चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदको रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थ्यो भने नाक लामो भएकोले होला आँखाहरू खोपिल्टाभित्र पसेको भान हुन्थ्यो । उनीहरूको विवाह परिवारकै सहमतिमा मागेर भएको थियो ।
विवाहको प्रारम्भिक दिनहरूमा निशा रमेशसँग बोल्न लजाउँथिन् । तर पछिल्ला दिनहरूमा रमेशको सामीप्यमा रहँदा बस्दा निकै खुलेर हाँस्ने बोल्ने गरेकी थिइन् ।
विवाह भएका दिनहरूमा रमेशलाई सबै जनाले जिस्काउँने गर्दथे । हुँदा-हुँदा अफिसमा पनि “रमेश सर भाउजू त साह्रै राम्री पो पाउनु भएछ । क्या लक्की हुनुहुदोँ रहेछ । ” भन्नेहरूको लाम हुन्थ्यो । रमेश केही नबोली मुस्कुराएर स्वीकारोक्ति जनाउँदथ्यो भने मनमनै डाहा भएको महसुस गर्दथ्यो । यसरी जो कोहीले निशाको रुपको प्रशंसा गरिरहँदा कसैले निशामाथि आँखा लगाईहाल्ने पो हो कि भन्ने डरले खाइरहेको हुन्थ्यो ।
खुल्ला हृदयकी निशा फरासिली स्वाभावकी भएकीले जोसँग पनि हाँसेर बोल्ने गर्दथिन् । मिलनसार र अर्काको दु:ख पीडामा सदैवसहयोगगर्न तत्पर निशाको हरेक व्यवहार मन पराउने भए पनि रमेशलाई निशा अरुसँग चाडै नजिकिएको र हाँसेर बोल्ने बानी मन पर्दैनथ्यो । तर पनि खुलेर बिरोध भने गर्न सकेको थिएन । निशाले स्नोकोत्तर सकाएकीले रमेशकै सहमतिमा एउटा निजि कलेजमा अध्यापन गर्न थालेकी थिइन् ।
दिनहरू बित्दै गए । रमेश र निशा आ-आफ्ना काममा व्यस्त रहन्थे । गाउँघरमा शिक्षित महिलाको अभाव भएकोले कुनै पनि संघ-संस्थाले आफ्नो कार्यक्रममा सहभागी हुन निशालाई अनुरोध गर्दथे । निशा पनि अफ्नो व्यस्त समयको बाबजुद पनि सामाजिक कार्यमा आफूलाई सहभागी गराँउथिन् । उनी समाजमा रहेर केही परोपकारी काम, सेवा गर्न पाउँदा आनन्दको महशुस गर्थिन् । पछि गएर यो एउटा नशाको रुपमा विकसित हुनपुग्यो । रमेशले निशाको धेरै जसो समय बाहिर व्यतित हुन थालेको बोध गर्न थाल्यो । रमेशले निशाको सामाजिक कार्यप्रतिको लगावमा रोक लगाउन नचाहेको हैन तर बिद्रोह गर्न सकेको थिएन । उनलाई डर यो थियो कि निशाको यस्ता कार्यहरूले बाहिरी व्यक्तिहरूसँगको सम्पर्क बढ्दै जाने र आफूलाई बिर्सन सक्ने सम्भावना प्रवल रहला । शारीरिक रुपमा पनि निशा निकै सुन्दर थिइन् । यसले गर्दा रमेशमा शंकालु बानीको बिजारोपण भएको थियो भन्दा असान्दर्भिक थिएन ।
“रमेश दाइ भाउजू त आज सामुदायिक प्रहरी बिटम हुनुहुन्थ्यो नि! निकै हाँस्दै हुनुहुन्थ्यो । के हो ? होस गर्नुस है । आईमाई मान्छे यसरी खुलस्त भएको राम्रो संकेत हैन । ” छिमेकमा बस्ने शिवको यस्तो चाप्लुसी एवं स्वार्थले भरिएको कुरा सुनेर रमेशमा आगोमा घिउ थपिने काम भएको थियो ।
“दाइ भाउजू आज पनि घरमा हुनुहुन्न ? ”
“रमेशजी होस गर्नुस है, भाउजू राम्री हुनुहुन्छ । फेरि उडाउँला नि कसैले हा!हा!हा! ”
केही महिना यता सुनिदैँ आएको यस्ता अभिव्यक्तिहरूलाई पचाउँदै आएको रमेशलाई अब साँच्चैनै असह्य हुन थालेको थियो । जागिर अनि त्यसमाथि सामाजिक कार्यमा व्यस्त निशाको व्यवहार अनि अरूले सुनाएका भाँडभैलो कुराहरूले रमेशलाई घोत्लिएर सोच्न बाध्य बनाउँदै लगेको थियो ।
“निशा आज सिनेमा हेर्न जाअौं है, हिजो अफिसमा साथीहरूले च्यारिटी-सोको टिकट ल्याएका रहेछन् । मैलेपनि दुईवटा ल्याएँ ।”
रमेशको यो प्रस्ताव शनिवार छुट्टीको दिन हुदाँहुदै पनि निशाले सहर्ष स्वीकार्न सकिन, “ओहो! हिजो अस्ति भन्नुभएन । आज त रोटरी क्लबको कार्यक्रममा प्रमुख अथिति भएर जानुपर्ने छ । के गर्ने ? अरु कुनै दिन जाउँला नि हुन्न ? ”
निशाको कुरा सुनेर रमेशले चुपचाप हुन्छ भनेर टाउको मात्रै हल्लायो ।
निशा केही बेरपछि बाहिर निस्किन् । रमेश भने खाटमा पल्टियो । नानाभाँतीका तर्कनामा रमेश हराउन थालेको थियो । “निशा किन मलाई समय दिन्न ? मैले चाहेको समयमा म किन उसलाई पाउँदिन ? के साच्चै नै बाहिर चलेको हल्ला जस्तै निशा घर बाहिरकै दुनियाँमा हराउन थालेकी हुन् वा मसँग समय व्यतित गर्न चाहन्न । पक्कै पनि निशाको कुनै नाजायज सम्बन्ध स्थापित भएकै हुनुपर्छ । हैन भने मेरो हरेक प्रस्ताव किन सहर्ष स्वीकार्दिन ? ” रमेश यस्तै बेतुकका तर्कनामा विलिन हुन थालेको थियो ।
मानसिक रुपमा विक्षिप्त हुन थालेको रमेशले अन्तर्मनमा चल्ने यस्ता द्वन्द्व शान्त पार्न चुरोटको सहायता लिन थालेको थियो । ऊ चुरोटको धुवाँसँगै आफूलाई पनि उडाउँदै वायुमण्डलमा पुर्याउँदै बडो विचारणीय हुने गर्दथ्यो ।
रमेशमा निशा प्रति शंका गर्ने प्रवित्ति ह्वातै बढेर गएको थियो । तैपनि बिरोध भने गरिहाल्न सकिरहेको थिएन । ऊ भित्र-भित्रै पाक्दै थियो । धमिराले गुँड लगाएको पर्वत झैं रमेश पनि भित्र-भित्रै खोक्रो हुदैं गएको थियो । “मेरो उपस्थिति कतै निशालाई बाधक त भएको छैन ? म निशाभन्दा शारीरिक सु-संगठनको रुपले अयोग्य भएकैले हो त निशाको तिरस्कारको पात्र भएको ? साँच्चै नै उनी मसँग खुसी छैनन् । ”
बनको बाघले खाओस नखाओस मनको बाघले रमेशलाई बिस्तारै खादैँ थियो । झुस्स दाह्री पालेको हेर्दा बिमारी झैं देखिने रमेशलाई रिसाहपन, चिडचिडाहपनले बिस्तारै गाँज्दै लगेको थियो ।
निशा यी कुराहरू किन हुदैँछ भन्ने खबरबाट बेखबर थिइन् । सधैँ हाँसी खुसी बोल्ने रमेशमा देखिएको यस्तो परिवर्तन देखेर निशा अचम्भित हुन थालेकी थिइन् । कहिलेकाहीं किन यस्तो हुदैँछ भनेर जान्न नखोजेकी पनि हैन । तर रमेशको अन्तर्मुखी स्वभावको कारण जड पत्ता लगाउन निशालाई हम्मे हम्मे परेको थियो ।
चैतको महिना थियो । बाहिर हुरी बतास चलिरहेको थियो । तर त्योभन्दा बढी हुरी निशाको मनभित्र चलिरहेको थियो । त्यस दिन रमेश कतै बाहिर गएर हतार हतार घर प्रवेश गरेको थियो । सँगै खाना खाने प्रतिक्षामा बसेकी निशा आज घरमै थिइन् । कोठामा एक प्रकारको सन्नाटा छाएको थियो ।
“हजुर भर्खर आईपुग्नुभयो, जाउँ भान्छामा सँगै खाना खानलाई । ”
रमेशले निशाको आग्रह सुने नसुने झैं गरी टेबलमा एउटा फाईल राख्दै “यसमा हस्ताक्षर गर” भन्यो । निशा कुनै रहस्यमय घटनाको पर्दाफास गर्ने व्यक्ति झैं शंकास्पद हेराईले त्यो फाईल चुपचाप पल्टाउँदै गइन् । एक्कासी उनी छाँगाबाट खसे झैं आभास गर्न पुगिन् ।
“किन यी कागजहरू ? ”
रमेशसँग निशाको प्रश्नको रेडिमेट उत्तर थियो, “तिमी मसँग खुसी छैनौ, मलाई थाहा छ । त्यसैले म तिमीलाई स्वतन्त्रता दिन चाहन्छु । यो डिभोर्सको कागजातहरू हो । हस्ताक्षर गर ।”
यति भनेर रमेश बाहिर निस्कियो ।
निशाले पुरै ब्रम्हाण्ड नै आफूमाथि खनिएझैं महशुस गरिन् । रमेशसँग जीवनका हरेक खुड्किलाहरूसँगै उक्लने सपना बोकेकी निशा अब कसैले त्यो शिशा फुटाएझैं चक्नाचुर पार्न खोजे जस्तै आभास गर्न पुगिन् । निशा चिच्याउन चाहन्थिन् तर आवज भित्र-भित्रै दबिएको भान हुदैँ थियो । गला अबरुद्द भएको थियो । कोठामा मुर्दा शान्तिले साम्राज्य जमाएको थियो । निशा प्रश्न गर्न चाहन्थिन्, कहाँ नेर उनको गल्ती भयो जीवन जिउने क्रममा । उनी भित्रै-भित्रै गल्दै थिइन् । उनी “मेरो गल्तीहरू स्पष्ट पार” भन्न खोज्दै थिइन् तर उसको उत्तर दिने कोही थिएन । कसरी रमेशमा यस्ता गलत सोचाईहरू आयो ? किन शंकाको डोरीले कस्सिएर बाँधियो रमेश ? के साँच्चै नै मैले दिने मायामा कमी भएकै हो त ? म कहाँ चुकेछु ? सबैभन्दा भाग्यमानी अनुभव गरिरहेकी म भ्रममा पो रहेछु त ? कसरी रमेश मेरो लागि बाधक भयो ? म रमेशसँग खुसी छैन रे ? के मैले नै गल्तीहरू गरेको हुँ त ? अहो! मैले रमेशको ईच्छा, मनोकांक्षाहरू पुरा गर्न नसकेकै हुँ त ? म त आफूलाई सबैभन्दा परिपक्क र समझदार छु भन्ने सोच्थें तर हैन रहेछ कि क्या हो ? ” यस्ता अनगिन्ती प्रश्नले निशालाई रिङ्ग्याउँदै थियो । उनी मानसिक रुपले क्षतबिक्षत हुन थालेकी थिइन् ।
रमेशको आगमनमा प्रतिक्षारत निशा रमेशले त्यसरी रक्सी पिएर आउला भन्ने सोचेकी पनि थिइनन् । रमेश आफ्नो शरीर थेग्न नसक्ने भएर आएको थियो । तै पनि निशा आफ्नो भावनाहरू व्यक्त गर्न आतुर थिइन् । आफू कसरी दोषी भैयो र निर्दोष साबित गर्न के गर्नुपर्छ, सबै गर्छु भन्ने वचनबद्ध हुँदा समेत रमेश ढुङ्गाको मुर्ती झैं जडवत बनिरह्यो । आफूले त्यस्तो नराम्रो काम केही नगरेको र सदवब रमेशलाई प्रेम गरेको जिद्दी गर्दै डिभोर्स नगर्न रमेशलाई हरतरहले निशाले अनुनय विनय गरिरहिन् । हार गुहार मागिन् तर रमेश टसमस भएको भएन । मानौं, ऊ बहिरो र लाटो भएको थियो ।
निशाले रमेशसंग डिभोर्स भएपछि जीवनका पछिल्ला चार घुम्तीहरू पार गरिसकेको थियो । मार्च ८ अर्थात नारी दिवसको दिन थियो । निशा महिला आयोगले आयोजना गरेको अन्तरकृयात्मक गोष्ठीमा सहभागी हुन पुरानो बसपार्क हुदैँ सिहंदरबारतिर जाँदै थिइन् । बिहानको ९ बजिसकेको थियो । सडकमा सवारीसाधनको भीड थियो, अनि त्यसमाथि जाम भएको थियो । निकै बेरसम्म पनि बाटो नखुलेपछि निशा गाडीबाट ओर्लिएर अगाडि पुगिन् । निकै भीड देखेर के रहेछ भन्दै भीडको बीचमा हेर्न थालिन् ।
“विचरा कोही रहेनछ क्यारे । नत्र किन अलपत्र हुन्थ्यो यो बीच सडकमा ।”
“कस्तो पागल रहेछ कहीं नपाएर यो बीच सडकमा आएर लम्पसार परेर हामीलाई यो सास्ती ”
“विचरा चुक् चुक् ।”
“कस्तो निष्ठुरी है यसको परिवार । सडकमा ल्याएर पो छाडिदिएका ।”
भीडको आक्रोसहरू यस्तै यस्तै गरी व्य्क्त हुदैँथियो । निशा पनि भीडमा पसिन् अनि घटनलाई नियालेर हेर्न थालिन् । त्यो परिचित अनुहार नै थियो । सबैले पागल उपनाम दिएर सम्बोधन गरिरहेको व्यक्ति अरु कोही नभएर उहि रमेश थियो । रमेशलाई त्यो हालमा देखेर निशाले आफूलाई सम्हाल्न सकिनन् । भावविह्वल हुदै रमेशको शरीरमाथि घोप्टो परेर आफ्ना वेदनाहरू आशुँको रुपमा छताछुल्ल पारेर पोखन थालिन् । केही बेरपछि आफूलाई सम्हाल्दै रमेशलाई बीर अस्पताल पुर्याउने बन्दोबस्त मिलाइन् ।
“तपाँईको बिरामी अहिले सामान्य अवस्थामा छ तर ऊ शारीरिक रुपलेभन्दा पनि बढी मानसिक रुपमा अशक्त भएको हुदाँ तत्कालको लागि औषधीभन्दा पनि माया, स्नेह, प्रेमले नै सन्चो हुन्छ । ”
डक्टरको यस्तो कुरा सुनेर निशा स्तब्ध भएकी थिइन् । निकैबेर सोचेपछि निशाले रमेशलाई आफ्नै कोठामा लगिन् । रमेशमा चेतना शुन्य बराबर नै थियो । कहिलेकाहीं बर्बराउथ्यो । निशाको नाम पनि लिने गर्दथ्यो । अनि डर मान्दै निशाको हाताहरू समात्न पुग्थ्यो । निशामा एक प्रकारको अनौठो एकहोरोपनाले समातेको थियो । बाहिर कतै नगई सिर्फ रमेशको हेरचाहमा आफ्ना दिनहरू समर्पित गर्न थालेकी थिइन् । खै किन हो, किन रमेशको त्यो माया लाग्दो अनुहार देखेर निशामा परिवर्तनहरू देखा पर्न थालेको थियो । रमेशको हरेक आवश्यकताहरू परिपुर्ति गर्न हरदम तयारी अवस्थाम हुन्थिन् । खाना-पिनादेखि लिएर नुहाई-धुवाई सम्मको जिम्मेवारी पुरा गर्दै थिइन् । अहोरात्र रमेशको सेवामा लिन निशा कुनै पनि कार्यक्रममा पनि सहभागी हुन जाँदिन थिइन् । निशाको यहि निस्वार्थ सेवा र मायाको कारण रमेशमा चेतनाहरू पुर्नप्राप्ति भयो । आफ्ना स्मृतिहरूको प्राप्ति पश्चात रमेश आफूले निशालाई बुझ्न नसकी उनीप्रति गरेको दुर्व्यवहार सम्झदैँ आफूलाई धिक्कार्न थाल्यो । निशाको त्यो निस्वार्थ प्रेमले रमेशमा आत्मग्लानि गराइदियो । यस्तो निश्चल, अबोध नारीमाथि अरुको चुक्ली सुनेर दिएको प्रताडनाहरू सम्झदैं रमेशले अपराधबोध गर्न थाल्यो । आफूलाई कुनै अपराधी झैं बोध गर्दै निशासँग माफी माग्ने अठोट गर्यो ।
शनिबारकै दिन थियो । रमेश चट्ट दाह्री, कपाल काटेर निकै रमाईलो मनस्थितिमा देखिन्थ्यो । निशा पनि भर्खर नुहाएर चिसै कपाल फिजाँउदै आइपुगेकी थिइन् । रमेशले कुरा निकाल्यो, “निशा थाहा छैन तिमीले मलाई माफ गर्यौ कि गरेनौ ? तर पनि मेरो तिमीसँग एउटा विन्ती छ । म ती वितेका दुखद पलहरूको सट्टामा खुसी दिन सक्छु सक्दिन । त्यो त मलाई ज्ञान छैन । तै पनि मलाई माफीको लायक देख्छौ भने मेरो एउटा अनुरोध छ । त्यो स्वीकार्ने नस्वीकार्ने तिम्रै हातमा छ । के तिमी मसँग पुर्नजीवन व्यतित गर्न तयार छौ ? ”
निशा एकतमासले रमेशलाई हेरिरहन्छिन्, हेरिरहन्छिन् । निशा अनुत्तरित हुन्छिन् । उनी कतै भावनामा विलिन हुनपुग्छिन् । अनन्त गहिराईमा ।
बिना तामाङ
काठमाण्डौं

tnxxxx kumar ji
khusi lagyeko 6 kumar ji hajurle sampadan garera prakasit garidivaye6 .agami din haruma pani yestai sahayog rahirahane6 vanne asa 6.
atinai manpareo lekhdai janu
atinai manpareo lekhdai janu kamna chha
tnx hajur
tnx hajurlai mitho commentko lagi.