Skip to content

तेस्रो किस्ता


कल्पना शिक्षा कार्यालयमा यादवजीले भनेकै दिन नियुक्ति पत्र लिन आई । नियुक्तिपत्र बुझिसकेपछि कल्पनालाई यादवजीसँग भेट्ने मन भयो तर यादवजी त्यस दिन कार्यालयमा आएका थिएनन् । अफिसको व्यस्त कामले गर्दा निकै धपेडी परेको कारण उनी अलिक तनावमा थिए र कपाल दुखेर बिसन्चो महसुस गर्दै घरमै बिरामी बिदा लिएर बसेका थिए । यसै कारण त्यस दिन शिक्षा कार्यालयमा नियुक्तिपत्र लिन गएकी कल्पनाको यादवजीलाई भेट्ने इच्छा भने तत्कालका लागि अधुरै रहन गयो । तैपनि उसले पिउनलाई सोधी–“आज हाकिम साहेब आउनुभएन ?”

“को हाकिम साबलाई सोध्नुभाको ?” पिउनले कल्पनालाई स्पष्ट हुनका लागि सोध्यो ।

“यादव सर क्या !”

“ए, यादव सरको कुरा गर्नु भएको रहेछ । उहाँ आज अलिक बिसन्चो भएकोले आउन सक्नुभएन भन्ने कुरा छ ।” पिउनले भन्यो । कस्तो बिरामी पर्नुभएछ त ! उनले मनमनै सोची । त्यसपछि कार्यालयबाट नियुक्तिपत्र बुझी र सरासरी घरतिर लागि । यसै बिच घरतिर लाग्दालाग्दै बाटैबाट यादवजीलाई उसले फोन गरी ।

घरमा एक्लै थिए यादवजी । ओछिनमा यसै ढल्किरहेका यादवजीको मोबायलमा अचानक कल्पनाको फोन आएको थाहा भयो । उनलाई कल्पनासँग कुरा गर्न मन भएन । अनि फोन काटिदिए । अस्ति मैले कुरा बिगारेंछु क्यारे । विचार पुर्याएर मात्र…… भनेको थिएँ । सोचे । अनि उनको मन भरि विचार मडारियो । फोन उठाएर घरमै छु भनिदिनु हो भने पहिलो किस्तामा उसले कबोलेको किस्ता बुझाउन आजै ढुन्मुनिदै आइपुग्छे । घरमा छु भन्नु हुन्न बा । अँझ एक्लै भएको थाहा पाई भने……! अब त्यसले कुन बबन्डर मचाउने हो भन्ने लागेर उनले फोन काटिदिए ।
उनका मनमा कल्पनाले केही समय चियाई । हुन ता कल्पना नराम्री चाहिं होइन है । दुईओटा छोराछोरीकी आमा भन्न नै सकिन्न । उसको लोग्ने भने विदेश गएको मौका छ । आइमाईहरूले खुट्टा कमाउने बेला नै यस्तै हो । मान्छेहरूले यस्तै मौकामा फाइदा लिन्छन् । के म पनि यसबाट फाइदा उठाऊँ त ? अहिले पास भएको बेला छ उससँग जे माग्यो दिन तयार हुन्छे । केको मागिरहनु पर्छ त्यसै मेरा अघि प्रस्तुत हुन सक्ने कुरा पहिलो किस्ताबाटै थाहा भएकै हो नि । उनी निकै बेर घोरिए ।

यसै उसै सोचिरहेका थिए, फेरि पनि फोन आयो । त्यो पनि उनले रिसिभ गरेनन्, त्यसलाई पनि काटिदिए । उनले सोचे– घरमा म एक्लै छु । अस्तिकै जस्तो गरेर घरमा आएर फेरि कुन धुम मचाउने हो त्यसले । अब जागिरै पाएपछि ता उसले मलाई उपकार गरेको ठानेर अन्तिम किस्ता बुझाउन बेर लाउँदिन ।

अन्तिम किस्ता ? तर्क गरे आफैं । अन्तिम केको हुन्थ्यो । किस्ताको विशेष किसिमको भाग नि अब ! पहिलो किस्ता ता त्यस्तो उपध्रो किसिमको थियो भने अबको किस्ता ता कुनै लाजसर्मको पर्दाभन्दा परकै हुनुपर्छ । किस्ता बुझाउन उसलाई के छ र ? मौका छोपेर मेरा घरमा आयो, घरभित्र पस्यो, सके ता ओछिनमै बस्यो अनि ममाथि उसको यौन अर्पण गरिदियो……

यादवजी यस्तै केके सोच्तै थिए । सोच्तासोच्तै अर्को पटक फेरि कल्पनाको फोन आयो । यसपटक भने यादवजीले फोन रिसिभ गरे अनि एकैचोटि झुटो उत्तर दिए— “कल्पना म डाक्टरकोमा छु । अहिले म चेकपमा छु । मसँग भेट्नु छ भने भोलि अफिसमै भेट्नु है ।” उताबाट कल्पनाले केही भन्नै नपाई उनले फोन काटे र हलुको भएको अनुभव गरे । अफिसमै भए पछि ता त्यसलाई किस्ता बुझाउन सजिलो पर्दैन । मलाई पनि यहाँ घरमा जस्तो सतर्क हुनु र थरहरी भइरहनै पर्देन । यस्तै सोच्तै थिए, हलुका अनुभव गर्दै थिए, गर्दा नगर्दै फेरि आयो फोन । अब ता उनले स्वीच अफ नै गरे ।

कति हो त्यसले दुःख दिएको पनि ! उनी सोचमग्न भए ।

यादव निकै दार्शनिक बनेर सोचमा डुबे । कसैले कसैमाथि उपकार गरिदियो भने उपकृत हुने मान्छेलाई उपकार गरिदिनेका सामु कृतज्ञता मात्रै भए पनि जाहेर गर्न मन लाग्छ । यसलाई पनि मन लागेकै होला । मान्छेहरू कसैबाट उपकृत हुने स्थिति आयो भने त्यस्ता उपकार गर्नेहरूसँग केही भए पनि कृतकृत्य हुन चाहन्छन् । कल्पना ता झन् किस्तै बुझाउने गरी उपकारको भरपाही गर्न चाहन्थी, सायद यसको अबको फोन किस्ता तिर्ने मिति तय गर्ने हुन सक्छ । यस गुनको बदला कसरी तिरौं भन्ने कुराले ऊ निकै तनावमा पनि हुन सक्छे । अँझै उसको लोग्ने नभएको अवस्थामा शारीरका लागि पनि किस्ताको खाँचो पर्न थालिसकेको हुुनुपर्छ । यो कुराले कल्पनाका मनलाई अहिले झन् बढी हुँडलेको हुनु पर्छ । खै के छ त उपाय ? यसको किस्ताबन्दीबाट अलग हुने ? कि म यसले बुझाउन चाहेको किस्ता बुझूँ हँ ? अहँ, बुझ्नु हुन्न बा………..

कल्पनाको अफरबाट अलगै हुने त यादव ? उनका अर्को मनले सोध्यो यादवलाई । साँच्चै नै अलगै हुने त ? तँभित्र अलिकति तुस ता रहेकै देख्छु त म ता । बेला बेला ता किस्ताबन्दी बुझ्ने कुरा पनि गर्दैछस् त नाथु ! यादवको मनमा बाझाबाझ भयो । वास्तवमा यादवको एउटा मन कता कता माझिएको पनि थिएन । त्यो मनभरि उफान उठिरहेको थियो । यादवजीका त्यस मनभित्र द्वन्द्व झुत्ती खेलिरहेको थियो । यस्तै अवस्थामा उनी घरभित्रै बसेर समाचार हेर्दै ढल्किरहेका थिए । समाचार हेर्नु के थियो र कल्पनाको किस्ताबन्दीको भुँवरीमा डुबुल्की मारिरहेका थिए । झुटमुटमै बिरामी भएको र डाक्टरकोमा भएको कुरा गरिदिएँ, यसको वास्तविकता थाहा पाई भने झन् उसले कुन उखपात गर्ने हो । लाछी र नामर्द नै पो भन्ने हो कि ! सोचाइका साथ यादवजीका मनमा चिन्ता पनि उठ्यो ।

यता कल्पना भने यादवजी अस्पतालमा भएको कुरा सुनेर बडो चिन्तित भई । उनी कुन अस्पतालमा र कुन डाक्टरकोमा छन् भन्ने जिज्ञासा उसका मनमा पलायो । बरु भेट्न पाए पनि हुने भन्ने लाग्यो् । अनि उसले यादवजीको कुशलताको कुरा बुझ्न यादवजीकी धर्मपत्नीलाई तिनका अफिसमै फोन गरी । यादवकी पत्नी अफिसमै थिइन् । उनले फोन उठाइन् अनि कल्पनाले कुनै पृष्ठभूमि नै तयार नगरी सोधी– “मेडम नमस्कार । म कल्पना बोलेकी । सर ता बिरामी भएको कुरा पो सुनें । सर के बिरामी हुनुभयो ? मलाई ता बडो चिन्ता पो लाग्यो । कुन डाक्टरकोमा जानुभएको छ जानकारी दिनु न !”

“मैले तपार्इंलाई चिनिनँ । तपाईंले रङ नम्बरमा फोन गर्नुभएको जस्तो छ । सही नम्बर डायल गर्नुहोस् है ।” भन्दै यादवजीकी धर्मपत्नीले पनि फोन काटिन् । उनलाई ता आफ्ना पति घरमा बिदा लिएर बसेको कुरा स्पष्ट थाहा थियो । दुई घन्टा अघिसम्म साथै थिए । बिरामी भएको भए पहिले ता आफूलाई खबर हुनु पर्ने हो । उनले सोचिन् र त्यसतिर वास्तै गरिनन् । अनि कल्पना एकाएक यादवजी बिरामी परेको कुरालाई लिएर आफैं बिरामी परेजस्ती भई । के हो कुरा ? उसले घरैमा गएर बुझ्ने विचार गरेर यादवजीको घरतिर लागि ।

यादवजीको घरमा अचानक कल बेल बज्यो । सुस्ताउँदा सुस्ताउँदै उनी अलिक झकाउन थालेका रहेछन् । कलबेलले गर्दा उनी बिउँझिए । ढोका खोल्नै परेन, जाली भएको ढोका भएकोले भित्रैबाट कल्पनालाई उनले चिनिहाले— वास्तवमा कल्पनै रहिछे । लौ मरिएछ । उनले तत्काल सोचे । किस्ता पो आएछ ! अब के गर्ने !!

अचानक उनका दिमागमा कुरा फुरे । कानमा मोबायल लगाउँदै हतारिएजसरी बाहिर निस्किए ।

“हजुर ! हजुर !! ए, ए….. ला है । बितेछ ! म आइहाल्छु नि त । तुरुन्तै आइहालें नि त !” फोनमा कुरा पारे । अनि कल्पनातिर हेरेर उनले भने “कल्पना, म त्याँ छिमेकीकोमा जानु पर्ने भो । तिमीसँग कुरा गर्न पनि पो पाइँन । बडो हतारो गरी पो बोलाए । तिमीलाई केही भन्नु थ्यो ?!”

“अनि बिरामी भन्नुभएको होइन ? के बिरामी ?” सोधी–बाहिरै बसेर ।

“खास होइन । रुघा खोकी मात्र हो । दवाइ लिएर आएको छु । अलिकति टेन्सनले टाउको दुखेको थियो । अब निको भइहाल्छ ।” कुरा पार्दै उल्टै सोधे– “तिम्रो केही काम ता छैन नि ? भए पनि पछि गरौंला है । अहिले मलाई हतार छ । तिमीलाई ता बाहिरबाटै पो बिदाइ गरें त मैले । अप्ठेरो नमान है ।”

“हस्, कुरा गर्नु ता थियो नि । पछि गरौंला न त अहिले हजुरलाई हतार रैछ । नियुक्ति लिएर आएकी ।”

“पास भयौ, त्यसका लागि बधाइँ छ !” घरको ढोका लगाउँदै यादवजीले कल्पनालाई आज फेरि बधाई दिए ।

“धन्यवाद !!” उसले भनी ।

“त्यस्ता धन्यवादले मात्र पुग्दैन ।” यादवजीका मुखबाट निस्कियो अनि पो यो भनाइबाट लाग्न सक्ने अर्थको बोध भयो । ‘आच्या के भनेको होला मैले ?’ उनले मनमनमा सोचे । पछुताउ समेत भयो उनलाई ।

“म छँदै छु नि सर । हजुरले भन्नु पर्यो कल्पना हाजिर !!” कल्पनाले मौका छोपी । उसलाई ता यता पास भएकोमा कृतज्ञता जनाउनु थियो, किस्ता बुझाउनु थियो । उसका मनमा निकै किस्ता बाँकी थिए यादवजीलाई तिर्न । एकातिर कल्पनाका मनमा किस्ता बुझाउने सकसक थियो अर्कातिर उसैका लागि पनि किस्ताको अभावमा निकै खटप६ भइसकेको थियो । त्यसका अभावमा निकै लामो समय बितिसकेको थियो । अनि यस अन्तरालले उसलाई मानसिक रुपमा केही सकस पनि परिरहेको थियो । एक पन्थ दुई काजको इच्छा थियो उसको तर अहिलेलाई त्यो अधुरै रहने भयो । पाकेको भात सेलाउने भयो । मोटरसाइकल लिएर यादवजी घरबाट निस्किए । कल्पनालाई घरबाट बाहिर जाँदाजाँदै भने– “अहिले म हतारमा छु । मलाई फुर्सद भएन । पछि कुरा गर्दै गरुँला है ।”

“हस् । म पनि घरै जान्छु अब ।” भन्दै कल्पना पनि उसका घरको दिशातिर लागि । यादवजी भने अज्ञात गन्तव्यतिर लागे ।

“यादव अहिलेको किस्ताबन्दीको म्याद ता कसै गरी तामेल भयो तर भोलि पर्सी तेरो के गति हुने हो तैं जान्……….!!” अनिश्चित गन्तव्यतिर लागेका यादवजीको मनले उनलाई लल्कार्यो ।
यादवको अर्को मनले भन्यो–“भोलिको कुरा देखाजाएगा, अहिलेलाई कसै गरी समस्या टर्यो…… टर्यो…..” सोच्ता सोच्तै यादवले लामो सास फेरेर मोटर साइकलको एक्सिलेटर दवाए । त्यो बेलासम्म पनि उनी कता जाने हिंडेका हुन् उनैलाई थाहा थिएन ।

मझेरीमा पहिलो पटक प्रकाशित समय – 2013-12-22 21:42:01 +0900


भर्खरै दोस्रो किस्ता कथा पढेका पाठकले अवश्य नै यसलाई त्यसैको परिपूरकका रुपमा लिनु हुने छ ।

दोश्रो किस्ता – https://www.majheri.com/node/13718
पहिलो किस्ता – https://www.majheri.com/node/13095

Leave a Reply

Your email address will not be published. Required fields are marked *