हे क्यालेण्डरको प्रत्येक पानाले
एउटा संक्रान्तिको स्वागत गरेझैं
विरशम्शेरको धुकधुकी बोकेको
घण्टाघरबाट मैले सापट लिएको
अलिकति समयको स्वागत छ ।
नाँगिएको हाँगाहरूले कलिला
मुनाहरूको स्वागत गरेझैं
सुहागरातको सुन्दर क्षणबाट
मैले हाइज्याक गरेको
सानो सपनाको स्वागत छ ।
प्रत्येक रातको अन्धकार क्षितिजले
एउटा मनोरम बिहानीको स्वागत गरेझैं
श्रीमतीको अन्तर्दृष्टिबाट खोसेर
दिनभरि साँचेको न्यानो विश्वासको स्वागत छ ।
हो क्यालेण्डरको प्रत्येक पानाले
एउटा संक्रान्तिको स्वागत गरेझैं ।
