-१-
सुखमा सँगसँगै थियौं दु:खमा साथ छुट्यो
यो जिन्दगीलाई नियतिको आँधीहुरीले चुट्यो
रैपनि हिम्मत थियो हाँसी खुसी जिउँछु भन्ने
आफन्तीलेनै भने तेरो भाग्य आजबाट फुट्यो
२-
मान्छे बीचको भेदभाव नास भा’को भए
म पनि त तिमी जस्तै खास भा’को भए
हाम्रो देश सुन्दर शान्ता बिशाल हुन्थ्यो
सबैको मनमा ईश्वरको बास भा’को भए
-३-
मै हुँ भन्नेको नौनाडी गलेपछि ईश्वर हाँस्यो
सुकुमारी शरीर भूइँमा ढलेपछि ईश्वर हाँस्यो
अन्धकार अन्धविस्वासमा जुनि काट्ने मनुको
छातीमाथि एउटा दियो बलेपछि ईश्वर हाँस्यो
-४-
जित्न सबलाई जिते पनि मृत्युसँग हार्नुपर्छ
बाँच्दा सत्रु ठानेकाको मरेपछि नून बार्नुपर्छ
इष्टमित्र आफन्तले कस्तो छ भनेर सोद्धेमा
मनमा चिन्ता बाहिर ठिक छ भनी टार्नुपर्छ
-५-
हुनेकुरा भएरै छाड्छ कसले मुहान टाल्नसक्छ?
कहिलेकही पीरचिन्ताले दह्रो मुटु गाल्नसक्छ
भीरबाट लड्ने गाईलाई राम राम भन्न-सकिन्छ
आफ्नो ज्यानै मायामारेर कसले काँध हाल्नसक्छ?
