Skip to content

राजविराजमा सगरमाथाका साहित्यकारको जमघट

20140713_NandaLalAcharya_News


राजविराज, २६ असार, २०७१ । विभिन्न विधा र क्षेत्रमा कलम चलाउदै आएका सगरमाथा अञ्चलकका साहित्यकारहरूले विहिवार राजविराजमा भव्य जमघट गरेका छन् । भानुभक्त द्विसतवार्षिकी समारोह समिति सगरमाथा अञ्चल कमिटिले साहित्यकारहरूलाई यो जमघटको ब्यवस्था मिलाएको हो ।

भानुभक्तको द्विसतवार्षिकी समारोह अन्तर्गत आयोजना गरिएको ‘विचार तथा काब्य गोष्ठी’ का अवसरमा जिल्ला विकास समिति सप्तरीको सभाहलमा भेला भएका साहित्यकारहरूले लामो समयपछि एकै थलोमा वसेर आ आफनो श्रृजना प्रस्तुत गरे । नेपाली, मैथिली, हिन्दी लगायतका विभिन्न भाषामा आफ्ना रचना प्रस्तुत गर्दै उनीहरूले जुनसुकै जाति, धर्म, संस्कृती र क्षेत्रको भएपनि आफुहरू नेपाली भएको सन्देश दिए ।

कार्यक्रममा माओवादी द्वन्दकालको पीडा, एकतन्त्रीय शासन पद्धतीको विरोध, वर्तमान देशको परिवेस तथा नेपालमा रहेका प्राकृतिक श्रोत र जडीवुटी तथा अन्य विभिन्न क्षेत्रसग सम्वन्धित भएर रचनाहरू प्रस्तुत गरिएको थियो । उनीहरूका रचनामा कतै ओक्रोस र आवेग भेटिन्थ्यो भने, कतै विरह र वेदनाका गाथा अनुभव गर्न पाईन्थ्यो । साहित्यकारहरूले आफना श्रृजना प्रस्तुत गरिरहदा श्रोताहरू कहिले भावुक भएर सुन्थे भने कहिले तालिको गडगडाहटले हलनै गुन्जयमान वनाउथे ।

आयोजकको निमन्त्रणा र साहित्यप्रति लालयित भएर कार्यक्रममा आएका सप्तरीका सिडिओ तथा विशिष्ठ अतिथि नरहरी वराल समेत साहित्यकारको जमघट र उत्साहलाई देखेर घरी जोसीएर उठ्थे भने कहिले वाचकको मुहार हेरेर टोलाई रहेका देखिन्थे । तर, कार्यालयमा भिड लागेको भन्दै पटक पटक खवर आएपछि उनी कार्यालय फर्कन वाध्ये भए । उनले जादाजादै भने–‘मलाई आज यो कार्यक्रम छोड्न मन छैन, तर जनताका काम रोके भने फेरि मेरो पनि कविता वन्ला भन्ने चिन्ता छ ।’ कार्यक्रमवाट निस्कनु अघि मन्तब्य ब्यक्त गर्दै सिडिओ वरालले भानुभक्त द्विसतवार्षिकी समारोह समिति सगरमाथा अञ्चल कमिटिद्वारा आयोजित साहित्वीक कार्यक्रमले असार मसान्तमा हुने गरेका भत्ते गोष्ठीलाई समेत विर्साएको वताए । उनले भानुभक्तले देखाएको वाटो र उनले छोडेको शिक्ष्ाँलाई अनुकरण गर्न सवैलाई आग्रह समेत गरे ।

कार्यक्रमका अर्का वक्ता सुरेन्द्र गुप्ताले भने वर्तमान राजनितिक परिवेसका कारण साहित्य विस्थापित हुन लागेको भन्दै चिन्ता ब्यक्त गरे । समय र परिवेसका आधारमा साहित्य श्रृजना हुने भएकोले वर्तमान परिवेस साहित्यका लागि अनुकुल नभएपनि देश विकास र सकारात्मक सोचका लागि अहिले साहित्वीक क्रान्तिको आवश्यक्ता रहेको उनले औल्याए ।

भानुभक्त द्विसतवार्षिकी समारोह समिति सगरमाथा अञ्चल कमिटिका उपाध्यक्ष तेजनारायण शेर्पा ‘रञ्जन’ को अध्यक्षतामा आयोजित गोष्ठीमा साधना झा, आभासेतु सिंह, सत्यन्द्रनारायण चौधरी, मञ्जु श्रेष्ठ, विवेकानन्द मिश्रा, श्यामसुन्दर यादव, पिंकी झा, आरएन सागर, तेजनारायण शेर्पा ‘रञ्जन’, प्रकाश खतिवडा, ध्रुव मण्डल, विद्यानन्द वेदर्दी, रवेन्द्र रवि लगायतका सर्जकहरूले आ–आफ्नो रचना वाचन गरेर सुनाएका थिए ।

मनोहर पोखरेलले सञ्चालन र आयोजक कमिटिका सचिव नन्दलाल आचार्यले भानुभक्तको जिवनी वारे प्रकाश पारेको उक्त कार्यक्रममा मैथिली महासंघका विष्णुकुमार मण्डल लगायतका वक्ताहरूले साहित्यका क्षेत्रमा भानुभक्तले पुर्याएको योगदानको चर्चा गर्दै उनको अनुसरण गर्न सके साहित्य र देश विकासको लागि समेत सहयोग पुग्ने तर्क गरे । उनीहरूले भानुभक्तको जिवनीमाथी चर्चा गर्दै उनले विश्वभरीका नेपालीभाषीलाई एक शुत्रमा वाध्ने काम गरेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *