Skip to content


धेरै दिनदेखि लघुकथा कुनो तथा मझेरीमा उपस्थिति जनाउन सकेको थिइन, त्यसैले आज एउटा कथा लेखेर पोष्ट गर्ने बिचारले कम्प्युटर शुरू गरेँ, कथाको विषयवस्तु सोच्दै थिएँ कि ढोकाको कलबेल बज्यो । बाहिर निस्केँ, जुझारू पार्टीका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू स्वागत गर्न बसेका रहेछन । दश औँलाका समुहहरू अचानक एक हुँदै गए ।

“अधिकारी जी नमस्कार ।” मैले केही भन्न नपाउँदै अबिरले छोपिएको अनुहार अघि सार्दै उम्मेदवार मित्र अघि सरे ।

“हजुरको साहित्यप्रतिको अभिरूची मलाइ राम्ररी थाहा छ । म पनि धेर थोर साहित्यमा समय दिने गरेको छु, त्यहि अपनत्वको कारणले म हजुरकहाँ पनि आएको हुँ । यसपालि हामीलाई सम्झनुहोला ।”

“वरीपरीका सबै घरहरूमा हाम्रा प्रतिद्वन्दीहरूको झण्डा राखीएको रहेछ । हजुरको घरमा चाहिँ यो राखिदिनुहोला ।” मेरो हात तानेर झण्डा राखिदिँदै पार्टीका स्थानीय कार्यकर्ताले भने ।

“हामीलाई यहाँ प्रति पूर्ण विश्वास छ । हवस् त हामी आज यो क्षेत्रको घरदैलो कार्यक्रम भ्याउनुपर्ने छ ।” भन्दै गरमजोशका साथ हात मिलाउँदै सबै फर्के ।

भित्र पसेँ र फेरी कम्प्युटरको अगाडि बसेको मात्र के थिएँ कलबेल फेरी बज्यो । बाहिर हेर्दा देशको सबै भन्दा पुरानो पार्टीका उम्मेदवारहरू र कार्यकर्ता त्यही शैलीमा उभिएका रहेछन ।

“नमस्कार बाबु ।” उम्मेदवार अघि सरे । “बुबा कता हुनुहुन्छ कुन्नी । बुबाले त मलाइ राम्ररी चिन्नुहुन्छ । अनि बाबु पनि मेरी छोरीको सहपाठी हुनुहुँदो रहेछ । छोरीले बेला बेलामा कुरा गर्छे । यस पटक चाहिँ हामीलाई सम्झनुहोला ।”

“घरमा झण्डा राख्नुभएको रहेनछ । मलाइ पक्का थाहा छ त्यो ठाउँ हाम्रै झण्डाको लागि हो ।” हातमा झण्डा राखिदिँदै कार्यकर्ता लगायत सबै बिदा भए ।

भित्र फर्केँ अघि झण्डा राखेको ठाउँमा त्यो झण्डा पनि राखेर फेरी कम्प्युटरमा बसेँ । विषयवस्तु फुरे झैँ भान भयो लेख्न लागेको मात्र के थिएँ फेरी कलबेल बज्यो ।

बाहिर अर्को ठुलो पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरू त्यसरी नै उभिएका थिए ।

“हजुर पनि यसो निस्कने हैन त हामीसँग,” उम्मेदवारले सम्बन्ध जोडे “हजुर हाम्रो सम्बन्धलाइ यसपालि त अझ गाढा बनाउनु पर्छ ।”

“घरमाथि यो झण्डा है त ।” कार्यकर्ताले झण्डा हातमा राखिदिए र केही भन्न नपाउँदै सबै फर्के ।

भित्र पसेँ र सबै झण्डाहरू नियालेँ । केही बेर पछि दराज भित्रबाट सूर्य चन्द्र अङ्कित राष्ट्रीय झण्डा निकालेर भऱ्याङ चढेँ ।

२०७० कार्तिक २३ गते, शनिबार

एकदेव अधिकारी

1 thought on “झण्डा (लघुकथा)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *