Skip to content

फेसबुक, फेक आईडी र प्रेमको आधुनिक रुप

ramnath photo


शरदको एक साँझ समयले गोधुलि निम्त्याउँदै थियो । कार्यव्यस्तताले सामाजिक सञ्जालसँगको सामिप्यता अलि टुटेको थियो । अफिसको कामले त्यति सारो व्यस्त नहुँदा पनि समय मिलेको थिएन । अफिसको काम सकेर एक छिन् टोल्हाउन नजिकैको साईवर छिरेँ ।

सामाजिक सञ्जालमध्ये फेसबुकमा नै आफ्नो विशेष ध्यान जान्थ्यो त्यसैले फेसबुकको होमपेजमा आफ्नो ईमेल र पासवर्ड राखे र लगइनमा माउसको वायाँ वटन दवाएँ । धेरै समय भएछ आफ्नो साईट नखोलेको सय पुग/नपुग नोटिफिकेसन, पच्चिसभन्दा बढी मेसेज र त्यत्तिकै सङ्ख्यामा फ्रेण्ड रिक्वेस्ट आएको रहेछ । सामाजिक सञ्जाल मध्येको लोकप्रिय साईट फेसबुकको उपयोगितासँग नयाँ साथी बन्ने र बनाउने कुरा नै विशेष रुपमा जोडिएको हुन्छ त्योसँगै एक आपसमा सन्देश आदन–प्रदान गर्ने तथा भावना साटासाट गर्ने तथा मित्रताको हात फैलाउने योग्य साधनका रुपमा आजभोलि फेसबुक बढी चल्तीमा छ ।

पछिल्लो अवधिमा मान्छेहरूले आफ्ना गुम्सिएका भावना पोख्ने प्लेटफर्म पनि बनाएका छन् । तर म भने नयाँ तथा भिन्न साथीहरूको जमघटमा आफूलाई पृथक तवरले प्रस्तुत गर्न चाहन्थेँ त्यसको भरपर्दो माध्यम फेसबुक नै बन्न थालेको थियो । त्यसकारण स्क्रिनमा देखिएका जति सबै साथीका आग्रहलाई स्विकार्न थालेँ । धेरै जसो स्कूल/कलेजका पुराना साथी तथा अफिस तिरै साइनो जोडिएका कै बाहुल्यता रहेछ । करिव ३ वटा आग्रह स्विकार्न बाँकी हुँदो हो मेरो नजर एउटा अपरिचित फोटोमा गएर अड्कियो । चिनेचिने जस्तो तर सजिलै ठम्याउन नसकिने घुर्मैलो प्रोफाईल फोटो अंकित फ्रेण्ड रिक्वेस्टको अन्तिम नम्वरको रिक्वेस्ट नजिकबाट गौर गरेँ । सरला केसीको नामबाट उक्त रिक्वेस्ट आएको रहेछ । स्वीकार नगरी उसको अकाउन्टको भित्ता चाहार्न थालेँ । माउसको वायाँ बटनमा दुईचार धक्का मार्दै उसको सम्पूर्ण प्रोफाईल नियालेँ तर कहीँ कतैबाट चिनेको र परिचित आभाष हुन सकेन । त्यो आग्रह मेरो निम्ति पुरापुर अन्जान आग्रह थियो । सबैलाई स्वीकार गर्ने मेरो पहिल्यैको बानी मुताविक त्यो आग्रह पनि स्वीकार गरेँ । मनमा खासै नयाँकुरा प्रतिविम्वित थिएन । स्टासको नाममा वालमा नयाँकुरा पोत्न जरुरत ठानिन ।

हाईयर स्टडिज्को अन्ततिर साथीको लहैलहैमा लागेर खोलिएको मेरो एकाउन्ट पढाइसकेर परीक्षाको पर्खाईमा बस्दा धेरै समय झुण्डिरहने र समयकटाउने भरपर्दो माध्यम बनेको थियो । समय गुजार्ने उपयुक्त साधन बनेको थियो । कलेजका साथीसँग घण्टौँ च्याटिङ, समान्य कुरा समेत स्टाटसमा उतारेर पोस्ट गर्ने र फेसबुकको भित्ता रङ्ग्याउने बानी नै परेको थियो । घरमा तरकारीमा नून चर्को भए देखि बुवाआमाको झर्को /फर्को समेत स्टाटसका हरफ बन्दथे । कलेजका केटीहरूसँगको सामान्य टसमस देखि साथी भाइसँगको व्यक्तिगत उठबस सम्मका गतिविधि नयाँ पोष्टको प्राथमिकताका बिषय बन्दथे । यसरी फेसबुक मेरो जीवनमा अचम्मसँग जोडिन आईपुगको थियो । फेसबुक अगाडि स्कूले कालमा हाईफाईव र याहु च्याटिङ उस्तै थियो तर फेसबुक जीवनमा गाँसिए पछि यसले नयाँ ह्याङ जमायो मेरो मानसपटलमा । गोजीमा गाँठ होस् कि नहोस्, पेट खाली होस् या बगली रित्तो, कामको चाप होस् या परीक्षाको ताप जुनसुकै समयमा पनि सफेसबुकले छेकेन । च्याटिङ्ले रोकेन । व्याचलर भर्नासँगै सानो मार्केटीङको जागिरमा अल्झन थाले देखि फेसबुकको एडिक्सनले बिस्तारै छोड्न थालेको थियो । हप्तान्ततिर मात्र केही समय निकालेर फेसबुक हेर्न थालेको थिएँ, आज पनि लामै समय पछाडि फेसबुकमा फर्किएका थिएँ ।

—–

दशैँको घटस्थापनको दिन थियो । भोलि घर फर्कने योजना बनाउँदै थिए । विदा दिन भएकाले किनमेलका लागि बजार निस्किएँ । किनमेल सक्दा झमक्क साँझ पर्यो । कोठा फर्कदैँ थिएँ अचानक मनमा फेसबुक चेक गर्ने ईच्छा जाग्यो । साईबर छिरेँ । फेसबुक ओपन गरेँ । वालमा केही नयाँ अध्यावधिक चिज पाइन । अनलाइन चेक गरेँ । संयोगले हिजो आग्रह स्वीकार गरिएको नयाँ अपरिचित युवती नाममा हरियो बत्तीको संकेत पाएँ । अनलाइनमा रहछिन् । मेरो पालो च्याट् बक्समा हाई लेखेर पठाइदिएँ । चिहाइरहेँ । प्रत्युत्तरको प्रतिक्षामा ।

हेलो !

उताबाट जवाफ आयो ।

ह्वेर आर यु फ्रम ?

उताबाट फ्रम एफ्. वी भन्ने अपुष्ट जवाफ आयो ।

कराकानीको शृङ्खला सुरु भयो ।

मलाई चिन्नुहुन्छ सरलाजी ? म्यासेज सेण्ड गर्दै कुराकानीलाई व्यवस्थित बनाउने प्रयत्न गरेँ ।

चिन्छु ।

हावाको वेग सरी उत्तरको संकेत मिल्यो

को हो त म ?

उत्तिकै गतिमा सन्देश पठाएँ ।

एफ्. वि. फ्रेण्ड ।

हा हा हा…………

हाँसो रोक्न सकिन त्यही सिम्वोलको सन्देश उनीतिरै प्रवाह गरेँ ।

यस्तै हाँसो ठट्टा केही वेर चलि नै रह्यो ।

मैले अलि अघि बढेर जवाफ प्रदान गर्ने निँधो गरेँ ।

आई वान्ट टु नो, हु आर यु ? डु यु नो अवाउट मी ?

मैले नजिक को साथीले नै जिस्काएको भानले तथ्य जान्ने प्रयत्न गरेँ

नो ।

सरल जवाफ आयो

जीवनमा नयाँ साथीको प्रवेशले मन ढुक्क भयो ।

यस्तै कुराकानी नि कै वेर चल्यो ।

आर यु सिङ्गल ?

मन बाँधेर च्याट बक्समा इन्टर दवाएँ ।

प्रोफाईल हेरे भै हाल्यो नि

अलि झर्को लवजको म्यासेज आयो ।

म पनि कम्ताको थिइन उहिल्यै प्रोफाईल नियालिसकेको थिएँ ।

रिलेसनमा सिंगल लेखेकै थियो ।

बुझेको संकेत तुरुन्त प्रवाह गरेँ ।

म्यासेज मार्फत उनको व्यक्तित्वबाट प्रभावित भएको र उनलाई भेट्न चाहेको सन्देश पठाएँ ।

उनले केटाहरूको यही बानी मन नपर्ने म्यासेज मार्फत नै फर्काइन् ।

साहुजीले साईवर वन्द गर्ने लागेको बताए ।

मैले पनि हतार भएको र कुरा गर्ने भए यो नम्वरमा सम्पर्क गर्नु भन्ने म्यासेज टाईप गर्दै आफ्नो नम्वर पनि म्यासेजमा मिसाएर पठाइदिएँ ।

कोठामा पुगेको के थिएँ । फोनको घण्टी बज्यो । नयाँ नम्वर रहेछ । मिस् कल व्याक गर्ने बानी ममा थिएन तर अघि कि अपरिचत युवतीले गरेको हुन सक्ने ठानेर कल व्याक गरे ।

फोनको घण्टी जानासाथ उताबाट मधुर आवाज आयो ।

कोठा पुग्नु भयो ?

पुगेँ । जवाफ फर्काएँ ।

खाना खानुभयो ?

अँ…..भर्खरै ।

ल फोन राखेँ है, भोलि घर जान्छु होला ।

घरबाट आए पछाडि कुरा गरौँला नि भन्दै फोन राखेँ ।

खाना पकाएँ । खाएँ । विस्तारामा पल्टिएँ खै, किन किन निद्रा परेन । जसोतसो निदाँउन बल गरेँ । मनमा नाँना भाँती कुरा खेल्न थाले । माथिङ्गलमा तिनै अपरिचत युवतीसँगको वार्तालापको झझल्को आई नै रह्यो ।

भोलिपल्ट सखारै बसपार्क पुगेँ । टिकट चेक गराएँ । घर पुगेँ ।

साथी सङ्गीसँगको भेटघाट आफन्तसँग निकटताको साथ दशैँ सकियो । भोलिपल्टै काठमाडौँ फकिएँ ।

काठमाडौं खाल्डो पस्दा नपस्दै मोवाईलमा म्यासेजका संकेत बज्न थाले । गाउँमा नेटवर्क कभरेज नभएर होला थुप्रै सन्देश हावामा हराएछन् । मोवाईलको सम्पर्क पाउनासाथ एकै साथ ओईरिन थाले ।

धेरै जसो उही सरलाको नामबाट आएका नै रहेछन् । ह्याप्पि दशैँ । दशैं कस्तो हुँदैछ । टीका कस्तो भयो । आदि ईत्यादी ।

काठमाडौं उत्रनासाथ मोवाईलमा फोनको घण्टीको आवाज बज्यो । सरलाकै नामबाट फोन आएको संकेत डिस्प्ले भइरहेको थियो ।

दशैँ कस्तो भो नि ?

फोन उठाउँदा नउठाउँदै उनले आवाज छोडीहालिन् ।

अँ राम्रै भो ।

तिम्रो नि ?

मेरो नि राम्रै भो ।

यस्तै कुराकानी भयो ।

कुरा गर्ने भए एफ्.बी. आउनु है ।

च्याटमा भेट्ने आशय राख्दै फोन राखिन् ।

कोठामा पुग्दासाथ मोवाईलको एप्लीकेसनमा फेसबुकको पेज ओपन गरेँ ।

उनी अघि देखि नै अनलाइनमा नै रहिछन् । म फेसबुकमा प्रवेश गर्नासाथ दोहोरो कुराकानीले तिव्रता पाईहाल्यो ।

दिउसको गाडीको थकान पनि फेसबुक सम्वादको दोहोरो क्रियाले दूर गर्यो । राति अवेरसम्म यो क्रम चल्यो ।

कुराकानीका शृङ्खलाहरू धेरै लम्वेतान बन्न थाले । सम्बन्धको गहिराई अँझ घनिष्ट बन्न थाल्यो ।

कुरै कुरामा म ऊसँग यति धेरै नजिक भएँ कि उनीसँग दिनमा दुई तीन घण्टा कुराकानी नगरी चित्त बुझ्न छाडिसकेको थियो ।

भौतिक हिसावले उनीसँग नभेटेपनि फेसबुक हुँदै कति खेर उनी मेरो मनको अन्तर गहिराईमा पुगिसकिछीन् । पत्तै भएन ।

बिस्तारै उनीप्रति प्रेमका संवेगहरू मुटु मार्फत मन हुँदै शरिरका नशा नशामा बग्न थाल्यो । शरिर अनायसै प्रेममय भयो । हृदयमा प्रेम धारा बग्न थाल्यो ।

उनी मेरो यो प्रेमबाट कति जानाकार थिइन् । उनको मनले अव्यक्त मेरा प्रेमका भाषा कति बुझ्थ्यो । वेलावखत मन मस्तिस्क हुँदे म्यासेज मार्फत उद्देलित हुने प्रेमाभावहरू उनले कति बुझ्न सकेकी थिइन् । म अन्जान थिएँ । हाम्रो हृदय बीच दोहोरो सम्वाद भएन ।

मोवाईल त कहिल साईवरमा घण्टौ झुण्डीने अवस्था बन्न थाल्यो । एक आपसमा फोटो सेयर खुसी आदन प्रदानसँगै मेरो मनमा झाँगिन थाले प्रीतलहराहरू ।

कलेज जीवनमा त्यति सारो मायाँ प्रेममा नपरेको म । व्याचलर भर्ना भए देखि नै सानो पेशामा अल्झिएर जीवन कटाएको मलाई फेसबुकले प्रेमरुपी सागरमा ल्याई पुर्यायो थाहा छैन उनी ढुंगा बनेर मलाई सागर तारिदिन्छिन् कि तारिदिन्नन् म सागर सयरको अतृप्त, प्यासी बनिरहेँ ।

म आफूलाई केही न केही गरी अल्मल्याई राख्नेले जीवनमा प्रेम नामको चीजबाट कति अछुतो राखेछु बल्ल धेरथोर जान्ने मौका पाएको थिएँ । धन्य फेसबुक प्रेमा आस्वादनमा रमाउने नयाँ मौका प्रदान गरेकोमा ।

मनमनै यस्तै सोचेँ । मेलै एक्लै लहराएको प्रेमको लहरा कति लहलह होला ? के उनले मेरो प्रेमको लहाराको सहारा बन्देलीन् ? धत् म पनि उम्रँदै गरेको प्रेम विरुवा लहराइसकेको पो सपना देख्न थालेछु, कतै उनको मनमा यस्तो केहिरहेनछ भने । आ… होस जसको कल्पनानै जीवनको मार्गमा डोहोर्याउन पर्याप्त छ, प्र्रेमको अन्तिम अर्थ प्राप्ति नहुन पनि सक्छ, त्याग कै पाटो पनि त बन्न सक्छ नि । हृदयका तर्कनालाई आफैँ सान्त्वना दिने कोशिष गरेँ ।

ओच्छ्यानमा पल्टिँदै कल्पनाको सागरमा हराउन थालेँ । कल्पनै कल्पनामा कति खेर निद्रा पर्यो थाहै भएन ।

मध्य रात, मस्त निद्रामा अचानक मोवाईलको भाइव्रेसनको कम्पनले झसङ्ग बनाई दियो । मोवाईलमा कल हेरेँ उनकै फोन रहेछ ।

अँझै सुतेकी छैनौ ?

कहाँ सुत्नु नि कलेजको प्रोजेक्ट बाँकी थियो, आवाज आयो उतावाट ।

म पनि उनकै फोनको प्रतिक्षामा थिएँ ।

ए ….

मैले डिस्टर्व गरेँ होला सरी है

उनले पन्छँदै फोन राख्ने प्रयत्न गरीन् । म चाहन्थेँ उनीसँग लामो बात होस् । रात बितेको पत्तो नहोस् । भएभरको मायाँ पोख्न पाउँ । उनले धैर्य गरेर सुनिरहुन् । म पोखिइरहुँ । तर सबै आफैँले सोचजस्तो कहाँ हुन्थ्यो र ।

तर पनि अधैर्य नै भएर मनमा बाँधेर भनेँ । तिमीसँग एउटा कुरा भन्न मन थियो ।

ओके भन्नुस् न ।

तर तिमी नरिसाउने भए मात्र भन्छु । बाचा गराँए । म थामेरै पोखिएँ । भनिदिएँ । म नजानीँदो पाराले तिमीलाई मन पराउँछु सरला । चल्तीकै भाष बोलेँ । आई लभ यू सरला……..

उनी धेरै समय अवाक् भइन । लाग्यो मेरो शव्दले उनी निःशव्द भइन् मेरो शव्दले उनी छियाछिया भइन् ।

मैले तयस्तो केही सोचेको छैन । म पछि भन्छु ल । धन्यवाद मनमा भावना भन्नु भएकोमा । डिप्लोमेटिक उत्तरका साथमा उनी पन्छिइन तर मैले चाहन्थेँ, हो वा होइन मार्फत आजै छिनोफानो भै दिए हुन्थ्यो कम्तिमा एकोहोरा मायाँको एकल यात्री बनेर तड्पिनु त पर्थेन ।

अफिसको कामले बजार निस्केको थिएँ । शरदमास भए पनि उखरमौलो गर्मीले दिउसो टिकिसक्नु थिएन । बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम गेट अगाडिको पिपलबोटको छहारीमा शितल ताप्ने बहानामा टोल्हाँउदै थिएँ ।

अचानक मोवाईलमा म्यासेजको घण्टी बज्यो । यदि तपाईको म प्रतिको माया गंगा झैँ निर्मल छ भने मेरो हृदयले स्वीकार गर्छ तर कपट र जालसाझि मिसिएको छ भने अगाडि नवढेकै राम्रो । उनले कुटनीतिक पाराले मेरो प्रेम स्वीकार गरिन् । म पनि उनको कुटनीतिका प्रेम भित्रै आफ्नो मायाँ हिस्सा खोज्थेँ उनकै आग्रह र आशाको परिपुरक हुने शैलीकै सन्देश प्रत्युत्तरमा पठाएँ । औपचारिक रुपमा अगाडि बढ्यो हाम्रो मायाँ । दुई मुटुका भिन्न शिराबाट एक गतिमा ।

भेटघाट, घुमघामले तिव्रता पाउन थाल्यो । फेसबुकको वालबाट सुरु भएर अगाँलोमा नै आइसकेको मायाँ, अगाडि बढाउन अब फेसबुक मात्र पर्याप्त बन्ने कुरा नै थिएन । मोवाईलले मात्र हाम्रो तिर्सना मेट्न अब कहाँ सम्भव थियो र ।

समय आफ्नै गतिमा वित्दै थियो । मायाँरुपी सागरमा पौडिरहेका हामी दुई आफ्नो बैयक्तिक जीवनसँगै प्रेमलाई हुर्काउदै र पूर्णताको बाटोमा अगाडि बढाउन दृढ थियौँ । फेसबुक फोटो आदन– प्रदान गर्ने र दुईका भावना भर्ने र मायाँ रङ्गाउने साधन पनि बनेकै थियो ।

—-

कामको शिलशीलामा विराटनगर जानुपर्ने भयो । अफिसबाट मार्केटीङ सुपरभाइजरको जिम्वेवारीका साथ भोलि नै पुग्नु पर्ने थियो । सरलालाई जानकारी गराउन अफिसबाट उनको नम्वरमा फोन डायल गरेँ। सम्पर्क हुन नसकेको सन्देश फिर्ता भयो । कामको व्यस्तताले चार पाँच दिन यता उनीसँग सम्पर्क बिच्छेद भएको थियो । सायद रिसाएर उनीले फोन अफ गरेकी हुन सक्छिन् । जरुरी कुरा छ तुरुन्त फोन गर र भन्ने आशयको सन्देश पठाएँ । अवेर रातसम्म म्यासेज डेलिभरको नोटिफिकेसन मोवाईलमा देखिएन । रातमा निद्रा परेन । भोलि पल्टै अफिसकै गाडीमा विराटनगर हानिएँ ।

आफिसको कामको चाप थियो । समय कम भएकाले दुई /तीन दिनमा नै निर्देशित काम सम्पन्न गरिसक्नु पर्ने थियो । अचानक मोवाईलमा फोन बज्यो । फोन सरलाकै नम्वरबाट आएको थियो ।

हतार हतार उताबाट आवाज आँउदा नआउँदै बादर्नी किन फोन नगरेको ? जवाफ फुत्किहाल्यो ।

सागर बोल्नु भएको हो ? म प्रहरी चौकिबाट प्रहरी निरीक्षक प्रेम बोलेको तपाईको नाममा रिपोर्ट छ । तपाईंसँग केही बुझ्नु पर्नेछ आफैँ आउनुहुन्छ कि हामी आउँ ?

सरलाको मोवाईलबाट अचानक प्रहरी निरीक्षकको फो, किन /कसो अन्यौलमा परेँ ।

के भयो र सर सरला ठिक त छिन् ?थर्थराउँदै बोले । सबै कुरा यहाँ आएर बुझ्नुहोला । भन्नुस् कति खेर आउनुहुन्छ ?

सर म अफिसको कामले विराटनगर छु । आज नाईटमा फर्कन्छु । भोलि विहानै आईपुग्छु ।

हतार हतार काम सकेर बसपार्क कुदेँ । टिकट काटेर बस मार्फत काठमाडौँ हानिएँ । रातभर छटपटी भयो । सरला, प्रहरी निरीक्षकको फोन, ऐठन भई नै रह्यो ।

—-

सर प्रहरी निरीक्षकको कार्यलय ?

हो भित्र जानुस् ।

सर म सागर । हिजो फोन गर्नु भएको थियो ।

ईमानदार पूर्वक आउनु भएको धन्यवाद

तपाई सोधपुछमा पर्नु भएको छ । बस्नुहोस् ।

तपाई हो सरलाको व्वोय फ्रेण्ड ?

हो सर थर्थराउँदै भने ।

लाज लाग्दैन तपाईलाई केटीसँग मिलेर फेक फेसबुक अकाउन्ट खोलेर मान्छसँग व्ल्याक मेलिङ् गर्न ?

भन्नुहोस्, अहिलेसम्म कतिलाई फसाउनु भयो? कतिसँग के /के धुत्नु भयो र बर्वाद पार्नु भयो ?

है…हैन सर मलाई केही पनि थाहा छैन म सामान्य मार्केटीङ अफिसमा मार्केटीङ प्रमोटको काम गर्छु ।

मलाई केही थाहा छैन ।

सरलासँग कसरी संगत भयो त ?

उही फेसबुक मार्फत । त्यहीबाट चिनजान, संगत र सम्बन्ध अगाडि बढेको हो सर ।

किन के भयो र सर ?

ऊ उहाँलाई सोध्नुहोस् । उहाँ हो पिडित पक्ष उहाँले बताउनुहुन्छ सबथोक । प्रहरीले अगाडि ठिंग उभिएको मान्छेतिर देखाउँदै बुझ्न आग्रह गरे ।

के भयो र दाजु सरलाले के गरीन् ?

के गरिन यस कुकुर्नीले ।

मलाई पनि फेसबुकमा रिक्वेस्ट पठाई । माया जालको चक्कर लगाई । अन्तिममा झिटीगुण्टा पारी ।

यो एक नम्वरको ठग रहिछे । यसले मायाप्रेमको जालमा दजर्नौ फेसबुक अकाउन्ट खोलेर म जस्तै कयौँलाई बर्वाद पारेकिरहिछे । यसको प्रेमको नशामा मेरो भए भरको सम्पत्ति /पैसा सकियो । म बर्वाद भएँ । ऊ विलौना गर्न थाल्यो । यी सब भनून्जेल ऊ ठिंग मूर्ति झैँ खडा भई । उसले मेरो समेत नाम जोडेर अपराधमा संलग्न भएको कर्तुत खोलिछे । यतिञ्जेल मेरो मनमा ऊ प्रतिको मायाको निमेश पनि बाँकी थिएन । पुलिसको केरकारमा मेरो असंलग्नता पुष्टि भैसकेको थियो । उसले मेरो आँखा, मुख हुँदै पैताला नियाली र आँखा मोडी अन्तै । यसरी नै गिर्छ होला मानिस कसैको नजरबाट, मनमनै सोचेँ । उसको निश्चल आँखालाई सोध्न मन लाग्यो सामाजिक सञ्जालको प्रयोगसँगै दुनियाँ पुरुषलाई बेवकुफ बनाउँदै तिनीहरूलाई नचाएर निरन्तर लुट्नुको पछाडि उसको के बाध्यता थियो ? मेरो मन यस्तै सोच्दै थियो ।

सामाजिक सञ्जालको प्रयोगसँगै यस्तै सम्बन्ध विकास गराउने म जस्तै लुटिनबाट जोगिने /लुटिएका र प्रेमको खोजी /प्रयोगमा आँखा चिम्लिएर भावनामा नै बग्नेहरूको लागि ठूलो झापड थियो । प्रेमको प्राप्ति भित्र सामाजिक सञ्जालको प्रयोगको आवरण पछाडि पछिल्लो अवधिमा फैलिएको भयावह /डरलाग्दो रुपले मलाई घँचेट्यो । धन्य जोगिएँ ।

अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *