अंग्रेजी भाषामा लेखिएको तर नेपाली सुगन्ध भएको साहित्यको प्रवाह र प्रभाव नेपाली साहित्यिक फाँटमा कम छ। वर्तमान नेपाली साहित्य बजारको धेरै हिस्सा नेपाली आख्यानले ओगटेको छ। तर पनि अंग्रेजीमा लेखिएका साहित्यिक कृति हुँदै नभएका भने होइनन्। बेलाबखत केही अंग्रेजी साहित्यिक कृति पनि निस्किन्छन्। त्यसैको पछिल्लो संस्करण हो, हुलाकी।
ईदा उपाध्यायद्वारा सम्पादित हुलाकीमा जम्मा आठ थान कथा छन्। तिनले विभिन्न सामाजिक समस्याको चित्रण गरेका छन्। महिलाले सामाजिक रूपमा खेपेको उत्पीडन, सीमान्तकृत समुदायका पीडा, परचीय र पहिचानका मुद्दा, सामाजिक कुरीति र विचारसंस्थाका खबर कथाकारहरूले हुलाकीमार्फत पुर्याउने चेष्टा गरेका छन्। यद्यपि, पात्रहरू नयाँ छैनन् र विषयवस्तु पनि। कथावस्तु दोहोरिएका छन्। कथामा तीक्ष्णता र सूक्ष्मताको अभाव छ।
केही कथा पुरातनवादी सोचको खण्डनमा लेखिएका छन्। चन्द्र गुरुङको ‘अ भिलेज उमन’ कथाले व्यक्तिवादी आधुनिक सोचले पारिवारकि एकता तथा अपनत्वमा ल्याएको खलबललाई दर्साउँछ। रोजीको बुबाले दोस्री श्रीमती ल्याएपछि उसले पहिली श्रीमती र छोरीप्रति गर्ने बेवास्ता तथा सामाजिक गाल टार्न बूढी आमालाई सहर आमन्त्रण गर्ने कैयौँ व्यक्तिवादी सोचले प्रेरति भएको आधुनिक समाजको पाखण्डीपनलाई यो कथाले उजागर गरेको छ। त्यस्तै, ‘ट्रान्सग्रेसन’मा भर्खर शोकबाट निस्किएकी ‘उनी’ पात्र एउटी विधवाको व्यक्तिगत स्वतन्त्रतामाथि सामाजिक रूपमा गरिने कित्ता विभाजनविरुद्ध जान्छिन्। उनी पात्र परपुरुषसँग सम्बन्ध राखी सामाजिक रेखा कुल्चिन्छिन्। यस कथामा कथावस्तु नयाँ छैन।
कृष्णप्रसाद भुसालको कथा ‘मातरी’ले उत्पीडित तथा सीमान्तकृत समुदायले सामाजिक कुसंस्कार र कुरीतिका कारण झेल्नुपर्ने परिणाम बयान गर्ने प्रयत्न गरेको छ। कथाले होलीजस्ता चाडपर्वलाई निरन्तरता मात्र दिने नाममा गरिने सामाजिक कुकृत्य देखाएको छ। त्यस अवस्थाले सीमान्तकृत वर्गमा पार्ने प्रभाव पनि उजागर गर्न खोजिएको छ। होलीको दिन कसैलाई सराप दिनुपर्ने परम्पराको सिकार समाजका उत्पीडित वर्ग हुन पुग्छन्, कथाले यही देखाउन खोजेको छ।
शीर्षक कथा हुलाकीमार्फत महेश पौड्यालले विसं ‘३० को दशकपछि नेपालमा देखिएको परविर्तनको खबर दिन खोजेका छन्। उनको कथा एउटा हुलाकीको जीवन र भोगाइका अनुभवको डोरी हो। हुलाकीले कहिले समाचार लुकाएर त कहिले खुलाएर आफूलाई मानवीय सम्बन्ध तथा संवेदनामा बाँधिराख्छ। सम्बन्ध टुट्न र फुट्नबाट जोगाउँछ। तर, समय परविर्तनको बहाव, बढ्दो विज्ञान र प्रविधिबाट प्रेरति आमसञ्चारले उल्लेखनीय फड्को मारेपछि, हुलाकी पेसाले बिट मार्दै जान्छ, मानवीय सम्बन्ध सेलाउँदै जान्छन् अनि टुक्रन र फुट्न थाल्छन्। र, समाज, विज्ञान र प्रविधिले ल्याएका विसंगति एवं कुरीति भोग्न थाल्छ। अन्तत: हुलाकी आफ्नो कार्यक्षेत्रबाट फर्किन बाध्य हुन्छ। कथामा ऐतिहासिक तथ्य समेटिएका छन् । पात्रहरू वास्तविक देखिन्छन्।
केही कथामा मिथकको प्रयोग भएको छ। मिथकका केही महत्त्वपूर्ण भागलाई वास्तविक जीवनसँग जोडेर कथाको आकार दिने प्रयास गरिएको छ। अनिता ढुंगेलको कथा ‘सरस्वती रेभ्भिस्ड’ले सरस्वती पात्रको शारीरकि बलात्कारद्वारा प्रतीकात्मक रूपमा ज्ञान र प्रतिभाको विनाशलाई झल्काउन खोजेको छ। आफ्नै शिष्यद्वारा समाजशास्त्रकी शिक्षिका सरस्वतीको शारीरकि बलात्कारले ज्ञान र विद्याप्रति घट्दै गएको सम्मानलाई आलंकारकि रूपमा देखाएको छ। त्यसै गरी ईदा उपाध्यायको कथा ‘द सर्च’मा भाइ पात्रको बौद्धमार्गप्रतिको आकर्षण त्यसको कथावस्तु हो। मिथकलाई केही हदसम्म पुन:परिभाषित गर्न खोजिए पनि कथामा औपन्यासिक तार्किकता भने कम झल्किन्छ। मिथकको वास्तविक जीवनसँगको जोडाइ पाठकलाई ‘मेकानिकल’ लाग्छ। मिथकको घटनाक्रमप्रति पहिले नै परिचित पाठकलाई कथाले नयाँ दृष्टिकोण दिन सकेका छैनन्।
श्वेता ज्ञानु बानियाँको ‘डोल्मा’ गोर्खा लाहुरेप्रति डोल्माको एकहोरो माया-प्रेम र गोर्खाले उनको प्रेमलाई नबुझ्दा छाउने नैराश्यमा केन्द्रित छ। डोल्मा लाहुरेको माया र प्रेममा भावुक हुने र मनमा सपनाको महल बनाउने धेरै नेपालीको प्रतिनीधि पात्र हुन्। उनको कुण्ठित भावना सम्प्रेषणमा कथाकारलाई भाषाले त्यति साथ दिएको छैन। मनोवादको प्रयोगले भने कथामा केही सुन्दरता थपेको छ।
यस पुस्तकमा समेटिएका केही कथाले समसामयिक सामाजिक परिवेशलाई केन्द्रमा राख्छन्। जस्तो : ‘दोज लिटल थिङ्ज’ले परम्परागत विवाह, बालश्रम, बालविधवाजस्ता सामाजिक समस्यालाई एकसाथ उठाएको छ।
पुस्तकका कथाहरू अंग्रेजी भाषामा लेखिए पनि नेपाली ठेट शब्दको प्रयोगले नेपालीपनको झल्को प्रशस्त दिन्छन्। बोलीचालीका भाषा प्रयोग गरिएका छन्। कथाका संरचना लोभ्याउने र तान्ने खालका छैनन्, कथानकहरू अधुरा छाडिएका छन्। कथानकमा प्रयोग गर्न खोजिएजस्तो देखिए पनि ती प्रभावकारी लाग्दैनन्। लेखकले कथामा साहित्यिक कल्पनाशीलताको सन्तुष्टि पाठकलाई दिन सकेका छैनन्। रच्न खोजेको कल्पनाको सुन्दर साहित्यिक संसार र कथाले बोध गराउने संसारबीच ठूलो अन्तर पुस्तकमा छ। प्राय: कथाकारले आफ्नो शिल्पमा मिहिनेत गरेर निखार ल्याउनुपर्ने प्रस्टै अनुभूति हुन्छ। सारमा भन्ने हो भने सन्देश पुर्याउने कार्यमा असफल छ, हुलाकी ।
हुलाकी
सम्पादक : ईदा उपाध्याय
प्रकाशक : इन्स्टिच्युट अफ एडभान्स कम्युनिकेसन, एजुकेसन एन्ड रिसर्च -आएसर)
पृष्ठ : ७७
मूल्य : २०० रुपियाँ
नेपाल साप्ताहिक
अंक: ५७८
२०७० पुस २८
Jan 12, 2014
