Skip to content

नगरौँ लोभ जिन्दगी हाम्रो मर्नेछ


नगरौँ लोभ जिन्दगी हाम्रो, मर्नेछ कुनै दिन
रहन्न सधैँ प्रकृति फूल, झर्नेछ कुनै दिन

झुटको खेती टिक्दैन धेरै, लैजान्छ पैह्रोले
उर्लेर बाढी पापको कमाइ, हर्नेछ कुनै दिन

जे जति सक्छौँ उपकार गरौं, अशक्त दु:खीको
अवश्यमेव लोकले माया, गर्नेछ कुनै दिन

निष्ठुरी जाली मान्छेको कहिल्यै, नगर्नु भरोषा
आँखामा छारो हालेर खोला, तर्नेछ कुनै दिन

प्रेमले चोखो विरुवा रोपौँ, हृदयी वागमा
सद्भावरुपी फैलेर हाँगा, सर्नेछ कुनै दिन

संघर्ष गरौं, पौरखी बनौँ, निस्वार्थ सोचले
दैवले पनि खुसी र हाँसो, छर्नेछ कुनै दिन

अगाडि बढौँ भातृत्व भाव राखेर सबैमा
प्रेमले मात्रै संकष्ट सारा, टर्नेछ कुनै दिन

हितको सन्देश बोकेर आउँछ, ‘कोमल’ मनले
सत्य यो भए सबैको आँखा, पर्नेछ कुनै दिन

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-रोचेस्टर, न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *