Skip to content


मुहार छ उसको सधैँ फूलको डालीजस्तो
छिमेकी छ फूल टिपी बेच्ने मालीजस्तो ।

महफिलमा बसेपछि यस्तै हुन्छ सधैँ
कोही झारीजस्तो अनि कोही प्यालीजस्तो ।

थाप्लोमाथि हिउँ पर्दा बल्ल थाहा हुन्छ
बाढी आए खोलानाला नत्र नालीजस्तो ।

कल्पनाले मन हाम्रो भरिँदैन कैले
तिर्सनाले मन हुन्छ सधैँ खालीजस्तो ।

चिनाउनु कसरी खै आफूलाई आज
जात, थर भन्दाखेरि लाग्छ गालीजस्तो ।

‘मनु’ भन्या मान्छे नै हो तर पनि कस्तो ?
मलाई भने लाग्छ सधैँ ऊ नेपालीजस्तो ।

नेपाल साप्ताहिक
अंक: ५६५
२०७० आश्विन १३
Sep 29, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *