Skip to content


मुसुक्क मुस्काउदा चसक्क चस्किन्छ यो मन
अनि झसक्क झस्किन्छु, पल्याकपुलुक हेर्छु
कसैले देखेकि भनेर ?
कसैले खुसुक्क सुने कि भनेर
तर अनायासै चिन्ताइरहेको पो रहेछु
जसै सर्लक्क तिम्रो कालो कपाल फर्किदा
र धपक्क आँखाको ज्योती बल्दा
म त मख्ख पो पर्छु
तिम्रो प्रतिरूपको वरिपरि
लुसुलुसु हिडिरहेको हुन्छु
सुटुक्क सपनीमा पनि आइदिन्छ्यौ
तर जब झसङ्ग हुन्छु म
बिलाइजान्छ्यौ सरर तुवालो सरी
थपक्क मेरै सामु बस्न मिल्दैन प्रिय ?
म हेरिरहुला टुलुटुलु
म हेरिरहूँला लचक्क लच्कने कम्मर
खुत्रुक्कै पार्ने त्यो तिम्रो मुस्कान
तप्प तप्प तिम्रो आँसु झर्दा पनि
टिलटिल मोती जस्तै सुन्दर देखिने

तिम्रै पागल प्रेमले
म बरबर बरबर बरबराउदै रहेछु
एउटा आएर चिरिक्क चिमोटिदियो
जुरूक्क उठ्दै भनेछु ….. खोइ मेरी प्रिय ?
आजकल अरू कुरा कहाँ याद हुन्छ र ?
सबै भुसुक्क बिर्सन्छु
मात्र तिम्रै याद आउछ झलझली
सललल त्रिसुली बगेझैँ
बग्छ तिम्रो माया नसा नसामा पानी सरी
सलबलाइरहेछ मेरो कानका भित्ताहरूमा
खितितिती हाँसो
हाँसो नै गाडिएछ तीर भै मुटुमा
ढुकढुक ढुकढुक ढुकढुकीले पनि
तिम्रै नाम लिइरहेछ
झट्टै स्थेस्कोप ल्याएर सुन त
कसम तिम्रै नाम धडक घडक घड्किरहेछ
पलपलको पर्खाइले हाम्रो माया
झनझन झाँगिरहेको छ
कुनै दिन कुनै बेला मेरो मुटु चरक्क नचर्काइदेऊ है प्रिय ।

First published on : 2013-12-01 22:52:07 +0545

Leave a Reply

Your email address will not be published. Required fields are marked *