अहिलेसम्म उसले एकमुखे ‘रुद्राक्ष’ भेटेको छैन ।
– फगतको तृष्णा ।
– बेकारको लालसा ।
– दुःखी सपना ।
यस्तै सत्य हो उसको खोजाइ । मान्छेहरू भन्छन्, धेरै कमाउने लत र भूत सवार छ उसमा । सधैँ व्यग्र । सधैँ बेचैनी । सधैँ हतार । सधैँ बेफुर्सद । न कपाल काट्न भ्याउँछ ऊ । न त दाह्री सिनित्त पार्छ । न लुगा राम्रो लगाउँछ । न त जुत्ता नै टल्काउँछ । एउटा नसँगालिएको र छरपस्ट सपनाको खोजीमा भौँतारिन्छ ।
चिन्नुभएन उसलाई?
ऊ त्यो नुवाकोटे केसी क्या ।
जो एकपटक समातिएको थिएन नागमणिको व्यापारका क्रममा ! नागहरू नै लोपोन्मुख हुँदै गइरहेको परिवोशमा ऊ ‘मणि’ खोज्न हिँडेको रहेछ । मणि खोज्दाखोज्दै बरू उसले थुप्रै नागहरू भेट्यो । नागहरूको अनुसन्धाता ठहरियो । साँपहरूको विज्ञ मानियो । बालाजु चोकमा भेट हुँदा ऊ सबैलाई सुनाउँथ्यो,”सबै नागहरू भनेजस्ता विषालु हुँदैनन् रहेछ ।” गोमनको कथा सुनाउँथ्यो ऊ । गोमनलाई नागको राजा मान्थ्यो र भन्थ्यो,”राजा पनि कस्तो ठ्याक्कै हाम्रा माइला जस्तै… । डरलाग्दो र फणादार । मान्छे देख्नै नहुने फुँ फुँ गरिहाल्ने… ।” ऊ यस्तै भनिरहन्थ्यो । हामी सुनिरहन्थ्यौँ ।
ऊ डरलाग्दो परचीय विम्बमा डरलाग्दै काम गरेर केही गर्न चाहन्थ्यो सायद । डरलाग्दो कतिसम्म भने ऊ प्रायशः कानून बर्जित र दुर्लभ चीजहरूको खोजीमा हुन्थ्यो । कानून बर्जित, दुर्लभ र करबि करबि असम्भवप्रायः सपनाको बाली भित्र्याउन खोज्थ्यो ऊ ।
धेरै छन् यस्ता मान्छेहरू, जो हुँदै नहुने सपना खोज्छन् र त्यसको विपना सारमा हिँड्छन् । आगोको फूलहरूजस्तै… । पसिनाको मालाजस्तै… । अथवा शीतहरूको सौन्दर्य उगाउन चाहने कविझैँ । मान्छे वास्तवमा नै मान्छे हुनुको विवेकमा ताल्चा लगाएर ‘सर्वोच्चता’को गाडधन खोज्दो रहेछ । रस नपढेर महाकाव्य तयार गर्न चाहँदो रहेछ । मान्छे दाह्री-कपाल उमारेकै भरमा दार्शनिक हुँदो रहेछ कि क्यार !
मणि खोज्नुअघि उसले देब्रे शंख ल्याउने कुरा गरेको सुनिएको थियो । दाहिने शंखसँगै देब्रे हातको पाँच पैसा ढ्याक खोज्न दौडेको थियो । …पचभैय्याको हात… वनझाँक्रीको हड्डी… स्यालको सिङ… गौलोचनदेखि चाङ्काई सेककालीन नोट र सद्दाम हुसेनकालीन सिक्का खोजेर हिँड्थ्यो ऊ ।
हिँड्दाहिँड्दै उसले धेरै जोर जुत्ता फटायो । बाटा कम्पनीको जुत्ता मात्रै लगाउने उसले हवाई चप्पलका तुना जोडेर प्याट्ट… प्याट्ट… पार्न थाल्यो । मैले चिन्दा टि्रपल फाइभ चुरोट तान्थ्यो । अचेल ऊ खुकुरीमा झरेको छ । झर्दाझर्दै उसले सानसौकतका सबै खुड्किला झरसिक्यो । तैपनि ऊ क्लान्त, अधैर्य र ग्लानिमा छैन । ऊ हरेक बिहान जोसमा देखिन्छ । दिउँसोभर होसमै दौडधूप गर्छ । साँझ सायद रमरम हुँदो हो । र, त मर्निङ्वाक गरेर फ्रेस हुन्छ ।
ऊ बाँच्छ… जसरी आशा र अपेक्षाको दुवालीले माझीलाई बचाउँछ । ऊ बाँच्छ जसरी एउटा सुदूर भविष्यको प्राप्तिमा गन्तव्यहीनहरू बाँच्छन् । सायद यसै गरी ऊ बाँच्नेछ, जसरी अपेक्षित मान्छेहरू बाँच्छन् । ‘भगवान् जब देता है… छप्पर फाडके देता है…’ भन्दै र सोच्दै ऊ हिँडिरहेको हुनुपर्छ ।
आज एक ट्रक रक्तचन्दन समातियो, तातोपानी क्षेत्रमा । समाचार प्रवाहले कान के ठोक्किएको थियो, उसले हामीलाई भन्न भ्याएथ्यो,”देश बन्न नदिने भए यहाँका शासक-प्रशासक र पुलिस प्रशासनले ।” उसको दृष्टिमा यी दुर्लभ जडीबुटी, खोज र प्राप्तिहरूलाई वैधानिक तवरबाटै कारोबार गर्न दिनुपर्छ । ऊ भन्छ,”देश कानूनी संरक्षणले मात्रै बन्दैन । आसी जस्ता चीजहरूको व्यापार गर्न दिइनुपर्छ ।”
गजब लाग्छ तर्क र विचार ।
यहाँ सबैसँग तर्क छन् ।
सबैमा विचार छ ।
आ-आफ्नै विचार र तर्कमा कोही तस्करी गर्छन् । कसैलाई जागिर मन पर्छ । कोही उद्योगधन्दा चलाउँछन् । कसैले काटमारको बाटो समाएका छन् । शिक्षाको कारोबारदेखि अस्पतालको व्यापार भिन्न विचार र भिन्न तर्कले नै खुलेका हुन् । अपराध र अपराधीको जन्म पनि तर्क र विचारको विविधताले भएको हो ।
ऊ भन्दै छ । हामी सुन्दै छौँ ।
भनाइ र सुनाइमा तालमेल छैन । तर, चिया-नास्ता उसैले खुवाएको हो । खाएपछि नूनको केही सोझो गर्नैपर्यो, मन बांगो भए पनि ।
हाम्रो गफगाफले समाजको ऐना देखाएको छ । बिलकुल आ-आफ्नै अनुहार देखिने गरी । उसलाई उसैको अनुहार र व्यवहार मन परिरहेछ । हामीचाहिँ बादशाह नांगो भएको यथार्थ प्रकट गर्ने बालकसम्म बन्न सकिरहेका छैनौँ । हामी पार्टीहरूका आज्ञाकारी कार्यकर्ताझैँ… उसलाई सुनिरहेका छौँ ।
“ल भन्नूस् त तपाईंहरू ! मैले कहीँ कतै कसैलाई बलात्कार त गरेको छैन नि ! न हिंसाजन्य अपराध नै गरिरहेको छु । पुराना दुर्लभ र बहुमूल्य फेरि यत्तिकै फालिने र पाइने चीजहरू खोज्नु कसरी ‘क्राइम’ हुन्छ? यी चीजहरू खोज्दाखोज्दै मैले मेरै समय र इच्छा सकेँ त अरूको के टाउको दुखाइ?” उसले कुरो राख्यो । पेच हामीलाई पर्यो ।
उसको अगाडिका हामीहरू त्यस्ता पात्र र प्रवृत्ति थियौँ… जो ऊजस्ता मान्छेहरूका कुरा काटेर दिन बिताउँथ्यौँ ।
कुरा काट्दा हाम्रो तर्क हुन्थ्यो, ऊ र ऊजस्ता मान्छेहरू जो महँगा दुर्लभ मानिने यस्ता चीज खोजेर हिँड्न त हिँड्छन् तर यसबाट बनेका चाहिँ कोही भेटिँदैनन् । हिँड्नु मात्र मान्छेको गन्तव्य पटक्कै होइन भने निष्प्राप्तिमा मान्छेहरू किन हिँड्छन् होला । हामीले हाम्रा कुरा यसरी मन्थन गर्थ्यौं र प्रश्नहरू उठाउँथ्यौँ –
— के हर्केले भेट्यो त गौलोचन?
— अस्लाम भैय्याले मणि पायो त?
— पं जयनारायणले एकमुखे रुद्राक्ष भेटे त?
— फेरि लालकुमारीले बल्लबल्ल जम्मा गरेको आधा किलो यार्सागुम्बा त पुलिसले नै खाइदिएछन् ।
यस्तै यस्तै पराजीत सत्यमा मैले सम्झेँ, मेरा गाउँमा जितौरी बाँड्ने भुले सार्की दाइलाई ।
भुले दाइ हाम्रो गाउँ क्षेत्रका नामुद जुवाडे थिए । उनको प्रिय लत थियो कौडामा । चौका दाउ हान्थे उनी । प्रायः धेरै कुरा उनी भुल्थे तर चौकाको आठ ठाडा र चार घोप्टोचाहिँ उनी कौडा छोड्नासाथ चिन्थे । कौडा भुइँमा छोड्नासाथ उनी ‘चौका-मार्रा…’ भन्दै छातीमा बेजोडले मुड्की हान्थे । हरेक कुरामा अछूत हुने भुले दाइ जुवा खालमा भने छूत हुन्थे र दसैँ-तिहार लाग्दा नलाग्दै उनी कौडाको मैदानमा उत्रन्थे । यस्तैमा एकपटक उनको चौका दाउले सात हात आठ ठाडा पार्यो । उनी अनवरत छाती ठोक्दै पैसा सोहोरिरहेथे । ०४० सालताका यस खालबाट उनले २८ हजार रुपियाँ जितेका थिए । म बाजेको छोरो हुनुको नातामा राम्रो जितौरी पाउने भाग्यमानी ठहरिएँ । भुले दाइको जित र आफ्नो जितौरीको चर्चा महिनौँ चल्यो ।
केही महिनापछि भुले दाइ बिरामी परे । बन्दीपुरको हस्पिटलमा रोग पत्ता नलागेपछि उनी काठमाडौँ हानिए । वीर अस्पतालमा परीक्षणपछि थाहा भयो, उनको छातीमा रगत जमेको रहेछ । आफ्नै छातीमा मुड्की हान्दै २८ हजार मारेका भुले दाइले उपचार क्रममा ३२ हजार खर्चिनुपरेछ ।
त्यति मात्रै होइन, त्यही खालमा तिया दाउ हान्थे, मेरा एक मामा नाता पर्ने । मान्छेहरू उनलाई चिलाउने पाँडे भन्थे । पाँडे मामाको विशेषता के थियो भने उनको हातमा कौडा आउनासाथ उनको तिया दाउले दुई-चार हात मारिहाल्थ्यो । उनको अजेय शैलीलाई बुझेर मान्छेहरूले उनलाई पहिले कुर्सीमा बसेर कौडा हाने मात्रै खेल्न दिन्थे । त्यसो गर्दा उनले मारेको मार्यै गर्न थालेपछि एउटा चिलाउनेको बोटमुनि कौडाको खाल बनाएर पाँडे मामालाई त्यही रूखबाट कौडा छाड्नुपर्ने सर्त तय गरिएको थियो । जे र जसो गर्दा पनि उनले दुई-चार हात मारेरै छाड्थे ।
हो, कतिपय आफ्नै जितहरूले हारको पीडा दिन्छ, सायद यसरी । जितले कहिलेकाहीँ अपभ्रंशित पनि गर्दो रहेछ मान्छेलाई । तर, पराजीत पीडाबीच नुवाकोटे केसीहरूजस्ता के र कसरी जित देख्दै हिँड्दै छन्? मलाई अचम्म र अनौठो लाग्छ । सम्झँदा पेट र मन दुवै पोल्ने तथ्यमा मैले भनेँ,”भाइ ! जब तिम्रो खोजीमा कहीँ कतै प्राप्ति दृष्टिगोचर छैनन् भने किन सधैँ त्यसैमाथि दौडधूप?”
ऊ खिसिक्क हाँस्यो, एउटा आशा मुस्कुराएजस्तै । समीरका झोँक्काले पारिजात बुरुरु झारेजस्तै खुसीमा सुस्तरी उसले भन्यो,”दाइ ! अरूलाई त भन्दिनँ यो कुरा, तपाईंहरूलाई चाहिँ भन्छु । मेरा सपनाहरू तपाईंले लेख्ने कविताजस्तै हुन्, जसले प्राप्तिभन्दा ठूलो सन्तुष्टि दिन्छ मनभरि… मस्तिष्कभरि… ।”
– बेजोड र मार्मिक जवाफ दियो उसले ।
– पहिलोपटक थाहा पाएँ मैले । उसको अस्तव्यस्त जीवनशैलीभित्रको सपाट र सग्लो सौन्दर्य । उसका खोजीहरू मेरा कविताजस्तै बहुमूल्य रहेछन् ।
– उसका अपेक्षाहरू मेरो जस्तै सन्तुष्टि प्राप्तिको गन्तव्यका खातिर हिँडिरहेका रहेछन् ।
“तर भाइ …?” म बोल्न खोज्दै थिएँ । उसैले भन्यो,”तपाईंका कविताहरूमा छलछाम हुँदैनन् । खर्चबर्च केही लाग्दैनन् । तर, हाम्रो फिल्डमा त जहीँतहीँ बेइमानी छ । बदमासी छ । खर्च धेरै छन्… ।”
“कताबाट पुग्छ त यो खर्च गर्न?” म जिज्ञासु बन्छु ।
ऊ भन्छ,”पुग्ने कुरा त कताबाट पुगोस् नि? त्यो त पुर्याउने हो नि दाइ ! नगद भइन्जेल नगद सकेँ । सुनचाँदी, गरगहना बेचेँ । केही जमिन पनि थियो, त्यो पनि सक्दै छु… ।”
“सबै चीज सकेर पनि खोजिएको चीज पाइएन भने…. ।” मैले केही अकमकाउँदै आशंका देखाएँ ।
उसले सहज र सरल जवाफ दियो,”नपाउने चीज भए पो पाइँदैन दाइ ! पाइने चीज त ढिलो-चाँडो पाइन्छ, पाइन्छ ।”
– उसले केही ‘पाउने’ अति अत्मविश्वास देखायो, कुनै सुकर्ममा लागेको झैँ गरी । ऊ असार र मंसिर चक्रको कृषकजस्तै देखियो । ऊ फसलसँगै पसलको महत्त्वाकांक्षी व्यापारी शैलीमा उभियो । साह्रै प्रसन्न चित्त देखिएपछि मैले उसलाई एउटा कविता सुनाउन चाहेँ । उसले नम्र र विनोदी शैलीमा भन्यो,”दाइ ! मेरो खोजी र हजुरको कविता यति बहुमूल्य छन् कि जहीँतहीँ र जोसुकैलाई सुनाउनु हुन्न । समय खराब छ अरूको आँखा लाग्न सक्छ । बुझ्नुभो !”
अंक: ५६४
२०७० आश्विन ६
Sep 22, 2013
