Skip to content

नेपालगञ्जबाट लेनदेन


अस्तिको कुकुरजात्राको बोलमा
रुपैडिया र त्रिभुवनचोकमा
टाँगामा पटकपटक धाएथें
त्यस बेला
त्यहाँबाट नेपाल भारततिर पोखिंदो रहेछ
यो अनुभवका साथ नेपालगञ्ज डुलेको थिएँ ।
हाम्रो नेपाल भारततिर पैरो नै लड्दो रहेछ
यो दृश्य आँखामा दिमागमा हुलेको थिएँ ।
काला कोट र अस्कोटको
काती परेको कालीकोट
हातमा चुरको ल्वाँठो बोकेर
मुखसम्म त्यो ल्वाँठो जोतेर
मुखबाट धुवाँको मुस्लो
मानौं धुमकेतु नै फ्याँकेर
रुपैडियातिर जाँदैथियो ।
हलुवाइको जिलेबी पकाउने भाँडो जस्तै
कट्कटिएको घोप्टो टोपी लगाएर
ढाल्नेका बोक्राले बनाएको
सिरुका पोयाको फिता लगाएको
स्थानीय सृजनाको अतुलनीय चप्पल लगाएर
हुम्ला पन बहादुरको जागिर खान
डिल्लीतिर बाँकटा हान्दै थियो
जुम्राका लिखा टल्काउँदै
कस लागेका काला दाँत देखाउँदै
मुगु पनि
चोर कमिलाहरूले फुल बोकेर
गुँड सरेजस्तै गरी
एक एक पोका बोकेर
भारत पस्न हतारिएको थियो
यो सबै देखेर—
मलाई खुसी पनि लाग्यो—
बहादुरकै जागिर खान गए पनि
कमसे कम जुम्लाले
घेरो मात्र बाँकिरहेको टोपीमा नयाँ टोपी ता फेर्नेछ
चौकिदारी गर्न मात्र गए पनि
मुगुले लिखा ता झार्नेछ ।
भाँडा माझ्ने काम पायो भने
चौरजहारीले
स्वास्नीको पेटीकोट ता फेराउनेछ ।
केही गरी बल्छीमा माछा पार्न सक्यो भने
बाजुरा अछाम र अरु अरुले पनि
आफ्ना नेप्टी र भुन्टेको
ओठमा माड ता पार्नेछन् ।
जे होस्,
मुगु, हुम्ला, जुम्ला र कालीकोटहरूले
लँगौटी लगाए भने
मेरै पनि ता इज्जत रहनेछ ।
लेऊ लागेका, मोसो परेका र धुवाँले बाक्लिएका लुगाहरू फेरे भने
यो पनि ता निकै ठुलो उपलब्धि हुनेछ ।
नेपालगञ्जबाट हिउँद लाग्दा नलाग्दै
भारततिर नेपाल ओरिन लागेकोमा
मलाई कम खुसी लागेको होइन ।
कम से कम हाम्रो केही मखिया भारततिर झर्ने भो
नेपालीले अलिकति उन्नति ता गर्ने भो ।
उताको मात्रै यता कति आउने
अरु केही नभए पनि
नेपालको जुम्रो भारततिर सर्ने भो ।
हामीलाई फाइदै भो—
पानीको थोपो जिउमा नपार्ने मुगुले
एक पटक गङ्गा स्नान पनि गर्ने भो ।
थुप्रिएको थोत्रो गरिबी
हुम्लाबाट पर भारततिर केही दिनका लागि भए पनि सर्ने भो ।
आसै गर्नु के पापै हो र ?
मैले माथिको दृश्य देखेर उस बेला आस गरेथें
हिउँद लाग्दा नलाग्दै
नेपालगञ्जबाट
भारततिर नेपाल घोप्टिएको देख्ता
म छक्क पनि परेथें ।

अब आज
माथि लेखतिर फुलेको गुराँस पनि झर्न थालिसक्यो
काफल पनि पाकिसक्यो
पानी नपरे पनि बर्खा लागिसक्यो ।
अस्ति हिउँद लाग्दा नलाग्दै
भारत पसेको मुगु, हुम्ला, जुम्ला र बझाङलाई
आँखा च्यातेर हेर्दा हेर्दा
थाक्न लागेको थिएँ
नेपालगञ्जको गर्मी देखेर भाग्न लागेको थिएँ
बल्ल अस्ति उता गएको नेपाल
यतातिर फर्कन लाग्यो
रुपैडियाबाट भारततिर खनिएको नेपाल कसरी फिरेछ त ?
मलाई पनि एउटा उत्सुकता जाग्यो
अनुमानवाटै थाहा भयो :
जुम्लाले केही लिएर आएछ
हुम्लाले पनि केही पाएछ
हो, कमाउने गएको थियो
कमाएरै आएछ ।
साँफे बगरले छोले भटोरेको दोकानमा
जुठाभाँडा माझेर निकै कमाएको थियो
नेपाल आउँदा आउँदै बाटैमा गोजी कटाएछ
हुम्लाले चौकिदारी गरेर केही बकस पाएको थियो
छ छ महिनासम्म भोकाएको त्यो हुम्ला
एकै रात बम्बैको कर्ममा लागेर
केही रमाइलो मनाएको थियो
त्यसबापत त्यो हुम्लाका हातमा
बम्बैले अलिकति एडस्को उपहार नेपाल पठाएछ
‘नेपालमा अलिक बढी फैलनू है’ भनी
भिरुङ्गीलाई सोझै यता खटाएछ
जुम्ला, मुगू, हुम्ला र बझाङ पनि रित्तो हात फर्किएनछन्
दिल्ली र बम्बैका गल्लीसँग तर्किनछन्
पत्नीका लागि अलिकति कोसेली लिई आएछन्
तिनले पनि हिउँद भरि सम्पत्ति कमाएछन् ।
फर्कंदा आफूसँग मनग्गेसँग एड्का कीटाणु लिई आएछन्
सक्नेले एडस् र भिरुङ्गी लिई आए पनि
नसक्नेले मलेरिया, डेङ्गो र प्लेगहरू मात्रै भए पनि
यतालाई पुग्ने जति बोकी आएछन् ।
घरमा विदेशबाट फर्किआउँदा केही कोसेली लिई आउनु न हो
एक एक थोक ल्याएछन् ।
नेपालगञ्जबाट आफ्नो घरमा कोसेली भित्र्याएछन् ।
रित्तै हात आएनछन्,
आफ्ना लागि मात्र नभई
देशैका लागि केही कोसेली ता भित्र्याएछन्—
ल्याउनु थियो केही कोसेली
केही न केही ता ल्याएछन् केही न केही ता ल्याएछन् ।

(२०४८ सालमा मैले यो लेखेको रहेछु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *