुबायल
दिएन दच्छिना भने रुवाउने मुबायल ।
कुनै कतै असुन्दरी र प्रौढ नै भए पनि
छ सेट हातमा भने भनिन्छ च्वाँक हुन् तिनी
युवाहरू पिछा गरी घुटुक्क गर्दछन् जब
यही नयाँ विकास हो भनी बुझे भयो अब ।
कहीँ त शोडषीहरू हँसाउने मुबायल
कहीँ त एसमेसले फसाउने मुबायल
कि यौवना घरै भरी सजाउने मुबायल
कि ता विदेशमा लगी भँजाउने मुबायल ।
छ भात थालमा भने त दाल हो मुबायल
कतै धुसा न पाइने कतै सिरक् मुबायल
निदाउँदैन रातमा छ हातमा मुबायल
मुुसार्छ सुम्सुम्याउदै भनी प्रिंये ! मुबायल ।
यदाकदा घटी बढी भएछ भागमा भने
वरिष्ट दल्हरू स्वतः फुटाउने मुबायल
फुटे भनेर हर्ष क्यै नमान्नु रे‘छ वास्तब
हुटेलमा पसे भने जुटाउने मुबायल ।
सभा मिटिङ् जताततै घनक्क घन्कने यही
अनेक टोनमा बजी रनक्क रन्कने यही
कथा, पुराण आदिमा पसे भने त क्वै जब
टिटीँ टुटँु गर्यो कि ता जरुक्क उठ्दछन् तब ।
अज्ञात स्थानमा लगी करोड माग्छ यो कथम्
पुगेन माग लौ भने लिदैछ ज्यान यो स्वयम्
तथापि मानिसै न हो हुदैन कत्ति कायल
रहेछ जादुको छडी समान यो मुबायल ।
धनी छ देश भेषमा करोड रिन् छ केशमा
न खान क्यै छ साथमा तथापि सेट हातमा
युवा पति प्रदेशमा कि श्रीमती विदेशमा
लगी स्वतन्त्रले चराउदै छ यो मुबायल ।
कलेज जान्छ ठाँटमा लिएर सेट हातमा
तथापि ऊ गरीबझैँ कुुरा कथुर्छ बातमा
यदाकदा त दल्बलै लिएर हिंड्छ साथमा
पछि त्यही गरीव भै निशुल्क हुन्छ क्लासमा ।
चिठी बरा कता गइन् ? यहाँ त सौतिनी पसी
रजाइँ गर्दछे सदा सुटुक्क काखमा बसी
न प्रेम पत्र लेखिने न ता कुनै घरायसी
सबै कुरा सिध्याउने रहेछ यो मुबायल ।
गएल हुन्छ टावर त्यसै सकिन्छ पावर
सधैँ छ व्यस्त सर्किट प्रतीक भो मुबायल
धुरुक्क पार्छ ब्लफ्कल प्रसस्त हुन्छ मिस्कल
कि भन्छ नित्य स्वीचफ व्यथा भयो मुबायल ।
—कोमलप्रसाद पोखरेल
सुरुङ्गा, झापा

ramro
कविताले त मन जित्यो नि सर । साह्रै राम्रो ।