सुख जिन्दगीको कुन स्वर्ग
प्रक्षेपित रकेटभित्र छ
कुन आमाको गर्भाशयभित्रको भ्रूणसँग छ
खोज्दा नभेटिने
भोग्दा नभोगिने
सुख,
मन्दिरको कुन देवतासँग छ
कुन गुम्बाको बुद्घसँग छ
कुन मदरसा
र
कुन मस्जिदको अल्लाहसँग छ ?
मानौं सुख छ“दैछैन जस्तो गरेर
भोगिरहेछौं दुखहरूका आदिम संस्करणहरू
सुख,
जुन मिसिएर आउ“छ
दुखहरूसँग
आँसुहरूसँग
हर्षहरूसँग
परिवर्तनहरूसँग
एक्लो नआउने
देख्दै नदेखिने
सुख,
प्रश्न गर्छु
कुन पर्यटकको आँखामा छ
कुन अर्को आठौं आश्चर्यमा छ
कुन अर्को आधुनिकताको ऐनामा प्रतिविम्बित छ
कुन शताब्दीमा थियो
कुन विकास र सभ्यतासँग थियो
विजयको कुन योद्दासँग थियो
कुन इतिहासको भूक्त कालान्तरसँग थियो
नभोगिने सुख,
नदेखिने सुख
कहाँ जिउँदो छ ग्रस्त वर्तमानको पेटीमा
सुख प्राप्तिको अतृप्ततामा
केवल भ्रान्तिहरू बाँचे पुर्खाहरूले
अभयस्त,अज्ञात
सुख,
कुन बगरको अलौकिक खरानीस्ांग थियो
कुन अर्को मृत सुखको प्रेतात्मासँग थियो
खोजिहरूमा भेटिइंदैन
दृश्यहरूमा देखिइंदैन
