Skip to content


जरो खोज्दै छु म
पहेँलो लहराको ।

किन बगाइरहेछन् मान्छेहरू
पहेँलो रगत ?

पहेँला पसिना
पहेँलो स्वाद
आँसुहरू पहेँला
साराका सारा रंगहरू पहेँलिएका छन्
पहेँला विचारहरूले ।

सेता धोतीहरू पहेँला
काला कोटहरू पहेँला
काला टोपीहरू
कालो छाला
जुत्ताहरू पहेँला ।

खैराहरूको बहुलतामा
कालो टाउकोभित्र
गिदी पनि पहेँलै देखिइरहेछ ।

किन पहेँलिदै छन् दिनदिनै
दिनदिनै
राता मान्छेहरू ।

अचेल
सुन्दरीजलको पानी पनि
पहेँलै बगिरहेछ ।

कहिलेसम्म पिउँछौँ हामी
पहेँलो पानी ?

यसरी पहेँलिँदै गइरहेछ समय कि !

लाग्छ,
यो गोलो पृथ्वीको
०.०३ नं क्षेत्रमा
यो पुरातन पोखरीका
नीला भ्यागुताहरू र तिनका
संबिधान लेख्ने हातका राता छालाहरू
पहेँलो भएरै सुक्नेछन् ।

अँझै…
किन बगाइरहेछन् मान्छेहरू
पहेँलो रगत ।

नेपाल साप्ताहिक
अंक: ५६५
२०७० आश्विन १३
Sep 29, 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *