Skip to content

मन परिवर्तन


एक नेताले दौरा सुरुवाललाई बहिष्कार गर्दा सामन्तवादलाई दमन गरी नामो निसाना मेटेँ भनी मख्ख परे । अनुयायीहरूले पनि उनको कदमको अनुशरण गरे । विजयी अनुभव गरेका सबैको अधरमा मन्द मुस्कान छायो ।

एकपल्ट तिनै नेता भारतको उत्तराखण्डतिर भ्रमणमा निस्किए । त्यहाँ बग्रेल्ती सामान्तीहरू देख्दा उनी छक्क परे । नाम्लो टाउकोमा लगाउँदा लगाउँदा ती सामान्तीहरूको टोपीको घेरो मात्र बाँकी थियो । भारी बोक्दा बोक्दा मैलो दौराको पिठ्युँको भाग च्यातिएर धुजा धुजा भएको र अगाडिको भाग मात्र बाँकिरहेको उनले देखे । साथै खुट्टामा फाटेको कपडाको जुत्ता र हातमा नाम्लो थियो । आय आर्जन गर्ने एक मात्र साधन । त्यस्तो दरिद्र अवस्था थियो ती सामान्तीहरूको ।

त्यस ठाउँका बासिन्दा कोही पनि भारी बोक्ने काम गर्दा रहेनछन । त्यहाँ भारी बोक्ने काम सिर्फ ती नेपाली सामान्तीहरूले गर्दा रहेछन । त्यस्तो असोचनीय अवस्था देखेका ती नेता आश्चर्यमा परे । आँखामा लागेको भ्रमको जालो फाटेर छर्लङ्ग भए जस्तो भयो । लुगाप्रति आफ्नो गलत धारणा र वितृष्णा सम्झदा आफैलाई लज्जाबोध भयो ।

प्रत्येक देशको आ–आफ्नै मौलिक पहिचान हुन्छ । आआफ्नै भेष भुषा हुन्छ । मानिसको आचरणसँग लुगाको के सम्बन्ध ? यो बहिष्कारले के मानिसको आचरण र सोचमा रातो रात फरक ल्याउँछ र ? सबभन्दा पहिला त मानिसले बाहिरी आवरणमा हैन आफ्नो भित्रि मनमा परिवर्तन ल्याउनु पर्छ भन्ने ठहर गरे ।

सुशीला देउजा

1 thought on “मन परिवर्तन”

  1. प्रस्तुति पक्ष कथानक
    प्रस्तुति पक्ष कथानक पक्षभन्दा अलि फितलो भए जस्तो लग्यो | मेरो बिचारमा यसै कथालाई अझ चोटिलो बनाउन सकिन्छ जस्तो लाग्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *