चाड पर्व नजिकिंदा, आँसु आउँछ परदेशीको
आँगनीमा पीडा मात्रै, सल्बलाउँछ परदेशीको
जताततै घाउ लाग्यो, वियोगले पोल्दा सधैँ
छाती भित्र व्यथै व्यथा, दन्दनाउँछ परदेशीको
छचल्किछन् यादहरू, समुद्रका छाल जस्तै
भकानुले अनुहारै, सुँकसुँकाउँछ परदेशीको
खपेको छ शीत, ताप, भोक, प्यास जैले पनि
वेदनाले धैर्यता नै, लड्खडाउँछ परदेशीको
बाध्यता र विवशताले, कुटेकाछन् निरन्तरै
चोट लाग्दा हृदय यो, छट्पटाउँछ परदेशीको
आफ्नू भन्नु कोही छैन, अपरिचित संसारमा
चित्त दुख्छ बारम्बारै, को सम्झाउँछ परदेशीको ?
बिर्से होलान् साथी सँगी, बन्धु बान्धव, आफन्तले
माया दया गर्दै कस्ले, गित गाउँछ परदेशीको?
मान्छे यहाँ बसे पनि, हंस पुग्छ नेपालमै
हाँस्न पाउन् नेपालीले, मन् रमाउँछ परदेशीको
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका
