Skip to content


यो रेडियो नेपाल हो । हामी काठमाडौंको केन्द्रीय प्रसारण केन्द्रबाट बोलिरहेका छौं । आज गाईजात्रा । अहिले बिहानको ५ बज्यो ।’ चौबिसै घन्टा कसैले बन्द नगर्ने, वषौं पुरानो तुयुमैको ओछ्यानमाथिको तख्तामा राखिएको पानासोनिक रेडियोले पाँच घन्टी हान्यो ।
निकैबेरदेखि ननिदाई पल्टिरहेकी तुयुमैलाई साल, महिना, गते वा रेडियोले भनेका कुरासँग कहिल्यै कुनै सरोकार हुँदैन । न ऊ नेपाली भाषा राम्ररी बुझ्छे, न त उसको आफ्नै नेवारी भाषामै रेडियोले भन्ने कुराको विषयवस्तु थाहा हुन्छ । तर, आज रेडियोले भनेको ‘काठमाडौं’ शब्द उसको कानमा प्रतिध्वनित भइरह्यो ।
रेडियो नेपालले बिहानै ट्वाङ्-ट्वाङ् बजाउने आवाज घन्टाघरको घन्टीको हो रे भन्ने वषौं पहिले कसैले भनेको उसलाई सम्झना छ । घन्टाघर र वीर अस्पताल नजिक-नजिकै छन् भन्ने पनि उसले कतै सुनेकी हो ।
आज उसलाई काठमाडौं जानु छ, जसरी पनि जानु छ । यो सम्झेर तुयुमै केही अत्तालिई । उसले आफ्नो कोठाको दुई बाई तीन फिटको झ्यालबाट टाउको बाहिर निकाली । काँचो इँटाको, पुरानो एकतले घरको वारपार झुन्ड्याइएका लसुनका मुठा, खुर्सानीका सिल र मकैका झुत्ताले झ्यालबाट भित्र पस्ने उज्यालो निमोठ्न खोजेका थिए ।
बाहिर अरनिको राजमार्गमा गाडीहरू बाक्लै गुड्न थालिसकेछन् । उसले केहीबेर त्यतैतिर दृष्टि फ्याँकी । त्यही राजमार्ग भएर उसलाई आज काठमाडौं पुग्नु छ, त्यति उसलाई थाहा छ ।
उसको लोग्ने, सानुचा दर्ुइ सातादेखि वीर अस्पताल भर्ना गरिएको छ । कुरुवा बसेको छोरो माइकलचाले हिजो बुहारीसँग खबर पठायो, “अब बाँच्ने आशा कम छ । आमाको र नातिनीको मुख हेर्र्ने इच्छा गरेका छन् । नातिनी लिएर भोलि बिहानै आउनू ।”
तुयुमैको जीउ कुनै ठूलो बोझले थिचेझैं गह्रुँगो भएर आयो । मनमनै झोक चल्यो, “सानुचा मर्ने नै भएपछि किन बेकारमा मेरो मुख हेररिहनुपर्‍यो – फेर बाँच्ने आश मारसिकेपछि उसलाई किन अस्पतालमा राखिराख्नु  -” एकमन, यी सबै कुरा उसलाई जसरी पनि काठमाडौं पठाउने षड्यन्त्रका पाटाझैं लागे ।
जेहोस्, उसलाई एकपटक सानुचालाई भेट्ने मन भने अवश्य छ । लोग्नेको सम्भावित मृत्युको खबरले मन अशान्त छ । त्यो माया, पीर वा असुरक्षा के हो ऊ खुट्याउन सक्दिन । त्यसभन्दा पनि ठूलो चिन्ता त आज उसलाई काठमाडौं पुग्नुको हो ।
माइतीघर मण्डलाबाट भक्तपुर, जगातीको दूरी १४ किलोमिटर छ । योभन्दा धेरै टाढाका हजारौं मानिस, दैनिक तुयुमैको घरैअगाडिको राजमार्ग भएर काठमाडौं आवत-जावत गर्छन् । तर, उसका लागि काठमाडौं एउटा दुर्गम गन्तव्य हो ।
ऊ तौमढीमा जन्मी, विवाह सुकुलढोकामा भयो । मामाघर नगदेश । सानुचाको मामाघर थिमी । अंशबन्डामा सानुचालाई जगातीको सानो घर र खेत भागमा परेपछि सुकुलढोकाको सगोलको घरबाट यहां सरेका हुन्, अरनिको राजमार्ग बन्नुभन्दा निकै वर्षपहिले । ठ्याक्कै कति वर्षपहिले हो, तुयुमै गन्ती गर्न जान्दिन ।
उसलाई धमिलो सम्झना छ, साँगासम्म लरी चल्ने पुरानो सडक उनीहरूको आँगनै भएर जान्थ्यो । यो राजमार्ग बनेपछि त्यो घर परत्ियक्त सडकको किनारमा छोडियो ।
घना बादलको कुनै अन्तरबाट च्यापिएर, छिप्पिन बाँकी घामको किरण जस्केलासम्म आइसक्यो । चाँडै नै अस्पताल पुग्न पाए हुन्थ्यो भन्ने दरलिो लालसा तुयुमैको मनको कुनै कुनामा छ । तर, जगातीबाट कुन बस चढ्ने – अस्पताल जान कहाँ उत्रने – त्यहाँबाट कता जाने – नातिनी पनि सँगै लैजानु छ, आदि चिन्ताले ऊ भुइँमा थचक्क बस्छे र हातले आफ्नै पिंडौला चपक्क समात्छे ।
बुढ्यौलीले सुक्दै गएका पिंडौलाको छाला चाउरी परेर ट्याटु खुम्चिएर आकारविहीन भएको छ । औंलाले विस्तारै छालालाई तन्काएर ऊ त्यसको आकृतिलाई पुनः नियाल्न खोज्छे । झरझराउँदो जवानीका पुष्ट पिंडौलामा खोपिएको कुनै तान्त्रिक देवको मूर्ति आधुनिक क्यामराले खिचिएको तस्िबरभन्दा कम प्रस्ट थिएन कुनैबेला ।
अँ साँच्चि ! उसलाई सम्झना आउँछ, यो ट्याटु खोप्न ऊ काठमाडौं गएकी थिई, आफ्नी आमासँग । उसले सम्झेको सबभन्दा पहिलो काठमाडौं यात्रा यही थियो उसको । ऊ सात-आठ वर्षी हुँदी हो । आफूलाई वैद्यलाई जँचाउन र छोरीलाई ट्याटु खोपाउन आमाले काठमाडौं लगेको उसलाई सम्झना छ । त्यो ज्याठा भन्ने ठाउँको गुभाजूको घर थियो भनेर उसकी आमा, पछिसम्म अनगिन्तीपटक भनिरहन्थिन् ।
सल्लाघारीबाट सिट र छतविहीन खुला लरीमा थचक्क बसेर काठमाडौं पुग्दा ऊ रमाएकी थिई । अलिअलि रङि्गटा लागे पनि खासै गाह्रो भएको थिएन, खुला आकाशमुनि हावासँग हेलिंदै गरेको यात्रा । फर्केर आउँदा सियोले छियाछिया परेको पिंडौला दुखेर उसले केही मेसो पाइन ।
दोस्रो र अन्तिमपटक ऊ सानुचासँग नेपाले पूजा गर्न भनेर काठमाडौं हिंडेकी हो । तर, जगातीबाट भद्रकाली पुग्दा उसलाई सयौंपटक बान्ता भयो । बोल्न पनि नसक्ने गरी आलसतालस परेकी उसलाई भद्रकालीको सत्तलमा सुताएर सानुचा आफ्नो काम सिध्याएर आयो । फकर्ंदा झमक्कै साँझ परसिकेको थियो । गाडी गुड्दा बाहिरका दृश्यहरू पछाडि दौडेका देखिएनन् । त्यसैले होला साह्रै गाह्रो परेन ।
काठमाडौंप्रति उसको सकारात्मक धारणा बनेको छैन । अचेल सल्लाघारीतिर सरेको ‘जगाती छोयला पसः’ उसको पश्चिमपट्टि करेसा जोडिएको घरमा थियो । त्यो पसलमा छोयला-ऐला खान मानिसहरूको सधैं भीड लाग्थ्यो । गाडी र मोटरसाइकलहरू खचाखच हुन्थे, उसको घरवरपिरसिमेत ।
“ती सबै मानिसहरू काठमाडौंतिरबाट आउँछन् अरे,” उसले सुनेकी हो । ती मानिसहरू तुयुमैको दृष्टिमा असल कोटीका होइनन् । उनीहरू, उसले दुःख गरेर लगाएको लसुन बारीभित्र कहिले गाडी, कहिले मोटरसाइकल घुसाउँछन् र कहिले आफैं पसिदिन्छन् । फेरि, छोयला खाने निहुँमा उत्तिटाढा, काठमाडौंदेखि सबै काम माया मारेर यहाँसम्म आउने यी ‘निकम्मा’ मनिसहरूको ‘मूर्खता’ पनि ऊ पचाउन सक्दिन । उसको ठम्म्याइमा काठमाडौं यस्तै मानिसहरू बस्ने ठाउँ हो ।
उसको घरकै एउटा घटनाले पनि काठमाडौंप्रतिको उसको मोह अझ भङ्ग भएको छ । छोरो माइकलचाले मोटरसाइकल नकिनी नछोड्ने अड्डी लियो । तुयुमैले तर्क गरी, “तरकारी बेच्न जान साइकल छँदैछ । त्यस्तो राम्रो खेत बेचेर किन किन्नुपर्‍यो मोटरसाइकल -”
“कहिलेकाहीं काठमाडौं जाने-आउने गर्नुपर्छ । बुहारीले पनि त्यसै भनेकी छ नकिनी छोड्दिनँ ।” माइकलचाले हठ गर्‍यो । बाबुको अंशमा आएको चार रोपनी खेतमध्ये एक रोपनी हतारहतार खरदिकर्ताकै भाउमा बेचेर उसले त्यो दुइपाङ्ग्रे नकिनी छोडेन । घरमा एउटा स-सानो महाभारत नै भएको थियो केही दिन । त्यहीबेलादेखि काठमाडौं र बुहारी दुवैप्रति एकतमासको वितृष्णा तुयुमैको मस्ितष्कमा अविच्छिन्न पौडिरहेको छ ।
काठमाडौंका बारेमा आकर्षा-विकर्षा जे नै भए पनि, आज उसलाई काठमाडौं पुग्नु नै पर्छ, कुनै पनि मूल्यमा । उसले मनमनै एउटा योजना बनाई, “बुहारीलाई पुर्‍याइदे भन्छु ।”
ऊ बुहारीको कोठाको ढोकाअगाडि उभिएर झन्डैझन्डै मायालु आवाजमा बोलाई, “चिरीमै ! ओ चिरीमै !!” छोरोको बिहे भएपछिका बितेका छ वर्षा उसले बुहारीलाई सम्भवतः पहिलोपटक यति नरम स्वरमा, नामै किटेर बोलाएकी हो । बुहारीले ढोका खोली ।
“हेर ! नातिनी पनि लिएर जानु छ । मलाई गाह्रो हुन्छ । तिमी पनि हिंड न ! मलाई अस्पतालसम्म पुर्‍याउन ।” “त्यसो भए एक्लै जानूस् न † छोरी लानु पर्दैन ।” चिरीमैले फ्याट्टै उत्तर फर्काई । “म अलि मेसो पाउँदिनँ,” उसले हारेको स्वरमा भनी । “त्यसो भए म बस चढाइदिन्छु । खलाँसीलाई भनी पनि दिन्छु, वीर अस्पतालअगाडि नै ओह्राली देऊ भनेर,” बुहारीले निर्णय सुनाई, “ल लुगा लगाउनूस् !”
अब तुयुमैसँग विकल्प छैन । “म जान्न,” ऊ भन्न सक्दिन । आखिर सानुचाको कुरा छ । अस्पताल जानुअघि सानुचाले हिसाब निकालेको थियो, उनीहरूको बिहे भएको पनि अर्ढाई-बीस वर्षबितिसके । यत्रो लामो समय साथै रहेको सानुचा यो धर्ती छोडेर जान लाग्यो भन्ने सम्झेर उसको मन थामिनसक्नु गरी बिथोलिन्छ ।
सम्भवतः आजै होला, उसको मनमा यति तीव्र संवेदना जागृत भएको । माया भनेको त्यही रहेछ कि ! नभए, सानुचाले उसलाई माया गर्छ, गर्दैन भन्ने भावना उब्जेको पनि उसलाई थाहा छैन । उनीहरूबीच, एउटा घटनालाई छोडेर, न त कुनै पनि विषयमा एक मिनेटभन्दा लामो कुराकानी भएको सम्झना छ ।
उनीहरू सगोलमै हुँदाको कुरा हो । एक राती भर्खर निदाएकी तुयुमैलाई ब्यूँझाउँदै सानुचाले भनेको थियो, “तुयुमै ! यसपालि बुख्याँचा बनाउन सकिएन । एउटा पनि थोत्रा लुगा छैनन् । भएजति सबै टालटुल गरेर लगाइयो । केराउबारीमा बुख्याँचा नभएपछि सुगाका बथानले सबै बाली सखाप पार्छन् । तँ सात-आठ दिन लगातार बारीमा गएर कुरुवा बस् ।”
कम बोल्ने सानुचाले मीठो गरी, बेलिविस्तारमा काम सम्झाएकामा उ गद्गद् त थिई नै । अन्तस्करणमा, उसको पनि अस्ितत्व र उपयोगिता भएको अनुभूति गराएको थियो यस घटनाले ।
उसलाई समय, तौल, दूरी वा अन्य कुनै गन्तीबारे पनि पटक्कै थाहा छैन । मन नपरेको काम गर्दा ऊ एकछिनलाई पनि घन्टा भनिदिन्छे । उसको मापन र गन्तीको आधार गणित होइन, भावना हो । आधुनिक भनिने उपत्यकाभित्रको जीवनका दौडादौड, लुछाचुँडी र ऊहापोहबाट प्रदूषित नभएको एउटा मानक नै माने हुन्छ उसको जीवनलाई । अर्को शब्दमा, उसको जीवनलाई गतिमान गराउन सक्ने सामर्थ्य आहार, सम्भोग र न्रि्राजस्ता अर्टार्य प्राकृतिक दासताहरूबाहेक अरू केहीमा छैन । यसबाहेक, उसलाई के थाहा के माया हो या के माया होइन – दाम्पत्य जीवनबाट के अपेक्षा गर्ने वा नगर्ने – ऊ किन बाँचेकी छ अथवा उसको आफ्नो परचिय, जीवनको उद्देश्य, परिभाषा वा अर्थ के हो?
यस्ता पेचिला प्रश्नहरूसँग पूर्णत निःस्पृह छ तुयुमै ।
उसले नयाँ पटासी लगाई । घुमीघुमी कालो पटासीमाथि लामो, सेतो पटुका बाँधी, मझेरीको हावामा दर्जनजति शून्य आकार बन्ने गरी । वास्तवमै, यी शून्यहरू तुयुमैको जीवनका मूर्त प्रतीक हुन् । उसको जीवन एक ठूलो शून्य हो । अथवा, ठूलो आनन्द । साँच्चै आनन्द नै त हो । तथाकथित, ज्ञान, शीप, बुद्धि र अनावश्यक जानकारीहरूको कोर्रा लगातार मस्तिष्कलाई हानिरहने पीडाबाट मुक्तिको आनन्द । ‘मैले केही जानेको छैन’ भन्ने लघुताभासको अनुभव पनि मस्तिष्कलाई नहुनुको आनन्द ।
“लौ ढिला भयो । ९ बजिसक्यो !” बुहारी कर्राई ।
हतारहतार बुहारीले जगातीबाट बस चढाइदिई । बसको भाडा तिर्दै खलासीलाई भनिदिई, “वीर अस्पतालअगाडि नै ओह्राली दिनु । बूढीमान्छे हराउलिन् ।”
“कसरी पुगिएला अब !” बस चढ्नेबित्तिकै आतेश लाग्यो उसलाई ।
दुई मिनेटपछिदेखि नै वाकवाकी लाग्न थालिहाल्यो । सीटहरूको बीचको खाली ठाउँमा थचक्कै बसेर बान्ता गर्न थाली ऊ । बसका यात्रुहरूले छिःछिः, दूरदूर गरे, नाक थुने, मुन्टो बटारे ।
माइतीघरसम्मको ४० मिनेटको यात्रा उसलाई जीवनभन्दा लामो, खपिनसक्नुको पीडादायक र अत्यासपूर्ण लाग्यो । उसको सम्पूर्ण शरीर शिथिल भइसकेको थियो । छ दशक पुरानो अस्थिपञ्जर लुलो भयो । सबै इन्द्रियहरू प्रतिक्रियाशून्य भए ।
“अगाडि बाटो जाम छ । मण्डलामा गाईजात्रे जुलुस छ रे। सबै उत्रनूस् !” खलासी करायो ।
सबै बसबाट ओर्लिए । अचेत भइसकेकी तुयुमै भित्रै पल्टिरहेकी थिई । उसले गरेको फोहोरले दिक्क भएको खलाँसीले तानेर सडकको पेटीमा ल्याएर राखिदियो ।
तुयुमै हिंडेको केहीबेरमै माइकलचाले चिरीमैलाई फोन गर्‍यो, “बाउको प्राण गयो । गुठियारलाई हनुमन्ते घाट पुग्न भन् । म शववाहनमा लास हालेर एक घन्टामा त्यहीं पुग्छु ।”
सबै जना सानुचाको अन्तिम संस्कारको दौडधुपमा लागे । किरयिापुत्री घर र्फकंदा साँझ परसिकेको थियो । तुयुमै घर फर्किन । दिनभर न त कसैले उसको खोजी नै गर्‍यो । रात छिप्पिन लागेपछि माइकलचाले चिरीमैलाई सोध्यो, “आमा देख्दिन नि !”
“लौ ! बिहानै अस्पताल जाने भनेर मैले बस चढाइदिएको,” उसले भनी । केहीबेर सबै मौन भए । आश गरे, फर्केली भनेर ।
भ्ाोलिपल्ट बिहानै एफएमहरूले समाचार फुके, “माइतीघरको सडक किनारमा वृद्ध महिलाको बेवारसिे लास भेटियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *