नेपालगन्जजस्ता तराई भेगका कथालाई चपक्कै समाएर साहित्यिक रंगरोगन गर्ने नयनराज पाण्डेपछिल्लो समय घामकिरीसँगै उड्दै छन् । लेखक पाण्डे आफ्ना अघिल्ला केही कृतिमा खोट लगाउन नमिल्ने गरी सफल दरिए । विश्वव्यापीकरण, पुँजीवाद र उपभोक्तावादमाझ झाँगिएको प्रेमको व्यंग्यात्मक व्याख्या गर्ने उनको पछिल्लो उपन्यास कृति घामकिरीलाई पाठकले औसत मान्नेछन्, उलार र लूसँग तुलना गर्ने हो भने । स्वैरकल्पनाको उच्चतम प्रयोग, पुँजीवादी समाजमा हुर्किएको प्रेममाथि निकृष्ट व्यंग्य, भुलभुलैयायुक्त तथ्य र कथ्यको प्रयोगले उपन्यासलाई चाखलाग्दोचाहिँ बनाएका छन् ।
उपन्यासको नायक १४/१५ वर्षे ठिटो राजु (नयन) हो । कथामा उसको मष्तिष्कको मज्जाले चिरफार गरिएको छ । सन् १९८० तिरकी बलिउड स्टार पद्मिनी कोल्हापुरेसँगको उसको ‘स्वैरकाल्पनिक प्रेम’ले उसलाई गतिलो पाठ सिकाउँछ । कल्पनामा डुबेको राजुको दिमागमा पद्मिनीले मज्जाले डेरा जमाएर बस्छे । राजु उससँगको आशक्तिमा लीन हुन्छ । अनि, ऊ बाँधिन्छ घामकिरीझैँ धागोमा । र, अनुभव गर्छ, इन्द्रधनुषी आकाशमा निस्फिक्री उडेको ! त्यही आशक्तिले उसलाई बम्बइसम्मको कष्टकर यात्राका लागि बाध्य बनाउँछ । राजुको बम्बई यात्रासँगै उपन्यास तीव्र गतिमा गुड्न थाल्छ, त्यहाँको मेट्रो ट्रेनकै गतिमा । ठूलो महत्त्वाकांक्षाका साथ ऊ बम्बई प्रस्थान गर्छ । यात्रामा ठूला कठिनाइ झेल्छ । ट्रेन स्टेसनमा नमज्जाको दुःखसँगै उसको बम्बई सपना तुहिन थाल्छ । क्याथरनि बुको बिहाइन्ड दी ब्युटिफुल फरएभर उपन्यासलगायत थुप्रै हिन्दी सिनेमाको झल्को दिने गरी पुस्तकमा बम्बईको झुपडपट्टीको दर्दनाक कथा भनिएको छ । बम्बईमा सुपरस्टार बन्ने लक्ष्यसहित ट्रेनलाई सपनाको भारी बोकाएर पसेको राजु एक प्रतिनीधि पात्र हो । सुपरस्टार बन्ने उद्देश्यसहित बम्बई पसेका लाखौँ युवाको वास्तविक प्रतिनीधि बन्न राजु सक्षम छ । उसले त्यहाँ भेटेका पात्रहरू राजीव, टिंकु, थापा, शिवनाथ, रञ्जिता, चम्पक आदि पनि दुखियाहरू हुन् । प्रत्येकको आँखामा सपना तैरिरहेको हुन्छ । प्रत्येक पात्रहरू एउटा चामत्कारकि चिट्ठाको पर्खाइमा हुन्छन् । तर, उनीहरूलाई थाहा हुँदैन, चिट्ठाको अधकट्टी अरूकै हातमा हुन्छ । उनीहरू सबै एउटा अनौठो भ्रममा आफ्नो जिजीविषा बाँचिरहेका छन्, जसको चंगुलबाट निस्कन उनीहरूले मृत्यु नै कुर्नुपर्ने हुन्छ !
उपन्यासमा गाँसिएका उपकथाहरूले मूलकथालाई ओझेलमा पारेका छन् । पद्मिनी र राजुको प्रेम उपन्यासको मूलकथा भए पनि बीच खण्डतिर जाँदा लेखकले त्यही मूलकथाको जरो समातेर अघि बढ्न सकेका छैनन् । धेरै ठाउँमा चिप्लिएका छन् । जोडजाड पारिएका उपकथाहरू ठीकठाक छन्, एकदमै फिल्मी शैलीका । प्रयुक्त विम्बहरू उपन्यासका शक्तिशाली प्रयोगहरू हुन् । वस्तु र सेवाको युग, पुँजीवादी युगका प्रेमकथाहरू आफैँमा कसरी एउटा झूट र भुलभुलैया हुन्, त्यसले आम सोझासीधा मानिसलाई सधैँभर िकसरी घनचक्करमा पारिरहन्छन्, त्यसबारे कथाले धेरैथोक बताएको छ । प्रेम असफल भएपछि हवाईजहाज बनाएर उडाइएका प्रेमपत्रहरूको विम्ब पुँजीवादी प्रेमको धज्जी उडाइएको सशक्त प्रमाण हो । उपन्यासको अन्त्यमा पद्मिनीमार्फत बकाइएको छ तीव्र पुँजीवादी युगमा मानिस कसरी अरूको इच्छामा बाँच्न अभिशप्त हुन्छ । पद्मिनीले राजुसँग भन्छे,”म तिम्री प्रेमिका भएर आउन सक्दिनँ राजु । हेर त मेरा आँखामा, मेरा आँखाका दृश्यहरूलाई रेबन सनग्लासले प्रायोजित गरेको छ । तिमीले बादलको उपमा दिने मेरो केशराशिलाई प्यान्टिन प्रो भीले प्रायोजित गरेको छ ।” ऊ निराश भावमा भन्दै जान्छे, उसको मुस्कानलाई जोनीवाकरले किनेको हो, हत्केलाहरू महँगो कारको स्टेयरङि् घुमाउन अनुबन्धित छन् । उसको हाँसो, हेराइ, बोली, हिँडाइहरू मल्टिनेसनल कम्पनीका उत्पादनका लागि बाँधिएका छन् । यसर्थ, हरेक कुरा पैसासँग दाँजिएको यो मेसिनयुगमा मानिस कसरी आफ्ना मनका घामकिरीहरूसँग स्वच्छन्द उडान भर्नबाट असक्षम छ, त्यसको सही र वास्तविक चित्रण कथामा गरिएको छ ।
घामकिरीलाई उत्कृष्ट कृति भन्न मिल्दैन । निकृष्ट पनि भन्न मिल्दैन । यो औसत कृति हो । यससँग अब्बल हुनुका प्रशस्त गुण छन् र अब्बल नहुनुका गुण पनि छन् । स्वैरकल्पनाको प्रयोग, कथावाचनमा लोभलाग्दो शैली, पात्रहरूको सफल चयन र तिनको प्रस्तुतिकरण, पाठक र उपन्यासभित्रकै पात्रहरूलाई भुलभुलैयामा पार्ने घटना वर्णनहरू रोमाञ्चक छन् । त्यसै गरी प्रस्तुत केही-केही वान लाइनरहरूको प्रयोग पनि उत्कृष्ट लाग्छ । उपन्यासको सुरुआती पृष्ठहरूले पाठकलाई तान्नै सक्दैनन् । बल गरेर पढ्दै जाँदा मूल कथाले गति लिन थालेपछि बल्ल पाठक तानिन्छ । उपन्यासको सुरुआत चुम्बकीय नभए लेखकका लागि त्यो विस्फोटक बन्न सक्छ । इडन गार्डेन, अघोरी बाबा र राजा भर्तृहरिको अनावश्यक वर्णनले पाठकलाई साह्रै निराश बनाउँछ । बीचबीचमा बोल्ड अक्षरमा प्रस्तुत वर्णनहरू पनि अरुचिकर छन् । ती सूचना एकाध ठाउँमा बाहेक अन्य ठाउँमा झिँझो लाग्दा मात्र छन् । त्यसै गरी थुप्रै ठाउँमा प्रेमको एकोहोरो आलापले पनि पाठकलाई पटक्कै तान्न सक्दैनन् । यस अर्थमा उपन्यासको एक तृतीयांश भागमा लफ्फाजी मात्र छन् । उडन्ते गफ शैलीका । र, बाँकी दुई भागचाहिँ अब्बल छन् । यो उपन्यास प्रयोगशील उपन्यास हो । यद्यपि, आफ्नो प्रयोगशीलतामा लेखक महत्त्वाकांक्षी देखिएका छन् । स्वैरकल्पनाको व्यापक प्रयोगले धेरैजसो ठाउँमा गोलमटोलको अवस्था उत्पन्न गराउँछ भने कहीँकतै त्यसैको प्रयोगले पाठकलाई पात्रले अनुभव गरेको घटना ‘भएको हो कि होइन !’ को अवस्थाले चाहिँ कौतूहल जगाएको छ । साँच्चै अघिल्ला दुई कृतिमा लेखक पाण्डेले गरेको चमत्कार यसमा किन गर्न सकेनन् ?
-सीपी अर्याल
नेपाल साप्ताहिक
अंक: ५६४
२०७० आश्विन ६
Sep 22, 2013
