Skip to content

लक्ष्मीजयन्ती र सयपत्रि राष्ट्रिय सम्मान

  • by


यति खेर नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सबैको घर आंगनमा आएको छ । फूल र दीपहरूको चाड तिहारको आगमनलाई सबै नेपालीहरूले स्वागत गरिरहेका छन । यसो त तिहारको आगनमनसँगै नेपाली साहित्य जगतका एक हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जन्मजयन्तीको समेत स्मरण गराउँदछ । वि.स १९६६ कार्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका महाकवि देवकोटाको स्मरण स्वरुप काभ्रेको सयपत्रि प्रतिष्ठान नेपालले हरेक बर्ष नेपाली साहित्य क्षेत्रमा अमूल्य योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सयपत्रि राष्ट्रिय सम्मानद्वारा सम्मान गर्दै आएको छ । महाकवि देवकोटाको जन्मजयन्ति मुलुकभरका साहित्यिक संघ संस्थाहरू सक्रिय रुपमा मनाइरहँदा सयपत्रि प्रतिष्ठान नेपालले विगत १५ वर्ष देखी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति विभिन्न साहित्यिक गतिविधिहरू सहित नेपाली भाषा,सहित्य र वाङ्मयका क्षेत्रमा उत्कृष्ट योग्दान गर्नुहुने स्रष्टालाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गर्दे आएको छ ।

भनिन्छ काभ्रेमा साहित्यिको खेती हुन्छ । त्यही खेतीमा सयपत्री प्रतिष्ठानले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएको छ । सयपत्री प्रतिष्ठान साहित्यिक संस्था नभएर पनि यसले नेपाली साहित्यिक क्षेत्रको विकासमा सक्रिय भएको र राष्ट्रको गहनाका रुपमा रहेका साहित्यिकारहरूलाई सम्मान गर्ने परम्पराको थालनी गरेर उदाहरणीय कार्य गरेको बरिष्ठ साहित्यकार एवं जनमत प्रकाशनका प्रधान सम्पादक मोहन दुवाल बताउनुहुन्छ । समाजिक संस्थाको रुपमा स्थापना भएको प्रतिष्ठानले २०५५ सालमा काभ्रे जिल्ला व्यापी कविता प्रतियोगिता संचालन गरेर साहित्यिक यात्राको सुरुवात गरेको थियो भने २०५७ सालदेखी स्रष्टा सम्मान गर्दे आएको छ । प्रतिष्ठाले २०५७ सालमा दैवज्ञराज न्यौपाने र भरतमणि जंगम, २०५८ सालमा कृष्णप्रसाद पराजुली र घनश्याम राजकर्णिकार, २०५९ सालमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र महाकाली घिमिरे (दम्पत्ति), २०६० सालमा कृष्णचन्द्र सिहं प्रधान र रमेश विकल, २०६१ सालमा चित्तरञ्जन नेपाली र माधवलाल कर्माचार्य, २०६२ सालमा तुलसी दिवस र गीता केशरी, २०६३ सालमा डा. ओमविर बस्न्यात र शेषराज शिवाकोटी, २०६४ सालमा आनन्ददेव भट्ट र डा. तुलसी भट्टराई, २०६५ सालमा मोहन दुवाल तथा भारती श्रेष्ठ (दम्पत्ति) र डा. कृष्णप्रसाद (विराज)भट्टराई (दम्पत्ति), २०६६ सालमा मोदनाथ प्रश्रित र परशु प्रधान, २०६७ सालमा मञ्जुल तथा सुस्मिता नेपाल (दम्पत्ति) र डा. खगेन्द्र प्रसाद लुइटेल तथा लीला लुईटेल(दम्पत्ति), २०६८ सालमा कपिल अज्ञात (चितवन) र डा. गोशकुमार पौडेल(मकवानपुर) २ २०६९ सालमा बरिष्ट समालोचक रामप्रसाद ज्ञवाली एवं उहाँँकी धर्मपत्नी उषा पन्थी तथा वरिष्ट कवि अर्जुन पराजुली र उहाँकी धर्मपत्नी उर्मिला घिमिरे (पराजुली)लाई सयपत्री राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिसकेको छ । भने राष्ट्रका वरिष्ठ साहित्यकारहरू माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, कृष्णचन्द्र सिंह प्रधान, डायमण शम्सेर राणा, कमलमणि दिक्षित, केवलपुरे किसान, मोहन कोइराला, श्यामप्रसाद शर्मा, स्वामी डा. प्रपणाचार्य, स्वमी विसुद्धदेव्, धुस्वाँ सायमी, रोचक घिमिरे, डा. सुरेशराज शर्मा, खगेन्द्र संग्रौला, राजेन्द्र सुवेदी जस्ता साहित्यकारहरूको उपस्थितिले सयपत्रिलाई फक्रिनका लागि मलजल गरिरहेको छ ।

यस वर्ष पनि प्रतिष्ठानले आफ्नो साहित्यिक यात्रालाई निरन्तरता दिदै विशेष कवि गोष्ठी सहित महकविको १०३ औं जन्म जयन्तिको अवसरमा बरिष्ठ समाजसेवी एवं लेखिका भद्रकुमारी घलेको प्रमुख आतिथ्यमा बरिष्ठ साहित्यकार चन्द्रकुमारी नेवार एवं उहाँको जीवनसखी डा.डी.बी श्रेष्ठज्यू तथा बरिष्ठ कथाकार माया ठकुरी एवं उहाँको जीवनसखी इ.दामोदर शर्मालाई सयपत्री राष्ट्रिय सम्मान २०७०ले सम्मानित गर्दैछ । कार्यक्रममा राष्ट्रिय एवं काभ्रे जिल्लाका साहित्यिकारहरूले विशेष कविता वाचन गर्ने कुरा प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।साहित्यिकारहरू विच अमिट छाप लगाउन सफल भएको छ । प्रतिष्ठानले जिल्लाका नवप्रतिभाहरूको सूजनाहरू प्रस्फुटन गराउने अवसर जुटाइदिएको छ भने राष्ट्रमा ख्याती कमाएका वरिष्ठ साहित्यकारहरूलाई काभ्रे जिल्लामा आमन्त्रण र सम्मान गरेर जिल्लाका साहित्यकारहरू विच परिचित गराउन र नव प्रतिभाहरूलाई प्रेरणा जगाउन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *