Skip to content

साथी म परदेश


पिएको रक्सीको मात्रा
केही पिसाब
त केही आँसु बनी खस्दै
जब खत्तम हुन्छ नशा
कतै हराएको बालबझैं
तब,
यो मन कताकता
यस्तो सोच्न बाध्य हुन्छ
कि म फेरि
यी चरीहरू जस्तै एकदिन
आफ्नै गुडमा बास पाउँला त ?
या चुकाइदेला दैवले
मेरो जिन्दगीको हिसाब
यतै,
यो पराय देशमा ।

कहिलेकाहीँ मेरा साथीहरू
भित्र धेरै भित्रबाट निस्केको
फेरि निल्न नसकिने
खकार जस्तै आँसुलाई
जसोतसो आँखामै साँची
मलाई यसो भन्छन्
भैगो, नरो कान्छा यसरी त
आखिर हामी,
आफ्नै मर्जीले त आएका हौं यहाँ ।

खै कसरी भनु म उनीहरूलाई
साथी म यहाँ–यो देश
आफ्नै मर्जीले आएको होइन
बरु आएको हुँ त
म आफ्नो
बालबच्चा पाल्न आएको हुँ
बरु आएको हुँ त
म आफ्नो
घरको छानो टाल्न आएको हुँ

साथी म परदेश
आफ्नै मर्जीले आएको होइन
बरु आएको हुँ त
म साहुको
रिनको करले आएको हुँ
बरु आएको हुँ त
म कतै
भोकै मर्ने डरले आएको हुँ

तर,
साथी म परदेश
आफ्नै मर्जीले भने आएको होइन ।

सुशील शाह
कुपण्डोल, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *