जँघार जिन्दगीको न त तर्न सकियो
पछाडि फर्केर न केही गर्न सकियो
केवल छट्पटाई तृष्णा बोकी छातीमा
समयका पालुवा न त चर्न सकियो
कछाड मै बसेर आधा भयो उमेर यो
चढियो लेखै न त बेशी झर्न सकियो
जवानै छु भनेको बडा बा पो भैएछ
नजरमा नै कसैको न पर्न सकियो
खरानी घसेर न साधु हुन सकेँ म
त्यागेर संसार नै न त मर्न सकियो
(कछाड – न पहाड न तराई बिचको भाग)
तोयानाथ पौडेल
मरुभूमिको छातीबाट
