Skip to content

जूनकिरीको तुजुक


“अक्षर ब्रह्माण्ड एक हौँ, धन्यवाद ।”

जूनले कविता वाचन गरिरहँदा स्तब्ध रहेको दर्शक श्रोता दिर्घा एकाएक ब्यूँझियो र तालीको गदगडाहटले गुन्जायमान भयो । मंचाभिमुख दर्शक श्रोताहरूमा बादल, हिमाल, पहाड, बोट वृक्ष, र पशुपन्छीहरूले मन फुकाएर ताली पिटेका थिए ।

केही बेरको गदगडाहट पछि दर्शकदीर्घा शान्त भएको अवशर छोपी जूनकिरी उठ्यो । उसले जोशिलो स्वरमा भन्यो, “पागल प्रलाप कविता सुन्ने हामी पागल वा मुर्ख हौँ कि क्या हो ? घामको उज्यालो चोरेर चम्किएको यो पूर्वाग्रही जूनले हामीलाई पागल वा मुर्ख बनाउने प्रयास गरिरहेको यहाँहरूले पत्तै पाउनु भएन । यो फटाहा जूनले सायद घामको उज्यालो जस्तै कविता पनि चोरेर ल्याएको हुन सक्छ ।”

प्रतिक्रियामा जून मुसुक्क हाँसे मात्र । दर्शक श्रोताले जूनकिरीलाई अरु धेरै बोल्न दिएनन् ।

जूनको कवित्वबाट प्रभावित शुभेच्छुकहरूले जूनकिरीलाई घेरे, कठालोमा समाते र ख्याप्ख्याप पार्दै सोधे, “पागल मुर्ख भनेर कसलाई भनेको हँ ? जून आफैमा एउटा उज्यालो कविता हुन् । पागल मुर्ख त तँ होस् !”

यति भन्दै सूभेच्छूकहरूले जूनकिरीलाई कुट्न जमर्को गरेको देखेर जूनले भन्यो, “साथीहरू कृपया शान्त हुनुहोस, जूनकिरीले जे जान्नु भो त्यही भन्नु भो । मलाई उहाँको भनाईले कुनै फरक पर्दैन । भौतिक कार्यवाही कवि सभ्यताको प्रतिक होइन ।”

जूनको भनाईले त्यहाँ शान्ति छायो । परिस्थितिको नाजुकतालाई देखेर जूनकिरीलाई हौस्याउने चमेरा, ब्वाँसो र लाटोकोशेरो कति बेला टाप कसे पत्तै पाउन नसकेको जूनकिरीको अनुहार निलो कालो त छँदै थियो जूनको महानता देखेर आत्मग्लानिले पानी पानी भयो । त्यो दिन देखि जून उदाउँदा जूनकिरी गुफा कन्दरामा लुक्ने गर्न थाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *