लुकाएर राखेँ, दुखेका कहानी
झनै जीर्ण बन्दै, गयो जिन्दगानी
वियोगी भएरै, बिते वर्ष धेरै
सधैँ आँसु झार्दै, भिजाएँ सिरानी
सबै अङ्ग थाके, गयो स्फुर्ति सारा
झझल्को भयो लौ, बितेको जवानी
निले रोज रोजै, डसी वाध्यताले
मनै यो दशाको, बन्यो राजधानी
बिचैमा फले झैं, भएको छु आफू
नबुझ्दा जमाना, रहेँ अल्पज्ञानी
न सोचै छ ठूलो, न सप्ना सुनौलो
तिनै पो रहेछन्, यहाँ भाग्यमानी
६ अक्षरमा विश्राम
(भुजङ्गप्रयात छन्द)
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका
