Skip to content


बढुवाको सूचना निस्कियो। सूचना के निस्किएको थियो, एकैसाथ धेरै कुरा खोज्नुपर्ने भयो। हराएका चीजहरू खोज्नुभन्दा गाह्रो भयो मलाई, आफैँले कहीँ कतै सुरक्षित ठानेर राखेका चीजहरू खोज्नु। फोटो खोज्दै थिएँ, तीन थान पासपोर्ट साइजका। पासपोर्ट साइजका तीन थान फोटोको सट्टा बरू पोस्टकार्ड साइजका सयौँ फोटोहरू पाइए। पाँचवर्षे उमेरदेखि केहीँ साताअघि खिचिएको ४५ वर्षीय प्रशस्त फोटोहरू पाएँ। खोजेको चीजचाहिँ भेटिएन।

खोजिएको चीज नपाउँदा मन र मस्तिष्क खिन्न भयो। सपनाहरू छिन्नभिन्न धरातलमा उड्न थाले। यस्तै खिन्नतामा उमेर बिताउने मजस्ता करोडौँ मान्छे होलान् यस धर्तीमा। खोज्दा खोज्दै कतिका खोजी नै हराए होलान्। सपना खोजीजस्तै दुरुह भएपछि कसको के लाग्छ? प्रश्न उठ्छ मनभरि।

‘भोलिबिहानै अर्जेन्ट चार्ज तिरेर फोटो खिचाउनुपर्ला।’ मनले यस्तै सोच्यो। क्षणभंगुर जीवनमा हतारको मूल्य तिरेर धेरै काम गरिएको वास्तविकतामा यसरी फोटो खिचाउनु नौलो कुरो थिएन, मेरा लागि। मलाई लाग्छ, प्रशस्त मान्छेहरू छन् मजस्ता। समयमा जोहो र ख्याल नगर्ने अनि हतारमा लतारपतार गर्दै, सोच्दै नसोची बुझ्दै नबुझी नतिजा र गन्तव्य खोज्ने। स्पष्ट छ : जहाँ हतार हुन्छ, त्यहाँ हतास हुन्छ र हठात् मूल्यवृद्धि हुन्छ। समयको मूल्य नतिरीकन हराएको चेक पनि क्यास हुँदैन।

हतारको कुरा गर्दागर्दै मैले बस र ट्रकपछाडि लेखिने एउटा भनाइ सम्झेँ, ‘बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न।’ मलाई चाहिँ यतिखेर हतार गरेर पुग्नु थियो गन्तव्यमा। गाडीको गतिमा हतार खोजी नगरे पनि बिस्तारै खोज्ने अवस्था थिएन मेरो। जसरी होस्, भोलिसम्ममा मलाई आफू आफैँ भएको प्रमाणपत्रहरू चाहिएको थियो।

‘खोजेको प्रमाणका पत्रहरू भेटिएनन्।’ यो देशको नागरिक भएको प्रमाणपत्ररूपी नागरिकतादेखि आफूले पढेका शिक्षित सर्टिफिकेटहरू केही पाइनँ मैले। यही माटोमा जन्मेर नहुने, पढ्न लेख्न जानेर नहुने। आफूले नै कमाएका ज्ञान र सीपमा प्रमाणपत्रहरू कण्ठस्त तुल्याएर पनि नहुने…। बडो विडम्बना ! मैले आफूले पास गरेका आफ्नै प्रमाणपत्रहरू नभेटेर हैरान छु म।

बरू खोज्दाखोज्दै ऋणका तमसुकहरू फेला पारेँ। पढ्ने बेलामा लिइएको…, जागिर खानका लागि ‘नजराना’ चढाउन लिइएको…, जागिरपछि बिहेको क्रममा लिइएको… यस्तै/उस्तै ऋणहरू दस्तावेजभित्र घर बनाउन लिइएको तमसुक भेटियो। एकैछिन सोचेँ, ऋणका तमसुकहरू किन हराउँदैनन् कुन्नि? लिएको ऋण तिर्न नपरे क्या मज्जा आउँथ्यो होला। ऋण यस्तो सत्य रहेछ जे जे गरे पनि त्यो भाग्दैन रहेछ, मन मस्तिष्कबाट। लिसो टाँसिएजस्तै या फेबिकोलसँग चिप्किएजस्तै… अधम र अकाट्य जोडिरहँदो रहेछ।

केही दिनदेखि विस्मृतिबाट हराएका ऋणहरूले फेरि मन उद्वेलित तुल्यायो। मस्तिष्कमा जोड-घटाउका उफान चल्यो। हप्तौँदेखि बढुवा परीक्षाका लागि पढाइ र ‘सामान्य ज्ञान’ सेट गरेको दिमाग खजमज्ज भयो। अनि, म आफ्नै नाम लेख्न र भन्न नसक्ने दोधारमा पुगेँ।

– हो रहेछ, ऋणले विद्वताको वासलात क्षय तुल्याउँदो रहेछ।

– ऋणले सन्तुलित मस्तिष्कलाई नैराश्यपूर्ण चाकाचुली खेलाउँदो रहेछ।

– ऋणले धनसँगै मनलाई कमजोर बनाउँदो रहेछ।

आफ्नो दक्षता, सीप र चिनारीका प्रमाणपत्रहरू खोज्दा खोज्दै म परचियविहीन र अदक्ष बनेँ। भेटिएका तनावहरूलाई त्यत्तिकै थन्काएँ बि्रफकेसमा र खोलेँ दराज।

मेरो दराज भव्य छ तीन खण्डे।

एक खण्डमा मेरा सुटहरूसहित केही कागजातहरू छन्। अर्को खण्डमा श्रीमतीका सौभाग्य संसार र पोसाक परिधान छन्। तेस्रो खण्डमा हाम्रा साझेदारी स्वरूपका क्यामरा टेप रेकर्डर… छोराछोरीका दामी नामी लुगा र खेलौना छन्। यस अर्थमा हाम्रो पारिवारिक संसार यही दराजमा कैद छ। दराज मेरी श्रीमतीसँगै भित्रिएको कोसेली हो। सोच्दासोच्दै म धेरै कुरा सोचिरहेको छु। अब मलाई सोच्ने त्यति धेरै फुर्सद छैन। म खोजीमा छु नभेटिएका मेरा उपलब्धिहरूको।

अहँ भेटिएन यहाँ पनि।

आशा- क्रमश: निराशाउन्मुख हुन्छ।

भरोसा- बिस्तारै पातलिन्छ।

विश्वास- अविश्वासतिर ओरालो लाग्छ।

निराशा र अविश्वासले मलाई रसि उठाउँछ। मलाई श्रीमतीसँग मज्जाले रसि पोख्ने मन छ। मन एकैछिन अधैर्य बन्छ। तर, म अधैर्यमा बहकिन्नँ। मान्छे भएपछि अलि विवेकी हुनुपर्छ। कहीँकतैबाट ज्ञान पलाउँछ ममा। ज्ञानमा किञ्चित अन्ध धार्मिक मान्यता मिश्रति छैन। मेरै श्रीमतीका लागि लगभग म काफिर सत्य हुँ। उनी बारम्बार भन्छिन्,”तपाईं व्यवहारचाहिँ नास्तिक गर्नुहुन्छ तर स्वभाव खै कसरी धार्मिक भएको हो?” व्यवहार र स्वभावमा एकदमै विपरीतार्थी सम्बन्ध सेतु छ मेरो। त्यसैले दराज बन्द गर्छु भुतभुताउँदै र झर्छु तल्लो तलामा।

म आशावादी मर्मको माथिल्लो तल्लाबाट बोझिलो निराशा उन्मुख तल्लो तल्ला झरेको छु। मेरो तल्लो तल्लाको एउटा कोठा बैठक हो भने दुईवटालाई मैले आफ्नो लाइब्रेरी बनाएको छु। बैठक कोठामा मैले खोजेका र मलाई चाहिने केही कुराहरू छैनन्, यति ज्ञान छ मलाई। वास्तवमा अचेलको परविर्तित सभ्यतामा मान्छेहरूले घरका बैठक आफ्नो आवश्यकताको लागि तयार पार्दैनन्। बैठक कोठा दुनियाँलाई देखाउन छुट्याइने फगत् ‘सोकेस’कै स्वरूपमा सजावट गरिन्छ। मान्छेहरू आफ्नो घरको बैठकमा आगन्तुकहरूलाई बसाएर आफ्नो नवधनाढ्य संस्कृतिको छनकसँगै अनेकन् नवीन प्रयोगको दनक दिन्छन् र दलाउँछन्। बैठक कक्षमा ‘बैठक’ बस्दैन अचेल। भलाकुसारी हुँदैन त्यहाँ। बिलकुल आँखा, मस्तिष्क र मन डुल्छ कोठाभरि र मापन हुन्छ मान्छेका कमाइ र कर्म।

जिन्दगीभरको मेरा कमाइका केही चिर्कटोहरू हराएर म आकुलव्याकुल छु।

अनि, लाइब्रेरी बनाएका कोठामा छिर्छु। किताबका एक-एक चाङ केलाउँदै र एक एक पाना पल्टाएर खोज्दै छु प्रमाणपत्रहरू। आफू २० वर्षे लक्काजवान हुँदा निकालेको गजलसंग्रह भेटेँ मैले। मन बहकियो गजलतिर केही बेर युवावयमा बहकिएझैँ। रोकेँ फेरि आफूलाई र खोज्न थालेँ। फेरि भेटेँ मैले २८ वर्षको उमेरमा लेखिएको कथासंग्रह। प्रेम-रोमान्स, घातप्रतिघात, आरोह-अवरोहका मर्म मिश्रति कथाका पात्रहरूलाई सम्झेँ। वयस्क नभएको अनुभूतिकै स्वरूपमा मन फेरि बिच्कियो केही बेर…। यतिखेर मन बिच्कियो भने म मेरो लक्ष्यमा पुग्न सक्दिनँ …। त्यसैले खोजाइमै फर्कें..। अहँ… भेटिएको छैन खोजेको कुरा।

– नखोजेको उमेर पुस्तकमा भेटियो बरू।

– भोगेका विगत स्मरणमा ताजा भयो बरू।

– तर, चाहिएको चीज भेटिएको छैन। खोजेको चीज पाइएको छैन।

समय ढल्दो छ। तोकिएको समय सीमा झन्झन् साँघुरिएको छ। जे र जसरी मैले भोलिसम्म बढुवाको फाराम भर्नुछ। फाराम मात्रै भरिएन भने म उम्मेदवार हुन पाउने छैन। उम्मेदवार हुन नपाए मैले मेरो ल्याकत, वर्कत, दक्षता र विद्वता प्रकट गर्न सक्ने छैन। अचम्मको प्रवृत्ति र परिस्थिति छ हामीसँग। योग्यता र दक्षता काममा मापन हुँदैन। खोस्टो नै सही, त्यो कागजमा हुनुपर्छ। उहिल्यै हो हामीबीचबाट योग्यता र दक्षताका कागजात हराएको। अचेल त जहीँतहीँ देखावटी अनुभवका चाङका चाङ सर्टिफिकेटहरू चाहिन्छ। बाइसौँ वर्षदेखि जागिर खाइरहेको मेरै अफिसमा यतिखेर मेरो सक्षमताको वर्तमान काम लागेको छैन। म आफ्नो विगतका निर्जीव कागजहरू खोजिरहेको छु।

– खोज्दा खोज्दै रात पर्‍यो।

– रातको अँध्यारोमा उज्यालो खोजी हात परेन।

– अँध्यारो मन घरपरिवारबीचमा पनि उजेलिएन आज।

– मनमा बेचैनी-व्यग्र थियो। मुहार खुसी थिएन। भोक हरायो। निद्राचाहिँ खै कसरी पर्‍यो, थाहा छैन।

००००

– भोलिपल्ट हरूवा जुवाडेको शैलीमा घरबाट बाहिरिएँ। मोबाइल बज्यो।

‘सरलाई एउटा कुरो जानकारी गराऊँ है, आज बिहान म जिएम सा’पको घर गएको थिएँ। तपाईंहरूको यसपटकको बढुवा त ओमकार सरलाई पो दिने सुर रहेछ उहाँहरूको।’ अघि उठाएको मोबाइलमा सन्देश दिए मेरा अभिन्न मित्रले।

बिहानै सुन्नुपर्‍यो एउटा अशुभ ‘समाचार’ यसरी। हुन त समाचारले शुभ-अशुभ समय-कुसमय के हेर्थ्यो र ! मेरा लागि ईश्वर दाहिना हुने अवस्था सिर्जित गरोस्। त्यसै त म मेरै कमाइको सर्टिफिकेटसमेत सुरक्षित राख्न नसक्ने मान्छे। अनि, एकाध मौसमी फोटोहरू खिचाएर मौसम अनुसार फाराम भर्न नसक्ने प्राणी…। मलाई कहाँबाट कसरी परोस्… आकस्मिक प्राप्तिको बम्पर…। मजस्ताका लागि जहाँ हरेक पल र पाइला अशुभ समाचार बग्रेल्ती स्रोतहरू छरपस्ट छन्, त्यहाँ मेरो रक्षा कुन चाहिँ वाइलाइनले कसरी गरोस्? सोच्दैछु यस्तै। यतिखेर सोच्दा सोच्दै… म एकाएक एउटा अकल्पनीय प्राप्तिको मोडमा पुगेँ। त्यही स्थान र धरातलमा मैले गज्जबको उपाय पाएँ। अनि त्यत्तिकै झरेँ बसबाट।

०००

– अहिले म मेरा साथीभाइहरूबीच एउटा चर्चित पात्रका रूपमा चर्चाको शिखरमा छु। उनीहरू भन्दै छन्, ‘मान्छे त बेवकुफ नै रहेछ, बढुवाको फाराम नै भरेनछ।’

आफूलाई आफैँ भएको प्रमाणित गर्न नसक्ने कागजात (सर्टिफिकेट) सुरक्षित राख्न नसक्ने मजस्तो मान्छे वास्तवमा नै बेबकुफ त हुँ नै। तर, म यी सबै बेबकुफीका पगरीहरू अरूलाई ठाउँ छाडिदिएको उदात्त दृष्टिकोणलाई मार्केटीङ् गरेर मानवीय तवरबाट प्रतिष्ठाको बढुवा लिने र पाउने ताकमा छु। हुँदै नहुने बढुवाको फाराम भर्नुभन्दा त मेरा फोटोहरू र सर्टिफिकेटहरू हराएकै ठिक लागेको छ मलाई ।

नेपाल साप्ताहिक
अंक: ५७८
२०७० पुस २८
Jan 12, 2014

Leave a Reply

Your email address will not be published. Required fields are marked *