Skip to content


घुक्ने काम उसको अखवारले खोसे
ढुक्ने काममा शिक्षित बेकार कसिए
झै-झगडाको दायित्व साहित्यकारले टिपे
पुच्छर हल्लाउनेमा प्रशासक खटिए
अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो
मेरो कुकुर स्वर्गे भयो !

अब मूसाहरूले चारकोसे झाडीमा डढेलो लाउन्
या बिरालाले त्यसकमा सिंहदरबार सेकाउन्
मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन
अब बुद्धको आँखा उडाएर गिद्धहरूले समुद्र तारुन्
या सयौं बाज मिलेर एउटा परेवा मारुन्
मेरो कुकुरले चियो गर्ने छैन
ऊ त ठाडै भीमसेन थापाको सती गयो
मेरो कुकुर स्वर्गे भयो !

आऊ अब शोक सभा गरौं
शोक प्रस्ताव यहाँ रेडिमेड छ
दिवंगत कुकुरको स्मारक बनाउन
एक लाख डलरको इस्टमेट छ
मामा भानिज हो ! लौ अब एउटा टेण्डर देओ
स्मारक कालिमाटीको भए पनि हुन्छ
तर माटो किन्न हङकङ जानै पर्छ
यो निर्माण कार्यमा सम्बन्धितहरूले
अलि-अलि पर्साद खानै पर्छ
जाने त गयो गै गयो
मेरो कुकुर स्वर्गे भयो !

कि ए वीर नेपाली हो आओ अब
यो मृत कुकुरको जुँघा उखेलौं
हामी सबका बिरामहरू लुकाउन
यो मूर्दाको टाउको फोरौं
साँच्चै भनेको मैंले, नपत्याए सी.आइ.डी. ज्यूलाई सोध्नोस्
बडा हाकिमले घूस ज्यूनार हुँदा
यसले रिकावी टोकेको थियो
उपहाकिमले जङ्गबहादुरको घोडा मोलाउँदा
यसले रित्तो बोतल बोकेको थियो
त्यति मात्र कहाँ हो र ?
भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला
यो असभ्य गँवारले ख्वाङ् ख्वाङ् खोकेको थियो
अँझ भनूँ भने पाण्डवहरू बैकुण्ठ जाँदा
यही कुकुरको जिजु बाजेले द्रौपदीको पिछा गरेको थियो
रुसले रकेट उडाएको बेला
यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो
भन्नोस् अब जे भने पनि ऊ नसुन्ने भयो
मेरो कुकुर स्वर्गे भयो !

भीमसेन स्तम्भ मुनि गुँडुल्किएर
स्वामीभक्तिको साधना गर्ने यो कुत्तो
भीम मल्लको चिहान खोस्रर
बफादारीको विगुत लगाउने यो खिच्चो
साँच्चै मूर्ख थियो महामूर्ख
त्यसैले त पुण्यात्माहरूको शिकार भयो
उद्धार समितिको कारले किचेर
मेरो कुकुर स्वर्गे भयो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *