Skip to content


चुक घोप्ट्याए जस्तो अन्धकार छ, र ढोकाको चुकुलको परिचित आवाज कुर्लुङ्ग मात्र सुनिन्छ। म प्रतिक्रियाको आशामा सकेसम्म जोडले चिच्याउँछु तर कुनै उत्तर आउँदैन।

“म यहाँ कसरी आएँ?” मनमनै सुस्केरा हाल्छु र तुरुन्तै सम्झन्छु म यस कोठामा केही चीजबाट बच्न भाग्दा भाग्दै आइ पुगेको थिएँ।

“त्यसो भए म यहाँ आफैँ थुनिन आइ पुगेँ?” म आफैँलाई सोध्छु। कोठा साँघुरो छ, खुट्टा तन्काएर ढोका फोर्नको लागि पर्याप्त ठाउँ छैन ।

“मलाई कसैले नभेटे के होला? के म यहीँ मर्नु पर्ने हो?” म सोध्छु। जिउ सिरिङ्ङ हुन्छ। शरीरबाट पसिना बग्न थाल्छ। म यता उता छामछुम गर्दै ढोका फोर्नको लागि कुनै गतिलो चीज खोज्छु, तर पाउँदिन।
निराशाले बिस्तारै मलाई आफ्नो पाशमा गाँज्दै लैजान्छ, तर त्यति खेरै म गुरुको अर्ति सम्झन्छु।
“शान्त बन, लामो श्वास लिऊ, अनि तिमी आफ्नो अगाडिको जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न सक्नेछौ।” आशाको सानो किरण भित्र कतै सञ्चार भए झैँ हुन्छ। म शान्त रहेर सोच्ने प्रयास गर्छु।

“ठीक छ, त्यसो भए पहिला ढोकाको चुकुल हेरौं न त, हुन्न?” म आफैँलाई भन्छु। बिस्तारै चुकुल, स्विच या बटन खोज्छु। थाहा हुन्छ ढोका खोल्न साँचो चाहिन्छ।

“भुइँमा हेरूँ न त?” म भन्छु र बिस्तारै वरिपरि छाम्छु र फगत धूलो र माटो बाहेक केही पाउँदिन।

“के हो यो?” अचानक धातुको चिसो स्पर्श अनुभव गर्छु। “यो शायद ढोका खोल्ने साँचो हो।” म त्यसलाई उठाउँछु र ढोकातिर बढ्छु, साँचो घुमाउँछु, ढोका खुल्छ र बाहिरको झलमल्ल प्रकाशले आँखा झ्याप्प बन्द भए झैँ हुन्छ। बिस्तारै आँखा अभ्यस्त हुँदै जाँदा दुईजना देखिन्छन।

“अनि मेरो अर्ति काम लाग्यो त?”

“अवश्य गुरु।” म भन्छु।

प्यारारेस्क्युको तालिम साह्रै गाह्रो पो हुँदो रहेछ, हगि?

२०७० मंसीर २८ गते शुक्रबार ।

मूल लेखकः एभर बोनिला
अनुवादः एकदेव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *