म जिन्दगी चाहन्छु
ऊ मृत्यु चाहन्छ
म जिन्दगीको सून्दर तस्विरहरू कोर्न चाहन्छु
र सजाउन चाहन्छु सुन्दर सपनीहरूलाई मनका वगैचाभरि
तर ऊ पल भरमै सिसाझै टुटिदिन्छ
म फूलहरूसँगै जिन्दगीलाई फूलाउन चाहन्छु
तर ऊ ओइलिएर झरेका फूलहरूसँग यथार्थता खोज्छ
म मुस्कुराउन चाहन्छु प्रत्येक ऋतुहरूसँग
तर ऊ प्रत्येक ऋतुहरूसँग छोटिदै गएको समयको संकेत गर्छ
र मेरो हात समाएर आर्यघाटतिर डो–याउछ
जहा जलिरहेछन जिन्दगीका अवसानहरू
तर यस्मा पनि म त जिन्दगीको सुरुवात देख्छु
जहा जिन्दगीसँग पल भर पनि केही गुनासो छैन
त्यसैले जिन्दगी त्यही चिता माथि फुलेको सुन्दर फूल हो
जुन हेर्दा त अति सुन्दर छ तर भित्र भित्रै ऊ अति कुरुप छ ।
