नेपाललाई सरक्कै घुमाउनु प¥यो
ए कोही छौ ?
नेपाललाई सरक्कै उचाल्ने क्षमता भएकाहरु ?
ए कोही ता छौ ?
नेपाललाई परक्कै बटार्न सक्ने पौरख भएकाहरु ?
आओ नेपाललाई उल्टाउनु प¥यो
आओ नेपाललाई पल्टाउनु प¥यो
आओ नेपालाई
एकातिरबाट अर्कातिर घुमाउनु प¥यो
दीर्घकालीन समस्या सल्टाउनुप¥यो ।
जुरुक्क उठाएर नेपाललाई
फनक्क घुमाउनु प¥यो ।
पूर्वलाई पश्चिम र पश्चिमलाई पूर्वतिर
मेचीलाई महाकाली र
महाकालीलाई मेचीतिर फर्काउनुप¥यो ।
ए कोही छौ ?
आओ नेपाललाई घुमाउनुप¥यो ।
साइड चेन्ज गर्नुप¥यो ।
व्यर्थको पुरानो अस्तित्वको भाङ्लो भिरेर के गर्नु ?
यो तिमीहरु सक्नेकै लागि भयो ।
सक्छौ भने अन्यत्र कतै लैजाओ
सक्तैनौ भने पनि
यसलाई कसै गरी घुमाओ ।
नसक्ने भए पनि केही ता गर्नै प¥यो
पूर्वलाई पश्चिम र पश्चिलाई पूर्व
हिमाललाई तराई र तराईलाई हिमालतिर पार्ने गरी
यताको उता र उताको यता हुने गरी
घुमाउनै प¥यो ।
ए कोही छौ ?
नेपाललाई उल्टाउनै प¥यो ।
सक्छौ भने आओ नेपाललाई उठाओ
अनि उठाएर युरोपतिर नै लैजाओ
अझै सक्छौ भने यसलाई अमेरिकाकै कुनै प्रान्तमा पु¥याओ
सक्दैनौ भने पनि
यसलाई यसै गरी राख्नु भएन
यसलाई नउल्टाई भएन ।
आओ चाँडो उल्टाओ पल्टाओ ।
काँकरभिट्टालाई महाकालीतिर नपारी भएन
महाकालीलाई मेचीतिर नपारी भएन
उल्टाएपछि हालको तराई
उत्तरतिर पर्न सक्छ
आजको तराईतिर हिमाल पर्न सक्छ
आजको हिमालतिर तराई पर्न सक्छ
अनि कोशी कर्णाली र गण्डकीको पानी
सरक्कै ह्वाङ्होतिर बग्न सक्छ ।
दक्षिणतिरको धक्काबाट बच्न
अलिकति सजिलो पनि पर्न सक्छ ।
हिमालले दक्षिणी सीमाना छेकेपछि
दक्षिणतिरबाट आउने हावा पनि केही रोकिन सक्छ
खटिरो निचोरी माग्न पनि
सरकारी भत्तो खाएर
लुसुक्क दक्षिणतिर जाने बानी पनि
केही छेकिन सक्छ ।
यसका धेरै फाइदा हुन सक्छन्
यसैले
मलाई चाहिएको छ
नेपाललाई सरक्कै उठाउने मान्छे
मलाई चाहिएको छ
नेपाललाई जुरुक्कै उचाल्ने मान्छे
मलाई चाहिएको छ
नेपाललाई फनक्क घुमाउने मान्छे
ए कोही छौ ?
जग्गेमा दुलहाले दुलहीलाई झैंं गरी
जुरुक्क उठाएर ठाउँ साटासाट गर्न सक्ने मान्छे ?
नेपाललाई परक्कै बटारेर उल्टाउने मान्छे ?
ए कोही छौ ?
नेपाललाई उल्टाउनु प¥यो
नेपाललाई पल्टाउनुप¥यो ।
ए कोही छौ ?
