टिनिन्न………………………टिनिन्न……………. ! मध्यरातमा आएको फोन कलले निद्रा खलबल्याइदियो ।
हेलो! हेलो !
रमेश बोल्नु भएको हो ?
हजुर बोल्दैछु ।
कहाँबाट को बोल्नु भयो यति राति ?
म त्रिभुवन विमनस्थलको अध्यागमन शाखाबाट ।
तपाईको साथी लेखबहादुरको……………….यहाँ आईपुगेको छ । बुझ्न आउनु पर्यो । हामीले अरु सम्पर्क व्यक्ति भेट्टाउन सकेनौँ । तपाईको सम्पर्क नम्वर बाहिर टाँसिएको रहेछ । त्यही भएर फोन गर्यौँ । कहिले/ कति खेर आउनुहुन्छ ?
अहिले राति भएको कारणले आउन असम्भव जस्तै होला भोलि बिहान सबेरै आउँछु ।
तपाईको साथी, लेखबहादर, फोनसँगै आएको अस्पष्ट आवाज । रातभर निद्रा परेन । छटपटी भई नै रह्यो ।
म र लेखबहादर बाल्यकाला देखिको साथी । अत्यन्त मिल्ने । मिलनसार लेखबहादुर हाम्रो घर थोरै तलमाथि भए पनि हाम्रो सम्बन्ध बालपन जस्तै निष्कलङ्क थियो । नजिकको थियो । हामीले ८ कक्षा सम्मको अध्ययन घर नजिकै को निम्न माध्यामिक विद्यालयमा बितायौँ । माध्यामिक स्कूल गाउँ नजिक नभएकाले हामी छुट्टिनु पर्यो । म मामाघरमा बसेर पढ्नु पर्ने भयो । उसले मामाघर टाढा र पारिवारिक स्थिति कमजोर भएकाले तत्कालै पढाई सुरु गर्न सकेन । एक बर्ष ढिला गरेर ऊ शहर छिर्यो । पढाई निरन्तरता दिन थाल्यो । पढाईको थप मात्राले छुटिन पुगेको हाम्रो सहयात्रा क्रमशः टाढा बन्दै गयो । पढाई बिदा भएर म घर आईपुगेको समयमा ऊ आएको हुँदैनथ्यो । ऊ आएको समयमा म आउने अवस्था रहँदैन थियो यसरी हाम्रो सानै देखिको अगाध मित्रता पढाईको कारणबाट पर सर्ने अवस्था बन्यो । पछि सुनेँ उसले प्रवेशिका परिक्षा उतिर्ण गर्यो । कलेज भर्ना पनि भयो । सानो तिनो जागिर पायो । काम गर्दै पढाईलाई निरन्तरता दिँदैछ । म पनि स्नातक तहको अध्ययनको अन्तिम बर्षको परिक्षाको तयारी गर्दै थिएँ । दशैँको समय थियो । ऊ गाउँमा आएको रहेछ । धेरै पछाडि, संयोगले हाम्रो भेट भयो । भालाकुसारी गन्थन /मन्थन निकैबेर चल्यो । पढाईमा खासै प्रगती गर्न नसकेको तथा अहिलेको जागीरले घर चलाउन मुस्किल भएको र अतिरिक्त आम्दानीको जोहो नभएको निराशा/कुण्ठा पोख्यो । ऊ पढाई, सानोतिनो जागिर र कलेज तहको राजनीतिमा पनि उतिकै सक्रिय रहेछ । धेरै नबोल्ने तथा सितीमिति आफ्नो कुरा अरुलाई नखोल्ने अन्र्तमुखी स्वभावको ऊ ठ्याक्कै बदलिएछ । बोलक्कड भएछ । राजनीतिको प्रभाव परेछ । धेरै पछि भेट भएको ऊ साँच्चै बदलिएछ । राष्ट्रिय राजनीति, आसन्न निर्वाचनका विषयमा आफ्नो पक्षधरताको विषयमा उसले खुलेर चर्चा परिचर्चा गर्न थाल्यो । मैले पनि केही जाने बुझेको विषय थियो । उसँगको त्यो भेट त्यस्तै बहससँगै सकियो । आमनिर्वाचन नजिँकिदै थियो । म स्नातक तहको पढाई पुरा गरेर गाउँकै विद्यालयमा माध्यामिक तहमा पढाउन थालेको थिएँ । निर्वाचनको सन्दर्भले होला, उसले गाउँ आउजाउको क्रमलाई बाक्लो बनाउन थालेको थियो । उसँगको मेरो पुरानो मित्रता पुनः झाङ्गिन थालेको थियो । मलाई राजनीति उति चासोको बिषय थिएन तर पनि राज्य सञ्चालनको माउ नीति नै राजनीति भएकाले र देशको विग्रँदो राजनीतिप्रति म पनि धेरथोर चिन्तित थिएँ । निर्वाचनको मिति नजिकिँदै थियो । गाउँमान चुनावी सरगर्मी पनि बढेको थियो । ऊ गाउँ /गाउँ चहार्दै आफ्नो पक्षमा जनमत बढाउन दत्तचित्त थियो । कलेजको राजनीतिमा होमिएको, पढेको तथा गाउँका दुःख सुखसँग भिजेको र गाउँको मट्टिमा नै हुर्किएकोले उसले जनमानसमा निकै राम्रो छाप पार्न सफल भयो । निर्वाचनमा उसकै पक्षधरको बिजय सम्भव भयो । धेरै समय अगाडिदेखि अर्काको बाहुल्य रहेको क्षेत्रमा उनीहरूले झण्डा गाडे । एक किसिमलेभन्दा त्यो बिजयमा उसको पसिना प्रशस्त परेको थियो । उसको मुहारमा एक किसिमको उज्यालो पनि देखियो । उसकै आग्रहलाई नकार्न नसकेर मैले मात्र होइन गाउँका सबैले नै उसैको पार्टीलाई सहयोग गर्यौँ । निर्वाचन लगतै कलेजको कन्फ्रेन्समा भाग लिन ऊ शहर हानियो । निर्वाचन पछाडि सरकार गठन आदिको काम हुँदै थियो ।
कलेजको कन्फ्रेन्सको बिहान उसले मलाई फोन गर्यो उसको पक्षमा माहौल राम्रो भएको तर संस्थापन पक्ष तथा माथिल्लो नेताको सहयोग नमिलेको दुखेसो पोख्यो । दुभाग्र्यवस् ऊ त्यो निर्वाचनमा पराजीत भएछ । आमनिर्वाचनमा डटेर लागेको तथा राजनीतिमा प्रखर र उदयीमान त्यो युवा राजनीति भित्रको कुटिलता र घात/प्रतिघातका कारण क्रमशः पछाडि पर्दै गयो । उसले राजनीतिमा सुम्पिएका जाँगरका उर्वर बिहानीहरू, राजनीतिमा नै सम्भावना देखेर त्यागेका सानातिना अवसरहरूले उसको जीवनमा तथा उसको भाकाको देश परिवर्तनमा खासै भेद/परिवर्तन आएन । एक्लो छोरो तथा गरिव पृष्ठभूमिको उसको परिवारको आम्दानीको श्रोत ऊ नै थियो । बाउ बुढा भइसकेका थिए ।
एक दिन बिहानै म बरण्डामा बसेर चिया पिउँदै स्कूलको आन्तरिक परिक्षाको लागि प्रश्नपत्र तयार पार्दै थिएँ । लेखबहादर कि आमा मेरो छेऊ आइन् । टुसुक्क बसिन् र सुँक्क..सुँक्क रुदै आफ्नो दुखेसो पोखिन् ।
हेर् रमेश, मेरो छोरा लेखे र तँ एकै महिनाको हौ । तैँले लेखेलाई सम्झाईदेन, अब यो चालाले हुन्न । बाऊ बुढा भइसके घरको जिम्वेवारी बढ्दै छ । अब सानोतिनो जागिर खोज् भनेर, हाम्ले भनेको मान्दैन । लेखेले नचाँहिने राजनीतिको पछाडि लागेर सबै व्यवहार बिगार्यो । उसकी आमा सुँक्क सुँक्क रोइरहिन् । लेखेकी आमाको कुराले मलाई किंकर्तव्यविमुढ बनायो । मभन्दा जान्ने तथा हरेक पस्थितिको सामना गरेर राजनीतिमा होमिएको उसलाई सम्झाउने ल्याकत कहाँ ममा थियो र उसको कुरा सुन्दा म आफूभन्दा बढि जान्ने बुझ्ने लाग्थ्यो तै पनि उसको आमाको कुराले गर्दा म लेखेलाई सम्झाई दिउँला नभनिरहन सकिन । आमा हिँडेपछि तत्काल उसलाई फोन गरेँ । उसँग धेरैबेर कुरा भयो । ऊ राजनीति तथा घरायसी व्यवहारबाट अवाक् भएर विदेशिन लागेको रहेछ । घरमा आमालाई सम्झाई दिन तथा घरायसी अफ्टेरो तथा दुःखमा हेरीदिन आग्रह गर्यो र अलिकति पैसाको जोहो गरिदिन भन्यो । मैले सकेको सहयोग गर्छु भन्ने बचन दिएर फोन राखिदिएँ ।
मैले उसको घरमा गएर आमालाई सम्झाउने कोसिस गरेँ । आमाको मन त हो नि एक्लो छोरो, बुढेसकालमा चटक्क छोडेर विदेशिन लाग्दा कसको मन कटक्क खाँदैन र तै पनि सम्हालिएर ढिला भए पनि छोराको चेत आएको ठान्दै आमाले रुन्चेहाँसो हाँसिन् । मझेत्रोले आँखाँको आशु पुछ्दै मतिर फर्किन् र भनिन् –
बावु, पैसाको बन्दोवस्त कसरी गरेछ त ?
पैसाको जोहो मैले गर्दिएको छु । पैसाको चिन्ता गर्नु पर्दैन, आमा !
अवको एक महिना भित्रमा ऊ कतार जान्छ रे ।
एक हप्तामा मैले आवश्यक पैसाको बन्दोवस्त मिलाइदिन्छु ।
आमालाई अधैर्य भएछ क्यारे चुपचाप घरतिर फिरिन् ।
एक हप्ता भित्रमा आवश्यक पैसाको प्रवन्ध मिलाएर म काठमाडौं पुगेँ । पैसा दिएँ । म्यानपावरका कर्मचारीसँग आवश्यक जानकारी तथा उनीहरूको सम्पर्क नम्वर लिएर र आवश्यक पर्दा सम्पर्क गर्न भन्दै म लेखबहादुरसँग विदा भएर घर फर्के ।
एक महिना पछि लेखबहादुर कतार उड्यो । केही समय उसको घर /परिवारलाई सम्झाउन मलाई हम्मे पर्यो ।
स्कूल छुट्टि भएको समय पारेर काठमाडौँ आई पुगको थिएँ । केन्द्रमा स्कूलको काम मिलाउनु थियो । अचानक राति एअरपोर्टबाट फोन आयो ।
भोलिपल्ट बिहान हतार हतार एअरपोर्ट पुगेँ । अध्यागमनमा सम्पर्क राखेँ । लेखबहादरको ‘डेथ वडी’ आई पुगेको र म्यानपावर प्रतिनीधि बुझ्न नआएकोले मलाई सम्पर्क गरिएको रहेछ । म छाँगाबाट खसेको जस्तो भएँ । ओठ तालु सुकेर खँङ्ग्रङ्ग भो । दिमाखले काम गर्न छोडे झैँ भयो ।
घर परिवार तथा वैयक्तिक जीवन समृद्धिको सपना मनमा सजाएर विदेशिएको लेखे कफिनमा कोचिएर फर्किएछ ।
विमानस्थलको चिसो भुँईमा बाकसमा बेरिएको त्यो जड्वत/ मृत्युवत शरिर कसरी झ्ने । के गर्ने । कस्तो अपहत्तेमा परेँ म । अब उसको आमालाई के भन्ने ? उमेरले डाँडापारी पुगेका, सन्तान सुखको सपना मनभरी सजाएका ती बृद्ध बा -आमालाई तिम्रो छोरा मरेछ, सतगत् गर्न आओ कसरी भन्ने ?
लास अगाडि ठिङ्ग उभिँदा मुटु एक्कासी चिसो भएर आयो । गोजीमा गतिलो पैसा थिएन । लास बुझेर सत्गतको प्रकृया अगाडि बढाउनुको विकल्प पनि थिएन । मोवाईलमा नम्वर नियाल्दै भटाभट सम्पर्क गर्न थालेँ । गाउँ,टोल, ईष्ट, मित्र, नर- नाता आदि सबैलाई सम्पर्क गरेँ तर बृद्ध वा- आमालाई कसरी भन्ने, के भनेर सम्झाउने धर्मसंकट पर्यो ।
गाउँमा हल्लि खल्लि भयो । सबैले थाहा पाए । बृद्ध बा आमालाई नभन्ने निधो भो । साथी खोजेर सद्गत् गर्ने भाग ममा पर्यो ।
सोम वाईवा एक जना मात्र चिनेको साथी थियो । उसलाई बोलाएँ । नजिकको साथीको ‘डेथवडी’ आएको र सत्गत् गर्नुपर्ने भएकोले एअरपोर्ट आउन भने । ऊ तत्काल आईपुग्यो ।
अब अर्को साथी पनि भएकाले आवश्यक प्रकृया पुर्याएर लाश बुझ्ने काम भयो । लाश बुझियो ।
एअरपोर्ट बाहिर विदेश जानेको लामा लाइन थियो । रिक्सामा कफिन राखेर बाहिरिँदै गर्दा विदेश जान आतुर थुप्रै अनुहार मध्ये धेरैले त्यो कफिन नियाले तर किञ्चित दुःख चिन्ता पिर ती अनुहारमा देखिएन । ती जस्तै सपना सजाएर बाहिरिएका थुपै अनुहार बाकसमा बेरिएर फर्किदै गरेका प्रति ती वेखवर/वेपरवाह देखिए । साँच्चै नेपाली समाजले हरेक तस्विर पचाउन सक्ने भएछ । मन वेचैन भयो । सोच्दा सोच्दै आर्यघाट पुगिएछ । आर्यघाटमा लाशको भीड रहेछ । तीन घण्टा ढिलो गरी पालो आयो । आर्यघाटमा मृत्युका विभिन्न आर्तनाद थियो । स्वभाविक मृत्युदेखि अस्वभाविक मृत्युका विभन्न रुप छरपष्ट थिए । थपिन आएको थियो लेखेको कफिन । मृत्यु भएकाको आफन्तलाई सम्झाउँदै एक जना बाह्मण फलाक्दै थिए । जन्म मृत्युको भवसागरमा कोही नपरोस् । साँच्चै जीवनको अन्तिम सत्य, ‘मृत्यु’ पचाउन जो कोही असमर्थ हुँदो रहेछ यस्तै देखियो ।
मनमनै सोचेँ तैले कस्तो मृत्यु वेहोरीस् लेखे तँ अभागिरहिछस् । जन्मिएकै थात थलो र भूमिमा नै लम्पसार पर्न पाइनस् । संघर्षका अनेक रुपसँग साक्षत्कार तँ हिजो देखिएको आशावादीता मारेर अन्तिममा विदेश नभासिनु पर्ने भासिइस् र दारुण मृत्यु मरिस् । साँच्चै त दुखिया नै रहिछस् ।
आकर्षक कफिनमा कोचिएको मृत शरिर फुकाईयो । कफिन बाहिर मेरो नाम र सम्पर्क नम्वर रहेछ । कफिन भित्र उसका कागजात, पासपोर्ट मृत्यको कारण उल्लेखित फेहरीस्त र उसले वेतन स्वरुप पाएको पैसा पनि पठाईएको रहेछ । सत्तरी तल्ला भवन निर्माणको जिम्मा पाएको कम्पनिमा काम गर्दा गर्दै अचानक लडेर उसको मृत्यु भएछ । मृत शरिर हेर्दा आँखाले सहज पचाउन नसक्ने, विभत्स थियो । छिया छिया र दारुण मृत्युको वेहोरेको त्यो शरिरमा श्रद्धाञ्जलीको के तुक रहन्थ्यो र मृत्युका विभन्न रुप देखेको मैले लेखेको मृत्युको त्यो रुपसँग आफूलाई साक्षात्कार गराउन बडो कठिन भयो । सत्गतको तारतम्य हुँदै थियो ।
गाउँमा एक कान दुई कान हुदै लेखबहादरको आमाको कानमा पनि छोरोको लाश काठमाडौँ आएको र सतगत् हुन लागेको सुईको परेछ । आमा अधैर्य हुँदै काठमाडौँ हानिईछन् ।
गाउँलेले आमा नआई सत्गत् नगर्न भने । आमा आउन दुई घण्टा लाग्ने भयो । दुई घण्टा पछि आमा आईपुगिन् । छोराको अस्वभाविक मृत्युले विक्षिप्त आमालाई सम्हाल्न हामीलाई कठिन भो । आमाको क्रन्दन र चित्कारले आर्यघाटमा आर्तनाद छायो । त्यो क्षण वेहोर्न मलाई धेरै गाह्रो भो । सत्गत् गरीयो । गाउँमा बैदिक विधि अनुसार किरिया समाप्त भो क्रमशः सबैका आँखाबाट लेखेको मृत्यु अदृष्य हुन थाल्यो तर मेरो मनमा लेखेको अनुहारसँगै देशको सक्कली अनुहार हराउन थाले झैँ भयो । धेरै पटकको प्रयास / ताकेता पछि म्यानपावरले मेरो पैसा र क्षतीपूर्ति त वेहोर्यो तर कयौँ लेखेहरूको दारुण मृत्यूसँगै सकिएका सपना र अनेकौँ लेखबहादुरहरूका आमाको सन्तान वियोगको घाउमा कसले मलमपट्टि गरिदिने मेरो प्रश्न आज पर्यन्त अनुत्तरित भै नै रह्यो । अस्तु ।
काठमाडौं, जोरपाटी-४
