Skip to content

सपनाको देहावशान


बसन्त ऋतु, मन्द पवनसँगै बग्ने चिसो सन्नटा, मध्यरातको प्रहर घडीको, सूईको दिशा भएर टिक–टिक आवाजसँगै एकनास बगिरहेको समय, श्यामपृष्ठमा फकेका आरुवखडाका सुन्दर प्रीत । ताराहरूको अविश्रान्त चमक, चुक घोप्ट्याएको घगडान रात, बाटो विराएका जुनकिरीका बथानहरू, माउ हराएका झ्याउँकिरीहरूको चिच्याहट, मुर्दा शान्तिको स्निग्धता, उराठ, बैराग र पट्यार लाग्दो लमतन्न रात ।

ऐठन् ।

अशान्ति ।

अचानक तन्द्रा खलवलिन्छ ।

समयले अनयसै अनुहार गिज्याउन थाल्छ ।

झुस्स टुसाएको यौवन, असरेल्ल छरिएका जवानीहरू । मनभरीका अतृप्त चाहनाहरू, कपट जालसाँझी भित्र मन हठात् विरक्तीन थाल्दछ ।

पर्दामा श्वासको झिनो त्यान्द्रो अल्झिरहन्छ ।

हठात् पुनः ऐठन हुन्छ ।

फेरि चढ्छ माथिङ्गलमा सपनाको हुल ।

सेता । निला । काला ।

खैरो स्मृतिका खण्ड–खण्डमा पोतिन्छन् । भरिन्छन् । सजिन्छन् ।

पृष्ठभूमिमा झरीले एकनास चुटेको विरालोको रुवाई गुञ्जन्छ । कुकुर रोएको आवाजले वातावरणमा थप कोलाहल छाउँछ ।

निद्रा गुमनाम हुन्छ । अदृष्य हुन्छ । भयानक सपनाले शरिरमा कम्पन पैदा हुन थाल्छ ।

माथिङ्गलबाट रङ्ग पर्दाका दृष्यहरू अलप हुन्छन् ।

दिमाखमा अतिरिक्त सून्यता छाँउछ ।

अचानक दृष्यमा कसैले ढोका ढकढक्याँउछ ।

पात्र नमिठो सपनामा तड्पिन्छ । प्रत्यावहान गर्छ ।

दृष्यका झ्याँकिरी भाकाका कर्कशहरू पुनः बढ्न थाल्दछ । जुनकिरीको पिँधको धिपधिपे उज्यालो क्रमशः तितरवितर हुन्छ । पृष्ठभूमिको एकाध उज्यालोमा कालो पर्दा लाग्छ । वातावरणमा निस्तव्दा छाउँछ ।

समयको गतिबाट छिन्न भिन्न सबै प्राणी आँखा चिम्लन्छन् । रात भयानक हुन्छ ।

मध्यरात सपना जन्मन्छ । मृत्युवरण गर्दछ ।

शितवृष्टि हुन्छ । अकिञ्चन प्राणी बिउँझन्छन् ।

विपनामा दौडिन्छन् । हाँस्छन् । रमाउछन् ।

तर सपना पृष्ठभूमिबाट एकाएक अदृष्य हुन्छ । हराउँछ । दोहोरिँदैन । सायद मृत्युवरण गर्यो र त पुरा हुँदैन कसैको सपना । अस्तु ।

रामनाथ खनाल (देशप्रेमी)
जोरपाटी–४ काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *