बादलुमा जूनतारा लुक्न थालेपछि अचेल
डरलाग्छ कुकुरहरू भुक्न थालेपछि अचेल
हिँडिसक्नु छैन दायाँ वायाँ वनजंगल एक्लै
पशुहरू बाटो बाटोमा ढुक्न थालेपछि अचेल
आवाज उठाऊँ अन्याय अत्याचार विरुद्धभन्दा
शाहास घट्छ दुनियाले थुक्न थालेपछि अचेल
सेउती खोलो सुसाउन छोडेको पनि धेरै भयो
मूलको पानी मूलमै सुक्न थालेपछि अचेल
असत्यको साम्राराज्य फैलिएको छ जताततै
सत्यका अनुयायीहरू झुक्न थालेपछि अचेल
छोरी बुहारीहरू आफ्नै घरमा असुरक्षित छन्
साँढेहरू दाम्लो चुँडाई फुक्न थालेपछि अचेल
