Skip to content

दोस्रो किस्ता


‘अहिले दिउसै टाँसिदिए हुन्न र हाकिम साहब ?’ अफिसभित्र आएर सुब्बाले यादवजीलाई सोधेको थियो । अन्तर्वार्तामा उत्तीर्ण भएका विद्यालय शिक्षकहरूको नामावलीको त्यो सूची आफैं यादवजीले खिचेर राखेका थिए । यसै बारेमा सुब्बाले सोधेको थियो । अनि सुब्बालाई हाकिमले भनेका थिए– “होइन, अहिले भीडभाड हुन्छ । बरु म भरे केही बेर अफिसमै बसेर साँझ परेपछि यो रिजल्ट टाँस्न लगाएर मात्र फर्कन्छु ।’

त्यसरी सुब्बाका हातबाट सफल हुने उम्मेदवारहरूको सूचना पाटीमा टाँस्न तयार पारिएको अन्तिम नामावलीको त्यो सूची उनैले लिएका थिए । अनि त्यसलाई निकै बेर घोरिएर जाँचेका पनि थिए । अहिले त्यही घर्रामा राखेको सूची बारबार पल्टाइरहेका छन् । अफिसबाट सबै कर्मचारी बेलुकाको हाजिर गरेर गइसकेका छन् । अफिस रित्तो छ । अफिस रुँग्ने पाले र उनीबाहेक अब कोही छैन अफिसमा । साढे पाँच बजिसकेको छ । अब साँझ पर्न पर्न लागेको छ । पालेलाई चिया बनाउन लगाएका छन् । अफिसबाहिर ऊ त्यसैको तयारीमा छ । यता यादवजी भने आफ्नो दिमागको भुँवरीमा मडारिइरहेका छन् ।

आज अन्तर्वार्ताको परिणाम सूचना पाटीमा टाँस्नु छ उनले । उज्यालैमा टाँस्ता भीडभाड हुने कुरा उनैले अघि दिउसै जनाएको र साँझ परेपछि मात्र स्वयं रिजल्ट टाँस गराएर घर जाने विचार उनले गरेका छन् । यसैले अफिसमा एक्लै छन् । उनको अनुहारमा चिन्ता र सन्देहका रेखा कोरिएका छन् । बत्ती बालेर बडो व्यग्र भएर उनी के के सोचेको जस्तो स्थितिमा छन् । पालेलाई आज अलिक अनौठो लागेको छ हाकिमसाहेबको चालामाला देखेर । अघिपछि ता यतिका बेरसम्म अफिसमा उनी बस्तैनथे किन होला आज उनी अफिसमा बसेका ? ऊ सोचिरहेको छ ।

यादवजीको जीवनमा यति बढी समस्या र तनाव यसअघि कहिल्यै भएको थिएन । पहिलो किस्ताको रुपमा कल्पनाले उनको शरीरलाई अँठ्याएर गरेको कठिन आलिङ्गन र शरीर भरि अनायासै चुमेर लगाएको सकसकीभन्दा पनि बढी उनलाई अहिले भएको छ । अब उनीहरूको परीक्षाको परिणामको सार्वजनिक गर्नु छ । मूल हाकिम बिरामी भएकाले निकै लामो बिदामा छन् । निमित्त हाकिमका रुपमा सम्पूर्ण जिम्मा उनैको काँधमा छ । उनलाई यसै कारण समस्या छ । जस अबजसको जिम्मेवारी उनैको थाप्लामा छ ।

कल्पनाको अन्तर्वार्ताको परिणामलाई हेरिरहेका छन् । अनि सोचिरहेका छन् । अन्तर्वार्ताको परिणाम पनि वास्तवमा कल्पनाका पक्षमा नै छ । २१ जना उम्मेदवारमा यसको स्थान पाँचौं छ । यसबाट उसको लिखित र मौखिक परीक्षा निकै राम्रो भएको देखिन्छ कागजमा । अन्तर्वार्ता लिने उनीबाहेक टोलीमा संलग्न सबैले उसको उत्तर उचित मानेका छन् । कोही पनि कल्पनाको अन्तर्वार्ताबाट असन्तुष्ट छैनन् । प्राथमिक विद्यालयका लागि कल्पनामा एक योग्यतापूर्ण शिक्षिकाको रुपमा उसले आफूलाई प्रमाणित नै गरिदिएको देखिन्छ । पाँचौं क्रममा आएका मान्छेलाई हटाउने स्थिति पनि छैन । यसो गर्नु उचित पनि होइन । यसैले कल्पनाको परीक्षामा सफल हुने कुरा निश्चित नै भएको छ । सूचीबाट हटाइहाल्नु पनि हुन्न । अब उसको पास हुने कुरा निश्चि भयो । तर त्यो कल्पना यस परीक्षामा पास भएपछि त्यसबाट यादवजीको जीवनमा कुन समस्या आउने हो भन्ने विषयलाई लिएर भने अनिश्चिता जन्मेको छ । यसैले आज उनी दुबिधाको अवस्थामा छन् । उसले पहिलो किस्ताको रुपमा त्यही परीक्षा सफल हुने आशा राखेर यादवजीलाई घरमा एक्लै भएको मौका पारी आक्रमणै गरेकी थिई । मान्छेहरू जागिरका लागि जे पनि गर्दा रहेछन् भन्ने कुरालाई उसले प्रमाणित गरेकी थिई । यादवजीको शरीरभरि चुमेकी थिई र त्यसलाई पहिलो किस्ता हो भनेर घरबाट बाहिरिएकी थिई । त्यो अस्ति भर्खरकै कुरा हो । यादवजी घोरिएर सोचिरहेका छन् । उतिबेलाको कुरा उनका दिमागका अघि जस्ताको तस्तै आइरहेको छ । उसले यादवजीलाई शरीरभरि चुमेर घरबाट निस्कने बेलामा जे भनेकी थिई त्यो कुरा अहिले उनी झलझली सम्झिरहेका छन्–

उसले भनेकी थिई– “सर, मेरो विद्यालयको अन्तर्वार्ता राम्रो हुनुपर्यो । मेरो रोल नं……हो । कसै गरी मैलै यस अन्तर्वातामा पास हुनुपर्छ । म त्यति जान्दछु अरु मलाई थाहा छैन । मलाई थाहा छ– तपाईंकै हातमा छ मेरो पास हुनुमा र फेल हुनुमा । अनि मेरो हातमा छ तपाईंको इज्जत असल हुनुमा र खराब हुनुमा । आफैं विचार गर्नु होला । म पास भएँ भने पनि छँदैछु र फेल भएँ भने ता झन्……। यो अहिलेको घटना मेरो जागिरको पक्का हुनका लागिको पहिलो किस्ता हो….”

उसको यो भनाइ अहिले उनका कानैमा गुन्जिएझै भइरहेको छ । यस बाहेक त्यति बेला “परीक्षामा सफल पारिदिएपछि दोस्रो किस्ता पनि दिन तयार हुन्छु” भन्ने कुरा पनि उसले जाँदाजाँदै यादवजीका अघि राखेर हिंडेकी थिई । त्यो पनि अहिले उनी सम्झिरहेका छन् । पहिलो किस्ता त्यस्तो हुन्छ भने दोस्रो अँझै कस्तो होला भन्ने उनको उतिखेरको सोच अहिले पुनः बल्झिएको छ । त्यो बेला ता कसै गरी उनले मन बहलाए । तर अब भोलि ऊ सफल भएपछि दोस्रो किस्ताका लागि कुन रुपमा यादवजीका अघि आउने हो भन्ने सोचेर उनी हुँडलिइरहेका छन् । यसै विषयलाई लिएर यादवजीले दिउसै सफल उमेदवारको नामावली टाँस्न आलेटाले गरेका हुन् । यही कारण अहिले उनी बिथोलिएका छन् । सारै कठोर तनावमा छन् ।

पहिलो किस्ताको कुराले बिथोलिएको दिन पनि यति विधि चिन्ता भएको थिएन उनलाई । आज के गर्नु र कसो गर्नु भएको छ । उसको रिजल्ट मात्र होइन सबैको रिजल्ट प्रकाशित गर्नु छ । चाहनु नै हो भने त यादवजीले उसको नाम हटाएर परिणाम टाँस्न पनि सक्ता हुन् । त्यो अधिकार पनि उनमा छ । अधिकार भएपछि त्यसो गर्दा उनलाई कसैले केही लछार्पाटो लगाउन पनि सक्तैन । तर त्यसो पनि कसरी गर्ने ? भोलि फेरि उसले कुन रुप लिएर आउने हो ? पहिलो किस्ताको प्रकरण कुन रुपमा फैलाउने हो ? इज्जत रहने हो होइन !

अँझै उनी आफैंमा तर्क गर्छन् । उसको अन्तर्वार्ता ठिक भएको छ । उसको क्षमता पनि ठिक छ । उसो भए उसलाई कसरी हटाउने त ? हटाउनै नै हो त ? सोचिरहे । कल्पनाको नाम हटाएर परिणाम घोषणा गर्दा आफूमाथि कल्पनाबाट हुन सक्ने परिणामबारे उनी अँझै गम्भीर भएर सोच्न थाले । मेरो र उसको बीचमा गोप्य सम्बन्ध छ भनेर प्रचार गरिदेली । पहिलो किस्ताको कुरालाई अझै खुलस्त गरी सार्वजनिक पनि गरिदेली । नभएको घाँडो थाप्लामा आउन सक्छ । नखाएको विख लाग्ने सम्भवाना छ । मरियो बा ! कस्तो कुदिनमा फसिएछ ! आफैंसँग उनी तर्क गर्न थाले ।

उनका अघि फेरि कल्पना अँझै दगुरिरही ।

जसरी मलाई यसले पहिलो किस्तामा जकडेर बाँधेकी थिई त्यसै गरी यो अन्तर्वार्ता लिने टोलीका अरु सबैलाई अँठ्याएर यसले यस्तो परिणाम पाएकी ता होइन ? उनको तर्क बडो सान्दर्भिक थियो । अरु अरुकोभन्दा राम्रो नम्बरमा स्थान पाउनुको कारण यो पनि हुन सक्थ्यो । उनले यो पनि सोचे । कार्यालयबाट सबै गइसकेका थिए । सफल हुने क्यान्डिडेटका नाम म आफैं टाँस्न लगाउँछु भनेर उनी एक जना पालेलाई साथ लिएर बसेका छन् । पालेलाई चिया पकाउन लगाएका छन् । ऊ चियाका साथ केही नास्ताको पनि बन्दोबस्त गर्दैछ । यता यादवजीको मनभरि खैलाबैला चलेको छ ।

अँझै सोचिरहेको छन्— अस्तिको उसको पहिलो किस्ताले जुन समस्या मेरा मनमा जन्मायो त्यसले अब अरु गति लिने कुरा निश्चित छ । नाम हटाएर परिणाम टाँसिदिऊँ भने उसले अवश्य नै बबन्डर गर्छे । उसको सफल भएको परिणामकै सूची टाँसू भने उसले मलाई दिएको पहिलो किस्ता मैले स्वीकार गरेकै अर्थ लगाउँछे अनि दोस्रो किस्ताका लागि तयार परेर आउँछे । कुन बेला घरमा आएर पहिलो किस्ताकोभन्दा अँझै अघि पुगेको प्रकरणमा ऊ तयारी पर्दछे । के त्यो बेला म फुत्कन सकुँला ? मरियो बा ! अब के गर्ने ? उसले कुन अर्थ लगाउने हो ? कुन अर्थ लाग्ने हो । हे दैव के फसाद पर्न लाग्यो !

उनी सोचिरहेका छन् । घरमा आखिर एक्लै ता भइन्छ । सधैं घरमा मलाई रुँगेर मेरी स्वास्नी बस्तीनन् पनि । लोग्नेले स्वास्नी र स्वास्नीलाई लोग्नेले रुँगेर बस्नु भनेको जति अविवेकी हुनु अरु केही नहुन सक्छ । छोराछोरीबाट ता समस्या छैन । आजभोलिका कसका छोराछोरी घरमा बस्छन् र ? अँझ घरमा मात्रै कहाँ हो र देशैमा पनि कहाँ हुन्छन् र ! अनि मेरा लागि उनी कहाँ रुँग्न बसून् पनि । के मलाई रुँगी बस भनेर भन्न मलाई सुहाउँछ ? घरमा मबाहेक अरु कोही नभएको मौका परिरहन्छ । अनि कुनै पनि बेला कल्पना आउन सक्छे । परीक्षामा सफल पारिदिनु भनेर उसले मलाई जुन बबन्डर गरी अब सफल पनि भई भने ऊ त्योभन्दा पनि अघि जाने निश्चित छ । अँगालो मात्र हालेकी थिई त्यो बेला । अब सर्वाङ्ग हुन सक्छे ! त्यसो भएमा मैले त्यो बेला के गर्ने ? आफूलाई कसरी बचाउने ? कि जे सुकै होस् ! बचाउनै पर्ला क्यारे ! कि जेपर्ला पर्ला भनेर दोस्रो किस्तालाई सकारुँ ? कि खुट्टा छाडिदिऊँ ! तर कुरा ता यो पनि सोरै आना गलत नै हो, लौ कन्या केटी भए पनि एउटा कुरा हुँदो हो । दुईदुई बालबच्चाकी आमा हो भन्ने सुनिएको छ । अब के गर्ने ? परिएन फसादमा ! उनको एक मनले काँतर भई पुकार्यो ।

उनको अर्को मनले तर्क गर्यो– आ जेसुकै होस्, जे पर्छ त्यही टर्छ । जाइ नलाग्नु, आइलागे नछाड्नू नि । के लाछी कुरा गर्या होला यो मान्छेले पनि ? आजभोलिको युग कहाँबाट कहाँ पुगिसक्यो, यो यादव मुला भने उल्टै कुनै महिलाले सतीत्व नै जाने डरले बिथोलिंदा झै बिथोलिएर काम्छ । बढी लाछी ता हुनु हुन्न है !

यसरी उनको अर्को मनले अलिक ढाडस दियो उनलाई । उनी आफैं अलिक आश्वास्त पनि बने । परिणाम पटीमा टाँस गरेर उसलाई पहिलो किस्ताको गतिविधि गर्लिस् भनेर फेरि चेतावनी पो दिने हो कि ? सोचे । आ भैगो, केको चेतावनी र सेतावनी । फेरि आपैंmलाई उनले सम्हाले । बेकारमा आफैंभित्र पालेका चिन्ताले आफूलाई के डढाउने ? भोलि जे हुन्छ हुन्छ नि ! हो पनि । भोलिको अवस्थाले आजै बिथोलिने हो भने प्रगति नै कसरी हुन सक्छ र ! उनले फेरि आफैंलाई ढाडस दिए अलिक दार्शनिक बनेर ।

त्यसै बेला पालेले उनको टेबुलमा चिया र नास्ता लिएर आयो । उनी ता धुम्धुम्ती थिए टेबुलमा ।
‘के हजुरलाई सन्चो भएन ?’ सोध्यो ।

‘अलिक टाउको दुखेको मात्र हो । खास बिसन्चो छैन । तर म अब एउटा निर्णयमा पुगें । एउटा चलाखी नगरी भएन’ उनले भने ।

पालेले केही बुझेन । उनले के भनेको हो त्यो । तैपनि उसले उति चासो नराखी बाहिरियो ।

‘पाले दाइ, साँझ पर्न लाग्यो होइन ?’ सोधे चिया खाँदै बाहिर निस्कन लागेका पालेलाई ।

‘यो नामावलीको सूची सूचना पाटीमा अब टाँसिदिनुहोस् त ।’ उनले त्यतिबेलै अराए र त्यो नामावली जस्ताको तस्तै केही अदलबदल र तलमाथि नगरी टाँस्न लगाए ।

यादवजीले कल्पनाले भरेको फारमबाट अस्तिनै त्यसको टेलिफोन नम्बर टिपेका थिए । अचानक उनका मनमा एउटा नयाँ जुक्ती आइसकेको थियो । त्यही कल्पनको नम्बरमा हतार हतार कल गरे–

“हेलो कल्पना हो ? म यादव बोलेको ।”

उताबाट सायद कल्पनाकै उत्तर आयो क्यारे । यादवजी यताबाट एकोहोरो भन्न थाले— ‘तिमीलाई बधाइ छ । तिमी पास भयौ । पास भएको र जागिरे भएकोमा फेरि पनि बधाई । अनि पर्सिदेखि नियुक्तिपत्र लिन सकिन्छ । आफैं आएर नियुक्तिपत्र लिनू । तर यो किस्ताबन्दीको कुरा भने अलिक…………!’

समाप्त

श्रद्धेय पाठकवृन्द ।

यहाँहरूले पहिलो किस्ता नामको कथा यस अघि नै पढेको भए मात्र यसको पारस्परिक सम्बन्ध शृङ्खला बुझ्न सक्ने भएकाले पहिलो किस्ता कथा नपढेका पाठकहरूले मझेरीमै खोजेर त्यो कथा पनि पढ्नु भए यसको क्रमिकताबोध हुन सक्ला भन्ने अनुरोध गर्छु । होम सुवेदी

2 thoughts on “दोस्रो किस्ता”

    1. धन्यवाद
      मझेरीले मलाइ यसरी रेस्पोन्स गरेकोमा म यसका टीमलाइ हार्दिकता जनाउँछु । मेरा सामग्रीहरु यसमा सकेसम्म प्रयोग गर्दै जानेछु । बरु कथाको तयार पुस्तकको प्रकाशकको खोजीमा छु । हार्दिकताका साथ मद्दतको अपेक्षा पनि राख्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *