दृश्यः पहिलो
(मञ्चः खरको छानो उडे जस्तो देखिने भित्तापनि भत्किन थालेजस्तो देखिन एक दुई तले कच्ची घर । अगाडितिर सानो बरण्डा)
(कोठाभित्र हर्के छ । साह्रै बेचैन देखिन्छ । यत्रतत्र छरिएका सरसमान छन् । केही झोलामा राख्दै छ ।)
(धनेको प्रवेश)
धनेः (उमेर साठी पैसठ्ठी, कपाल सेताम्य भइसकेको, अनुहारभरि मुजा नै मुजा छन् ।) (गहिरो स्वरमा) जाने नै भइस ?
हर्केः (झर्काे स्वरमा) अँ जानछु । यो धुलोमा मर्नुभन्दा तँ जान्छु ।
धनेः काँ जान्छन् यो बुढेसकालमा एक्लो छोडी ? तैले सोचेझै छैन दुन्याँ । आफ्नोले त साथ छोड्छन् भने परायको के भरोसा ? नजाउँ बाबु ।
हर्केः (झर्कर) फिक्रि छैन । यो माटोमा पनि मर्ने नै हुँ, याँ को अमर हुन्छ ? ……… जान्छु, चारै दिशा खुला छ, जता मन लाग्छ त्यतै जान्छु, तर यहाँबाट जान्छु ।।।।।
(झोला तयार पारिसक्छ)
युवतीको प्रवेश
युवती ः(उमेर त्यस्तै साठी आसपास, कयौ दिनकी भोकी झै आङमा फोहर मैला, लुगा, निकै बिरामी परेझै देखिने) न जाउँ बाबु, हामी दुई बेसहारालाई आगोमा राखी न जाँ । न छोड बाबु, हाम्लाई नछोड । (झोला समातेर रोक्न खोज्छिन्)
हर्केः (अटेर भएर) भत्किए भत्कियोस् यो घरले ओत नै कहिले दियो । न घाम हुँदा छाया दिन्छ, न पानी पर्दा सहारा नै हुन्छ । यस्तो घर हुनु नहुनु को के अर्थ ? (घरका भित्तालाई दुई चार लाता हुन्छ) यो घर….. (फेरी लाता हान्छ) न भत्किए मै भत्काइ दिन्छु ।
(नेपथ्यबाट आवाज आउँछ)
नेपथ्यः हर्के, ए हर्के छिटो आइज, हर्के
हर्केः (नेपथ्यतिर) ए पर्खी, पर्खी म आए ….. (जान खोज्छ)
धनेः (आँशुको खोला परेलीमा साँध्दै) जाने नै भइस जाँ, कहिले फर्कि नआउनु । (रोदन साथ) न आउनु, न आउनु यो घरमा, यो धुलोमा, यो माटोमा …. (आवाज रोकिदै जान्छ)
(नेपथ्यबाट फेरि आवाज आउछ)
नेपथ्यः हर्के, ए हर्के हाम्त जाँदै छौं । छिटो आइज् ।
हर्केः (नेपथ्यतिर) रुक रुक आए । (जान खोज्छ)
(मास्टर मास्टर्नीको प्रवेश)
मास्टरः (हर्केको झोला हेर्दै) कतै जादै छौं हर्क ?
हर्केः (शिर झुकाउछ, केही बोल्दैन)
मास्टरः हर्क कतै जाँदै छ काका ?
धनेः आज यै माटो त्यसलाई बोझ भो बाबु ।
मास्टरः (स्पष्ट हुन खोज्दै) जाँदै छ ? कहाँ ?
युवतीः जान्छ यो घर छोडी, धेरै टाढा, धेरै टाढा…
मास्टर्नीः कहाँ जाँदै छौ हर्क ?
हर्केः यो धुलो माटोबाट धेरै टाढा जाँदै छु, एक छाक कसो नटारिएला ?यहाँ भोक भोकै को मर्छ ?
मास्टर्नीः स्वर्गीय सपना देखेर के गर्छाै हर्क, बाँच्नु पर्ने यही यथार्थमा हो । अरुका ठूला ठूला महलका सपना देख्नुभन्दा आफ्नै धुलोमाटो जाति । गर्न सके यही माटो स्वर्ग हो, गर्यौ भने यही धुलोमा सुन फल्छ, स्वर्गीय आनन्द मिल्छ ।
मास्टरः (धनेलाई सहारा दिँदै) नरोऊ काका, नरोऊ । (हर्केतिर) बाआमालाई एक्लो छोडी जान्छौ हर्क, तिमीप्रति कति आशा छन्, कति सपना छन् । तिमी ती आशा सपना सबै भताभुङ्ग पारेर जान्छौ त ? कति दुख कष्ट सहेर तिमीलाई जन्माए, हुर्काेए, पढाए लेखाए, आज तिमी नै तिन्लाई छोडेर जाँदै छौं ? यो अवस्थामा यी बुढाबुढीलाई छोडेर गयौ भने हरेक आमाले आफ्नो गर्भलाई कोस्नेछिन्, हरेक बुबाले धिक्कार्नेछन् ।
(हर्केलाई खोज्न उसको साथी नवीन आइपुग्छ)
नवीनः (टाढैबाट) तँ जाँदैन ?
हर्केः (झोला समात्छ) ए हिड् आए ।
(नवीन नजिकै पुग्छ । मास्टर मास्टर्नीसँग आँखा जुध्छ, शिर झुकाउछ)
मास्टरः जति टाढा जान्छौं जाऊँ, उडने चरीलाई कस्ले छेक्न सक्छ ? तर याद राख एक दिन यही माटोमा आउनुपर्नेछ, यही धुलोमा मिल्नुपर्नेछ, घर भत्कियो भनेर ओतको खोजीमा जाँदै छौं, तर एक दिन यही घर तिम्लाई ओत दिनेछ ।
(हर्के र नवीन जान्छन्)
आफ्नो घर भत्कियो भनेर परायसँग शरण माग्नु भन्दा, भत्किएको घर सम्भाल्नु नै जाति (सबै जना हर्के र नवीन गएको बाटो हेर्छन्)
दृश्यः दोस्रो
शहरको एउटा सानो कमरा । दुई जना नेपाली बिर्खे र नवीन यताउता भौतारिदै छन् । साह्रै चिन्तित छन् । दुवैका आँकामा क्षोभको चञ्चलता छ । पलपल ढोकातिर हेछ्रन)
बिर्खेः (ढोकातिर हेर्दै) अैले सम्मन् आएन ? के भयो होला ?..
नवीनः मलाई त चिन्ता लाग्दैछ, कही..
बिर्खेः केही हुन्न, केही हुन्न…
नवीनः केही तलमाथि भयो भने घर कसरी जाने ? ती बुढा बा आमालाई के भन्ने ? मेरो हर्के कहाँ छ भने के भन्ने ? (साह्रै निरास देखिन्छन्)
बिर्खेः ऊ आउने आशामा पलपल बाँचेका होलान् । अन्तीम क्षणमा ऊ हेर्न नयन तर्सिएका होलान् । बिहानी झुल्के किरण छाउँदा बाटो हेर्दा हुन– मेरो छोरो आउँछ, मेरो हर्के आउछ भन्दै बाटो हेर्दै होलान् । हाम्ले त्यो गाउँमा जाँदा, हर्के नदेख्दा के होला ? नवीन के भन्ने, के भन्ने नवीन–मेरो छोरो खैभन्दा ?
नवीनः कस्तो फन्दामा पर्यौ ? स्वर्ग होला भनेर आयौं, यो त नर्क रहेछ । यो बेला हर्केलाई छुटाउन सके त आजै गाउँ जान्थ्यौं ? यहाँका महलभन्दा त्यो माटोमा नै रमेका थियौं । एक छाक भोकै भएपनि खुसी खुसी बाँचेका त थियौ ? यहाँको जस्तो जालझेल त थिएन ।
बिर्खेः त्यो सब हर्केलाई फसाउने षडयन्त्र हो, धरोधर्म, त्यो रात हर्के मैसँग थियो । केटी देख्दा उसै तर्किन्थ्यो हर्के, बलात्कार … अँह,
नवीनः हाम्लाई थाहा छ, तर हाम्रो आवाज कस्ले सुन्ने ? हर्के निर्दोष छ, कसले भन्ने ? वकालत गरिदिने कस्ले ?
(छिटो छिटो गतिमा सास फेर्दै राजुको प्रवेश)
नवीनः (राजुलाई हेर्दै) के भो ? के भो राजु वकीलले के भने ? अध्यक्ष ज्यूलाई भेट्यौ ? हर्के कस्तो छ ?
राजुः मरे, हाम्रो सपना, हाम्रो आशा सबै मरे । केही बाँकिरहेन् ।
बिर्खेः किन के भो ? राजु….
राजुः (रुन थाल्छ)
नवीन र बिर्खेः राजु, ए राजु, राजु…..
नवीनः हर्केलाई छोड्दैनन् …. वकीलले के भने?
राजुः बलात्कार पछि हत्याको केश दर्ज छ रे, अब बचाउन सकिदैन ।
बिर्खेः ऊ निर्दोष छ भनेनौं ?
राजुः मेरो आवाज कस्ले सुन्ने ? ऊ निर्दोष छ, हाम्लाई थाहा छ, तर सालेहरूले ऊ दोषी भएका सुबुत बनाइसके, त्यो होटलको मालिक, वकील, हत्यारा, डक्टर सबै मिलिसके, सबैलाई किनिसक्यो…
नवीनः होटल मालिक, वकील, डक्टर सबैलाई किनेपनि सत्यलाई किन्न सक्दैनन् । सत्य सधैं सत्य नै रहन्छ, रहनेछ । हर्के निर्दोष छ, हर्के निर्दोष छ, हर्के निर्दोष छ.. (त्यस्तै अर्धपागलझै नवीन बाहिर जान्छ)
बिर्खे र राजुः नवीन, एक नवीन, नवीन (ढोकासम्म जान्छन् तर नवीन गइसकेको हुन्छ)ं
बिर्खेः फेरि यो काँ गयो ? कसले के गर्ने हो ? बौलायो, राजु जाँ, कहाँ गयो हेरेर आउँ, फेरि सकले फसाउने हो ? यहाँ त सासै फेर्न गाह्रो भो, सासै फेरेपनि कसेले के दोष लाउने हुन, राजु जाँ त..
(राजु जान्छ)
बिर्खेः (कविताको शैलीमा)
शहरको यो जालझेलभन्दा
गाउँकै धुलोमाटो रमाइलो
एक छाक भोकै एक छाक मकै भएपनि
गाउँकै धुलो माटो घमाइलो ।
गाउँकै धुलोमाटो रमाइलो
आफ्नो खुसी, आफ्नो हाँसो
आफ्नो भाषा, आफ्नो भेष
किन आयौ यो बिरानोदेश ?
भोकै भएपनि बाँचेका हुन्थ्यौ
नाङ्गै भएपनि रमेका हुन्थ्यौ
जहाँ गए नि, जस्तो गरे नि
स्वतन्त्रता हुन्थ्यो, …..
(कसैले ढोका ढक्ढक्याउछ)
बिर्खेः कौन है ?
बाहरिबाटः राजु इधर बैठ्ते हें क्या ?
बिर्खेः कौन राजु ?
बाहिरबाटः एक नेपाली हैं
(बिर्खे ढोका खोल्छ)
(नेपाली मूलको एक युवकको प्रवेश)
बिर्खेः नेपाली हौं ?
युवकः नेपाली नै हु । राजु छैन ।
बिर्खेः बाहिर गाँछ, तपाईको परिचय ?
युवकः म ? रमेश । नेपाल–भारत एकता मञ्चको अध्यक्ष । राजुसँग भेट भा थ्यो, कै को नेपाली के केशमा फसेको छ भन्दैथ्यो, त्यसैका सिलसिलामा उसलाई भेट्न आएको…
बिर्खेः त्यो हाम्रो साथी हर्के हो । सर ऊ निर्दोष छ । त्यो रात हर्के र मसँगै थियो । रेष्टुरेण्टमा सर्भिस गर्दै थियौ, एक्कासी तीन चार जनाको हुल आयो, त्यो केटीलाई समातेर बाहिर लगे, हर्केले बचाउने प्रयास गर्यो, तर सकेन् । दोस्रो दिन पुलिस आयो हर्केलाई समातेर लगे । त्यो दिनदेखि हर्केलाई भेट्नै दिएको छैन, हर्के कहाँ छ, कस्तो छ केही थाह छैन । सर हर्केलाई बचाइदिनु पर्यो, ऊ निर्दोष छ ….
रमेशः यो केशलाई मैले नजिकबाट हेरिसके, सबै सवुत हर्केको विपक्षमा छन् । तिम्लाई थाह छैन, त्यो ग्याङ्गको नाइके त्यही होटलबालाको छोरा हो, उसले सबैलाई किनिसक्यो, सबै हर्केको विपक्षमा छन् । अब मुस्किल छ । बलात्कारपछि उसको हत्या भएको छ ।
बिर्खेः ऊ निर्दोष छ सर, ऊ निर्दोष…
रमेशः दोषीनिर्दोषी छुट्याउने काम अदालतको हो, हाम्रो होइन ।
बिर्खेः उसो भए एउटा निर्दोष फासी चढ्ने भो, हामी रमिते भयौ ?
रमेशः तिम्रो भावना म बुझ्छु, तर हामी यो केश लड्न सक्दैनौं । हर्के निर्दोष छ भन्ने सबुत हामीसँग एक छैन, तर हर्के दोषी छ भन्ने सबुत उनीसँग दश छन् ।
बिर्खेः झुट, सब झुट हो । म छु, म प्रत्यक्षदर्शी हुँ, हर्के निर्दोष छ भन्ने सबुत मसँग छ । यो सब त्यो होटलबालाको चाल हो । उसैले फसायो ।
(राजुको प्रवेश)
राजुः (रमेशलाई देखेर) सर नमस्कार ! तपाई आउनु भो हाम्रो आशा जाग्यो । सर हर्के निर्दोष छ हैन ।
रमेशः मलाई माफ गर राजु, मैले केही गर्न सक्दैन । (जान्छ)
राजुः (बिर्खेसंग) यो पनि बिक्यो, यो पनि बिक्यो.. (रमेश गएको बाटो देखाउछ)
बिर्खेः यहाँ सत्य त बेचिन्छ भने मान्छेको के भर ? नवीनलाई भेट्यौ ?
राजुः अँह, कहाँ गयो कहाँ …..
बिर्खेः बोकापुन्तरा बाँध राजु, अब हाम्ले यहाँ बस्नु ठिक छैन । कस्ले कुन बेला फसाउने हो ठेगान छैन । अैले जानुपर्छ ..
राजुः हर्केलाई छोडेर ।
बिर्खेः मर्यो, अब मर्यो । हर्केको आशा छोडिदेऊ । ऊ बाँच्ने छैन ।
राजुः गाउँमा के भन्ने ?
बिर्खेः गाउँमा ? हामी आउने आशामा बाँचेका होलान, हामी आउने आशामा मर्नेछन् ।
राजुः मतलब ?
बिर्खेः त्यो गाउँमा कसरी जाने ? मलाई साहस छैन । त्यो माटोको श्राव लाग्यो, ती बुढाबुढीका आश लागे ।
राजुः फेरि कहाँ जाने त ?
बिर्खेः जिन्दगीले जहाँ जहाँ लग्छ, त्यही जाने …….
(आत्तिदै नवीनको प्रवेश)
बिर्खेः काँ थ्यौ नवीन ।
नवीनः (अर्धपागलझै) मर्यो, मर्यो, उनीहरूले मारे, मारे (रुन्छ)
राजुः को मर्यो, कस्ले मार्यो ? नवीन, को मर्यो ।
नवीनः हर्के, हर्के, मर्यो हर्के । हर्केलाई मारे …
बिर्खेः यो के भनेको नवीन, हर्केलाई कसले मार्यो ? नवीन
नवीनः पुलिसको कुटाइ सहन नसकेर हर्केले पासो लगायो, हर्केलाई मारे …. (रन्छ)
राजुः किन नै आयौ यो नर्कमा ? हे भगवान हाम्लाई माफ गरिदेऊ । हाम्ले बिरायौ …. अब गाउँमा मुख कसरी देआउने ।
बिर्खेः म त गाउँ जान्न ।
राजुः म पनि जान्न । मर्छु यतै, अब गाउँ जान्न । कसरी जाने ? के मुख देखाउने ?
नवीनः आफ्नो गाउँ नगएर कहाँ जाने ?
राजुः कसरी जाने ? ती बुढाबुढीलाई के भनौला ? अँह म त जान्न ?
नवीनः भन्छन् आमाबुबाको मन ठुलो हुन्छ । तिन्का पाउ परेर क्षमा मागौला । एक हर्के गुमायौ, अब अरु हर्के गुमाउनु छैन, एक घर बाँझो भयो, अब अरु घर बाँझो हुनु दिनुछैन । जाने गाउँ नै जाने, भत्किएका छन् सजाउनु छ, धुलोमा नै रमाउनु छ । अब अर्काे घर भत्किनु हुँदैन ।
(पर्दा खस्छ)
